स्थानीय तहको नेतृत्वमा युवाको बाहुल्यता

करिब २० वर्षपछि भएको स्थानीय तहको निर्वाचनमा स्थानीय सरकार सञ्चालनको जिम्मेवारी युवाको काँधमा पुगेको छ । मतदाताको युवा मोहका कारण स्थानीय सरकारको नेतृत्वमा नयाँ पुस्ता हावी हुन पुगेको हो । यसअघिका जनप्रतिनिधि, उमेर ढल्केका र दलको मुख्य जिम्मेवारीमा रहेका उम्मेदवारलाई पराजित गर्दै युवाहरू नेतृत्वमा पुगेका हुन् । प्रदेश नम्बर ६ अन्तर्गतका स्थानीय तहको नेतृत्वमा यसपटक युवाको बर्चश्व देखिएको छ ।

यो प्रदेशका १० वटा जिल्लामा रहेका ७९ वटा स्थानीय तहमध्ये बहुमत स्थानमा प्रमुख पदमा युवा उम्मेदवार नै विजयी भएका छन् । अधिकांश तहमा नयाँ अनुहार नेतृत्वमा आएका छन् । राजनीतिक दलहरूले चुनाव जित्नकै लागि पार्टीका केन्द्रीय सदस्यदेखि पूर्व जनप्रतिनिधिलाई अगाडि सारेका थिए । यद्यपि मतदाताले युवा र नयाँ अनुहारलाई विजयी गराएका छन् । विषेशगरी विद्यार्थी राजनीति गर्दागर्दै उम्मेदवारी दिएका र यसअघि स्थानीय तहमा नेतृत्वको अनुभव नभएका ‘नयाँ अनुहार’ नै मतदाताको रोजाइमा परे ।

जाजरकोटको भेरी नगरपालिकामा माओवादीको पकड थियो । तर त्यहाँ एमालेका उम्मेदवार सीपी घर्ती फराकिलो मत अन्तरले विजयी भए । एमालेले स्वयम् जित्ने आंकलन नगरेको उक्त नगरपालिकाका मतदाताले ३५ वर्षीय युवा घर्तीलाई विजयी गराए । पार्टीको पकड हुँदाहुँदै पनि माओवादीले हार व्यहोर्नु प¥यो । एमालेले आफ्नो गढ मान्दै आएको वीरेन्द्रनगरमा कांग्रेसका युवा उम्मेदवार देवकुमार सुवेदी विजयी भए । चालीस ननाघेका सुवेदीले पूर्व मेयरसमेत रहेका एमाले उम्मेदवार बालाराम शर्मालाई पराजित गरे । कारण शर्माको उम्मेर ढल्केको र सुवेदी युवा भएको भन्दै मतदाताले आफ्नो मत जाहेर गरे । मतदाताले दल वा चुनाव चिन्ह हेरेको भए वीरेन्द्रनगरको मेयरमा कांग्रेसले जित्दा उप–मेयरमा पनि कांग्रेसले नै जित्नु पर्दथ्यो । तर युवा भएकै कारण सर्वाधिक मत ल्याएर उप–मेयरमा एमालेका मोहनमाया ढकाल विजयी भइन् । यहाँका मतदाताले युवा उम्मेदवारलाई नै नगरको सत्ता सञ्चालन गर्ने जिम्मेवारी सुम्पे ।

