पर्यटन प्रवर्द्धन योजना

पर्यटन प्रवर्द्धनको योजनाअनुसार पर्यटकीय स्थलहरुको पहिचान र पूर्वाधार निर्माणका काम भइरहेका छन् । जसअनुसार नै पश्चिम सुर्खेतमा बहुउपयोगी ताल निर्माण गरिने भएको छ । प्रदेश सरकारले चौकुनेमा पर्यटन प्रवद्र्धनका लागि बृहत् ताल निर्माण योजना अघि बढाएको हो । चौकुनेको वडा नं. ६ र ७ को सिमानामा ताल निर्माण गरिनेछ । गतवर्षबाट ठेक्का सम्झौता गरेर ताल निर्माणको काम अघि बढाउने भनिए पनि सुरु हुन सकेको थिएन । उक्त वर्ष ठेक्का सम्झौता गरेर चार हेक्टर क्षेत्रफलमा बृहत् ताल निर्माण सुरु गर्ने प्रक्रिया अघि बढेको थियो । तर विवाद उत्पन्न भएपछि काम रोकिएको थियो । अहिले विवाद समाधान भएसँगै काम अघि बढाउन लागिएको हो ।

ताल निर्माणको ठेक्का सम्झौता गत वर्ष नै भएकाले अब बाँध निर्माणको काम धमाधम रूपमा अघि बढाइने खानेपानी, सिँचाइ तथा ऊर्जा विकास निर्देशनालयले जनाएको छ । गत वर्ष नै ताल संरक्षण, बाँध तथा नहर निर्माणका लागि ठेक्का सम्झौता गरी काम अघि बढाइएको हो । १६ करोड ६७ लाखमा खानेपानी, सिँचाइ तथा ऊर्जा विकास निर्देशनालय सुर्खेत र एप्लाइट इन्जिनियरिङ प्रा.लि. ललितपुरबीच ठेक्का सम्झौता गरिएको छ । २०८१ जेठ १६ गते ठेक्का सम्झौता गरिएको हो । सम्झौताअनुसार २०८३ असार मसान्तसम्म बाँध तथा नहर निर्माणको काम सम्पन्न गर्नुपर्नेछ । तर विवादका कारण सम्झौता भएलगत्तै काम सुरु हुन सकेको थिएन । ताल निर्माण गरी पर्यटकीय क्रियाकलाप सुरु गर्ने लक्ष्य राखिएको निर्देशनालयले जनाएको छ । जुम्ल्याहा मूल ताललाई पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास गर्ने सोचसहित काम अघि बढाइएको हो । बहुवर्षीय ठेक्का सम्झौता गरेर काम अघि बढाइएको थियो । विवाद सुल्झिएसँगै यो वर्षबाट चार हेक्टर क्षेत्रमा ताल निर्माण गरिने छ । त्यसमध्ये ३५ रोपनी जग्गा स्थानीयको छ । यसअघि स्थानीयले उचित मुआब्जा पाउनुपर्ने भन्दै काममा अवरोध गरेका थिए । अहिले ३५ रोपनी जग्गाको लागि सहमतिभएसँगै काम अघि बढाउने बाटो खुलेको छ ।

आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि ताल निर्माण गर्न लागिएको छ । तालको वरिपरि फुटपाथ, उद्यान, विभिन्न पर्यटकीय संरचना र प्राकृतिक सौन्दर्यता बढाउने काम गरिने छ । ताल निर्माणपछि पालिकाको आम्दानी स्रोत बन्ने अपेक्षा गरिएको छ । चौकुने गाउँपालिकाले पर्यटन विकासका लागि विभिन्न स्थलको पहिचान गर्ने काम गरिरहेको छ । पर्यटन विकासमार्फत् आम्दानीका स्रोत व्यवस्थापन गर्ने गाउँपालिकाको उद्देश्य छ । बहुउपयोगी तालमार्फत आर्थिक स्रोत वृद्धि र पर्यटन प्रवद्र्धनको लक्ष्य राखिएको छ ।

प्रकाशित मितिः   ११ मंसिर २०८२, बिहीबार ११:०२