दशौँ राष्ट्रिय खेलकुदको वातावरण बन्दै

सुर्खेत: पूर्वनिर्धारित मितिमै गरिएको भए दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता एक वर्षअघि नै सम्पन्न भइसक्ने थियो । २०८१ को मंसिर २ देखि ९ गतेसम्म कर्णालीमा आयोजना गर्ने निर्णय भएपनि एक वर्ष बितिसक्दासम्म प्रतियोगिता आयोजना हुन समेत सकेको छैन । पटक–पटक सर्दै आएको प्रतियोगिता आयोजनाका लागि पछिल्लो समय भए वातावरण तयार हुँदै गएको छ ।

युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको सक्रियतामा पछिल्लो पटक राष्ट्रिय खेलकुद परिषद्ले आगामी फागुन पहिलो साता दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने निर्णय गरिसकेको छ । चौथो पटक तोकिएको मितिअनुसार आगामी फागुन १ देखि ७ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ । संघीय सरकारले प्रतियोगिता आयोजनाका लागि चासो दिएपछि कर्णाली प्रदेश सरकारले पनि सक्रियता देखाउन थालेको छ । लामो समयदेखि रिक्त रहेको कर्णाली प्रदेश खेलकुद विकास परिषद्मा पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु गरिएको छ । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तोकिए पनि प्रतियोगिता आयोजना हुने प्रदेशकै खेलकुद निकाय पदाधिकारीविहीन रहेको भन्दै चौतर्फी आलोचना भइरहेको थियो । चौतर्फी दबाबपछि प्रदेश सरकारले खेलकुद परिषद्को सदस्यसचिव नियुक्तिको प्रक्रिया अघि बढाएको छ ।

विगत ११ महिनादेखि खेलकुद परिषद् पदाधिकारीविहीन छ । परिषद्का उपाध्यक्ष प्रमोद हमाल र सदस्य सचिव विश्वामित्र सञ्ज्यालको चार वर्षे कार्यकाल २०८१ पुस ६ गते सकिएको थियो । त्यसयता नयाँ पदाधिकारी नियुक्त नहुँदा परिषद् कर्मचारीको भरमा सञ्चालन हुँदै आएको छ । सरकार फेरबदल र राजनीतिक भागबण्डा नमिल्दा परिषद् पदाधिकारी नियुक्तिमा ढिलाइ भएको हो । सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले) र सामाजिक विकास मन्त्रालयको नेतृत्व गरिरहेको नेपाली कांग्रेसबीच भागबण्डाको लडाइँले लामो समयसम्म परिषद् पदाधिकारीविहीन भयो भने परिषद्का प्रशासनिक कामहरू ठप्प हुन पुगे । कतिसम्म भने अन्तिम चरणमा पुगिसकेको वीरेन्द्रनगरस्थित निर्माणाधीन प्रदेश रंगशालाको काम नै रोकियो । निर्माण व्यवसायीले भुक्तानी नपाउँदा काम रोकेको हो ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाका लागि चाहिने प्रमुख संरचनाले नै पूर्णता नपाएपछि संघीय सरकारले पनि पूर्वाधारको कमजोरी देखाउँदै पटक–पटक प्रतियोगिता सारेको थियो । अब भने सरकारले पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु गरेको छ । परिषद्को सदस्य सचिव छनोटका लागि दरखास्त आह्वान गरिएको छ ।

सामाजिक विकास मन्त्रालयले खेल क्षेत्रमा अनुभव भएका व्यक्तिबाट दरखास्त माग गरेको छ । कर्णाली प्रदेश खेलकुद विकास ऐन २०७६ को दफा १२ को उपदफा १ अनुसार सदस्यसचिव सिफारिस समिति गठन गरिएको छ । उक्त समितिले दरखास्त परेकाहरूमध्येबाट तीनजना छनोट गरेर सिफारिस गर्नेछ ।

सदस्य सचिवका लागि नेपाली नागरिक हुनुपर्नेछ भने कर्णाली प्रदेशकै स्थायी बासिन्दा हुनु अनिवार्य भनिएको छ । २५ वर्ष उमेर पूरा भएको र नेपाल सरकारबाट मान्यताप्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक तह उत्तीर्ण गरेकाले मात्रै आवेदन दिन पाउँछन् । वैदेशिक शिक्षण संस्थाबाट अध्ययन गरेको भएमा समकक्षताको प्रमाण पत्र पेस गर्नुपर्ने सूचनामा उल्लेख छ । साथै खेलकुदका क्षेत्रमा कम्तीमा पाँच वर्ष अनुभव प्राप्त भएको र प्रचलित कानुनले अयोग्य नभएका व्यक्तिलाई खुला प्रतिस्पर्धामा सहभागी हुन अनुरोध गरिएको छ ।

प्रदेश खेलकुद परिषद्ले पूर्णता पाएमा प्रदेश गौरवको रंगशालासहित अन्य खेलपूर्वाधार निर्माणले तीव्रता पाउने अपेक्षा गरिएको छ । जसले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको वातावरणसमेत निर्माण गर्नेछ । परिषद् नै पदाधिकारीविहीन हुँदा एकातिर खेलपूर्वाधार निर्माणमा अवरोध भइरहेको छ भने अर्कोतर्फ दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनामा समेत बाधा हुनेछ ।

प्रकाशित मितिः   ११ मंसिर २०८२, बिहीबार ११:०१