न्यायमा पहूँच बढाउन परियोजना

सुर्खेत: बालबालिकाका लागि न्यायमा पहूँच विस्तार गर्न परियोजना सञ्चालन गरिएको छ । बालविवाह न्यूनीकरण, बाल यौन दुव्र्यवहार र बाल श्रम रोकथामका लागि कर्णालीमा कार्यक्षेत्र हुनेगरी परियोजना सञ्चालन गर्न लागिएको हो ।

‘बालबालिकाका लागि न्यायमा पहुँच’ नाम दिएर परियोजनाले काम सञ्चालन गर्न लागेको परियोजनाका जीवराज लम्सालले बताए । कर्णालीमा बढ्दो बालविवाह, बालश्रमलगायतका क्षेत्रमा रणनीतिक योजना निर्माणमा सहयोग गर्नेगरी काम गरिने उनले जानकारी दिए ।

कर्णालीका ६ वटा पालिकामा परियोजनाले कार्यक्षेत्र बनाएर काम गर्न लागेको छ । सुर्खेतका पाँचवटा पालिका र दैलेखको एउटा पालिका गरी ६ वटा पालिकामा परियोजनाले काम गर्ने भएको हो । सुर्खेतका पञ्चपुरी, भेरीगंगा, गुर्भाकोट र लेकवेशी नगरपालिका तथा बराहताल गाउँपालिकामा परियोजना कार्यान्वयन हुनेछ ।

त्यसैगरी दैलेखको गुराँस गाउँपालिका पनि परियोजनाका लागि छनोट गरिएको छ । सम्झौता गरेर पालिकासँग नीति निर्माण गर्ने र निर्माण गरिएका नीति कार्यान्वयनमा परियोजनाले पालिकासँग मिलेर काम गर्ने जनाइएको छ ।

प्रकाशित मितिः   ८ मंसिर २०८२, सोमबार ०५:०७