महिला उद्यमीलाई चौतर्फी चुनौती

सुर्खेत: अमृता खड्काले मालिका अल्लो प्रशोधन तथा धागो बुनाइ उद्योग थालेको १८ वर्ष बित्यो । उनले दैलेख जिल्लाको नौमुलेमा २०६४ सालमा कम्मरे तानबाट बुनाई यात्रा सुरु गरेकी थिइन् । ऊनीको धागोबाट पटुका र सलहरू बुनेर व्यवसाय सुरु गरेकी खड्का २०७४ मा अल्लो व्यवसायमा आवद्ध भएर व्यवसाय विस्तार गरिन् । थोरै लगानीमा खुलेको उद्योग सञ्चालनमा झण्डै डेढ दशकको समयमसम्म निकै संघर्ष गर्नु परेको उनको अनुभव छ ।
कच्चा पर्दाथको उद्योग सञ्चालन गर्दा कानुनी जटिलता खेप्नुपर्छ । त्यसमाथि स्थानीय उद्यमीहरूबाट उत्पादित वस्तुलाई प्राथमिकता नदिनु अर्को ठूलो चुनौती रहेको छ । ठूलो मात्रामा वस्तुहरू उत्पादन गरेको भएपनि उत्पादन अनुरूप बजारीकरण हुन नसकेको खड्काले बताइन् । आधुनिक प्रविधिबाट उत्पादन वस्तुसँग प्रतिस्पर्धा गर्न निकै चुनौती हुनेगरेको उनको भनाइ छ ।
यस्तै वीरेन्द्रनगर नगरपालिका वडा नं. ११ की मिना सुनारले भाडामा लिएर चलाएको पसल धान्न धाैँ–धाैँ हुने गरेको सुनाइन् । पसल सञ्चालनमा ल्याएपछि उनलाई सामग्रीको जोहोले पिरोल्नुसम्म पिरोल्थ्यो । ‘निकै संघर्ष गरेर पसल सञ्चालनमा ल्याएँ । तर, बजारीकरण गर्न मुश्किल भयो’ उनले सुनाइन् । जसोतसो सामान जोहो गरेपनि व्यवसाय दर्ता गर्न सहज नभएको अनुभव सुनारको छ । सिमान्तकृत महिलाहरूलाई व्यवसाय अघि बढाउन निकै चुनौती हुनेगरेको उनले जनाइन् ।
अमृता र मिना प्रतिनिधि पात्र मात्र हुन् । कर्णालीका महिला उद्यमीलाई व्यवसाय सञ्चालन गर्न चुनौतीका चाङ छन् । आइतवार सीमान्तकृत महिलाहरूका लागि महिला संस्था (वाम) ले आयोजना गरेको महिला उद्यमीका लागि स्थानीय तथा प्रदेश सरकारको लगानीसम्बन्धी कार्यशालामा महिला उद्यमीहरूले संघर्ष, सकस र सफलताका कथा सुनाएका थिए ।
वीरेन्द्रनगरकी इकमाया मल्लको पनि उद्यमको यात्रामा चुनौतीको चाङ थियो । तर, आजकाल उनी एक सफल महिला उद्यमीको रूपमा दरिएकी छिन् । उनले लद्यु औद्योगिक ग्राम सञ्चालन गर्दै आएकी छन् । सुरुवातमा उद्योग सञ्चालन गर्न ऋण माग्दै धेरैतिर भौतारिनु परेको सम्झदा मल्लको मन अमिलो हुन्छ । सरकारले महिला उद्यमीलाई विनाधितो ऋण दिने प्रावधान ल्याएपनि ऋण पाउन निकै दुख भोग्नुपरेको अनुभव उनको छ । भन्छिन्, ‘सरकारले विनाधितो महिला उद्यमका लागि ऋण दिने भनेपनि धितो नराखी ऋण नै पाइँदैन । त्यतातिर राज्यपक्षको ध्यान जान आवश्यक देखिन्छ ।’ उनले अगाडि थपिन्, ‘ऋण लिनलाई वित्तीय संस्थाले जग्गा धितो राख्नु भन्छ । जग्गा नै नभए कसरी धितो राख्नु ?’
सहभागी महिलाहरूले व्यवसाय दर्ता गर्न औजार तथा कच्चा पर्दाथ सहयोग गर्नुपर्ने र आवश्यक तालिमको व्यवस्था गर्नुपर्ने बताएका थिए । प्रदेश सरकारले ल्याएको कार्यक्रमबारे टोलस्तरसम्म पु¥याउनु पर्ने र पालिकासँग समन्वय गरेर कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए । उद्यमीहरूलाई वडामा नै कर तिर्ने व्यवस्था गनुपर्ने तथा उद्यमीलाई सस्तो दरमा ऋण उपलब्ध गराउनुपर्ने उनीहरूको माग छ । महिला उद्यमीहरूले ऋण पाउन मुश्किल हुने गरेको समेत सुनाएका छन् ।
यसैबीच कार्यशालामा सहभागी कर्णालीका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले प्रदेश सरकारले महिला उद्यमीहरूलाई ब्याज अनुदानका कार्यक्रम राखेको बताए । व्यवसाय सञ्चालन गर्नु पहिला दर्ता अनिवार्य गर्नुपर्ने भन्दै मन्त्री अधिकारीले व्यवसाय दर्ता भएमा सबै खाले अवसर पाउने जानकारी दिएका छन् ।
वीरेन्द्रनगर नगरपालिका आर्थिक विकास शाखाका शाखा अधिकृत दिपेन सुवेदीले आवश्यक कागजात र प्रक्रिया पूरा भएपछि महिला उद्यमीले सहजै विनाधितो ऋण पाउने गरेको बताए । उनले कानुनी व्यवस्थाबारे जानकारी गराएका थिए । ‘सरकारले व्यवस्था गरेको महिला उद्यमीलाई विनाधितो ऋण आवश्यक प्रक्रिया पूरा भएपछि सजिलै पाइन्छ’ उनले भने । महिलालाई हरेक क्षेत्रमा चुनौती रहेको बताउँदै त्यसमा अवसरमा पनि खोज्न आग्रह गरे ।
आयोजक संस्था वामका अध्यक्ष देवि पौडेलले २७ वर्षदेखि महिलाका क्षेत्रमा काम गर्दै आएको बताइन् । महिलालाई उद्यममा जोडेर मात्र अघि बढाउन सकिने भएकाले आर्थिक उपार्जनका क्षेत्रमा काम गरिरहेको उनको भनाइ छ । आर्थिक अवस्था कमजोर हुँदा महिलाहरू विभिन्न हिंसामा पर्ने गरेको उनले जनाइन् ।
प्रकाशित मितिः ८ मंसिर २०८२, सोमबार ०५:१०
साझा बिसौनी ।