एमालेको पकड मानिएको दैलेखको दुल्लू नगरपालिकामा पनि ३५ वर्ष टेक्दै गरेका कांग्रेसका घनश्याम भण्डारी मेयरमा विजयी भए । त्यहाँका मतदाताले पनि युवालाई नगरको नेतृत्व सञ्चालन गर्ने जिम्मेवारी दिए । पत्रकारिताबाट राजनीतिमा छिरेका भण्डारीले युवा अवस्थामै स्थानीय सरकार सञ्चालनको जिम्मेवारी पाएका छन् । रुकुमका स्थानीय तहमा मतदाताले नयाँ अनुहारलाई स्थानीय तहको नेतृत्व सुम्पेका छन् । जिल्लाका सबै तहमा माओवादीका उम्मेदवारहरू विजयी भएका छन् । युवा र नयाँ अनुहार भएकाले पनि मतदाताको रोजाइमा उनीहरू परेको विश्लेषण गर्न थालिएको छ । प्रदेशका अन्य जिल्लामा कांग्रेस र एमालेबाट विजयी भएकाहरू पनि अधिकांश नयाँ अनुहार छन् । चुनावी मत परिणामपछि यहाँका दलहरू पनि युवा उम्मेदवार भएको स्थानमा विजय हासिल गर्न सहज भएको निश्कर्षमा पुगेका छन् ।

कर्णालीका जिल्लाहरूमा पनि अधिकांश ३५ वर्षमुनीका युवाहरू नै स्थानीय तहको नेतृत्वमा पुगेका छन् । मतदाताले युवा रोजेका कारण अधिकांश नगर र गाउँपालिकाको प्रमुख र उप–प्रमुखमा फरक–फरक पार्टीका उम्मेदवार विजयी भएका छन् । मतदाताले युवा रोजेका कारण यसपाली स्थानीय तहको नेतृत्व सम्हाल्ने अवसर युवाले प्राप्त गरेका छन् । नगर र गाउँपालिकाको नेतृत्वमा मात्र होइन, वडाको नेतृत्वमा समेत नयाँ पुस्ता हावी भएको छ । सुर्खेतको चौकुने गाउँपालिकाको प्रमुखमा विजयी युवा धीरबहादुर शाही भन्छन्, ‘दलको नेतृत्वले युवालाई पत्याउँदैन, तर जनताको भरोसा नयाँ पुस्तामा नै छ । यसपालीको चुनावले पनि त्यो पुष्टी भयो, मतदाताले नेतृत्व गर्ने जिम्मेवारी हामी युवालाई नै दिए ।’ युवाले पनि काम गर्न सक्छन् भन्ने विश्वास र भरोसा जनतामा रहेको भन्दै उनले आफूहरूले जनअपेक्षा अनुसार नै काम गर्ने बताए ।

‘समग्र प्रदेशमा नै युवाको प्रतिनिधित्व उत्साहजनक छ, स्थानीय सरकारको नेतृत्वमा युवाको बाहुल्यता भयो’ जिल्ला युवा समिति सुर्खेतका अध्यक्ष टेकेन्द्रकुमार बस्नेत भन्छन्, ‘युवाले केही गर्लान् भन्ने अपेक्षा मतदातामा देखियो, चुनावमा पनि युवालाई नै रोजेका छन् । वडादेखि प्रमुख पदमा युवाको उपस्थिति उत्साहपूर्ण छ, अब युवा नेतृत्वलेले काम गरेर देखाउनु पर्दछ ।’ टिकट दिने बेलामा आनाकानी गरेको भए पनि मत परिणाम युवाकै पक्षमा आएपछि दलहरू पनि झस्किएका छन् । यसपालीको नतिजाले युवाहरूलाई उत्साहित बनाएको भन्दै बस्नेतले अब दलहरू पनि युवा प्रतिनिधित्वको पक्षमा निर्णय गर्न बाध्य हुने उल्लेख गरे । युवा उम्मेदवारकै कारण कतिपय दलले आफ्नो साख जोगाएका छन् । अर्कोतर्फ यसअघि एउटा दलको पकड रहेको स्थानमा यसपाली अर्को दलका युवा उम्मेदवारले उक्त पकड भत्काइ दिएको अवस्था छ । पढ्दै गरेका र राजनीतिमा भर्खर प्रवेश गरेका युवालाई पनि यो निर्वाचनले स्थानीय सरकारको बागडोर सञ्चालन गर्ने जिम्मेवारी सुम्पिदिएको छ ।

प्रकाशित मितिः   १० जेष्ठ २०७४, बुधबार ११:३३