जनप्रतिनिधिसँग युवाका अपेक्षा, ‘रोजगारीको सुनिश्चितता’

उनी कुनै राजनीतिक दलको सदस्य होइनन् । न कुनै दलसँग निकट नै छन् । तर राज्यका हरेक निकायको नेतृत्वमा युवाहरू पुग्नुपर्छ र युवाहरूले नै देश चलाउनुपर्छ भन्ने सोच उनमा अहिले होइन पहिल्यैदेखि थियो । त्यसैले यस पटकको स्थानीय तहको निर्वाचनमा वीरेन्द्रनगर–९ का सुवर्ण कँडेलले कुनै दल रोजेनन्, युवा रोजे । पहिलो पटक स्थानीय निर्वाचनमा मतदान गरेका उनी परिणाम आइसकेपछि निकै खुशी छन् । कारण हो, वीरेन्द्रनगर नगरपालिकाको प्रमुख र उप–प्रमुख दुवै पदमा उनले भोट दिएका दुवै उम्मेदवार विजयी भए । त्यही खुशी साट्न सोमवार उनी नवनिर्वाचित प्रतिनिधिहरूको सपथ ग्रहण कार्यक्रममा समेत पुगे ।

सपथ ग्रहण समारोह आयोजना गरिएको जिल्ला समन्वय समिति सुर्खेतको प्रांगणमा भेटिएका कँडेलले आफ्नो खुशी साझा बिसौनीसँग पनि बाँडे । उनी भन्दै थिए, ‘प्रमुख पदमा मेरो दुवै भोट खेर गएन, अब मेरा अपेक्षाहरू पनि खेर जाने छैनन् भन्ने विश्वास लिएको छु ।’ उनले नगरपालिकाको प्रमुखमा देवकुमार सुवेदी र उप–प्रमुखमा मोहनमाया ढकाललाई नै किन रोजे त ? साझा बिसौनीको प्रश्न टुङ्गिन नपाउँदै उनले जवाफ दिन सुरु गरिहाले, ‘सबैभन्दा पहिला त उहाँहरू दुवै जना युवा हो । क्यापेबल पनि हुनुहुन्छ । पढाइ पनि छ, अनुभव पनि छ र त्यो भन्दा महŒवपूर्ण कुरा हामी युवाहरूको समस्या उहाँहरूले पक्कै पनि बुझ्नुहुन्छ र समाधान गर्नुहुन्छ भन्ने अपेक्षाले पनि मैले उहाँहरूलाई नै भोट हालें ।’

सुवर्णले युवा नेतृत्व रोज्नुमा उनीहरूसँग भएको योग्यता, ऊर्जा र क्षमता त छँदैछ त्यो सँगसँगै युवाहरूको समस्या समाधानको अपेक्षा पनि हो । म्यानेजमेन्टमा स्नातक उत्तीर्ण गरेका उनी आफू पनि अहिले बेरोजगार छन् । घरको कमजोर आर्थिक अवस्थाका कारण स्नातकोत्तर पढ्नका लागि उनले अहिलेसम्म क्याम्पस भर्ना समेत गरेका छैनन् । जागिरका लागि प्रयास गरे पनि अहिलेसम्म सफल भएका छैनन् । त्यसैले उनलाई लाग्छ, अहिलेका युवाहरूको प्रमुख समस्या भनेकै बेरोजगारी हो । ‘आजको समयमा नपढेका युवा कमै छन्, बरु पढेर पनि रोजगारी नपाएका भने गनेर नसकिने छन्’ उनले भने, ‘त्यसैले अब हरेक स्थानीय तहका प्रतिनिधिहरूले आफ्नो स्थानीय तहभित्रका युवाहरूलाई स्वरोजगार बनाउने योजना र कार्यक्रम ल्याउन आवश्यक छ ।’ उनी वीरेन्द्रनगरका नवनिर्वाचित पदाधिकारीहरूलाई पनि युवाहरूको समस्या समाधान गर्नेतर्फ केन्द्रित हुन सुझाव दिन्छन् । भन्छन्, ‘अब कुनै पनि युवाले रोजगारीका लागि खाडी जान पासपोर्ट बोकेर म्यानपावर कम्पनीको कार्यालय धाउनु नपरोस्, नयाँ नेतृत्वले त्यसको ग्यारेण्टी गर्न सक्नुपर्दछ । तब मात्रै हाम्रो भोट सदुपयोग हुन्छ ।’

वीरेन्द्रनगर–४ का गोपाल पौडेल पनि अबका प्रतिनिधिहरूले युवाहरूको समस्या, माग र चाहना बुझेर उनीहरूलाई रोजगारीको अवसर सिर्जना गर्नेतर्फ ध्यान दिनुपर्ने बताउँछन् । वीरेन्द्रनगर नगरपालिकाले युवा नेतृत्व पाएको भन्दै उनले अब युवाहरूको समस्या समाधान हुने अपेक्षा गरेको उनले बताए । यस्तै वीरेन्द्रनगर–१४ का दिपेन्द्र हमालले पनि साझा बिसौनीसँग कुरा गर्दै युवाहरूको विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न वीरेन्द्रनगरको नवनिर्वाचित प्रतिनिधिहरूलाई सुझाव दिए । ‘बाध्यताले विदेशिनु परेका युवाहरूका लागि आफ्नै ठाउँमा रोजगारीको व्यवस्था गरिनुर्पछ ।’ सुवर्ण, गोपाल र दिपेन्द्र जस्तै अपेक्षा वीरेन्द्रनगरका अधिकांश युवाहरूको छ । नयाँ प्रतिनिधिहरूसँग उनीहरूको माग भनेकै रोजगारीका अवसर सिर्जना गर्नु हो ।

यता नवनिर्वाचित नेतृत्वसँग पनि युवाहरूको अपेक्षासँग मिल्दा–जुल्दा योजना नै छन् । नवनिर्वाचित प्रमुख देवकुमार सुवेदीले वीरेन्द्रनगरलाई स्वच्छ, सफा र समृद्ध बनाउनुका साथै युवाहरूलाई आफ्नै ठाउँमा रोजगारीका अवसर सिर्जना गराउन आफू लागिपर्ने बताए । यस्तै उप–प्रमुख मोहनमाण ढकाल पनि विशेष गरी युवा र महिलाहरूलाई स्वरोजगार तथा आत्मनिर्भर बनाउने योजना आफ्नो प्रमुख एजेण्डाहरूभित्र
रहेको बताउँछिन् ।

प्रकाशित मितिः   १० जेष्ठ २०७४, बुधबार ११:१२