अवसरबाट वञ्चित अपाङ्गता भएका नागरिक

 

सुर्खेत: अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सुनिश्चित गर्न पैरवी आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन् । आइतवार वीरेन्द्रनगरमा आयोजना गरिएको छलफलका सहभागीहरूले यस्तो बताएका हुन् ।

उनीहरूले अवसरहरूबाट वञ्चितीकरणमा पर्नुपरिरहेको सुनाएका छन् । सुनुवाइ सम्बन्धी अपाङ्गता भएकी नम्रता भारतीले सरकारी कार्यलयहरूमा दोभासेको व्यवस्था नहुँदा निकै समस्या झेल्नुपरेको सुनाइन् । शारीरिक अपाङ्गता भएकी चन्द्रा गुरुङले महिला अपाङ्गता भएकाहरूलाई अवसरबाट वञ्चित गराउने गरिएको बताइन् । उनले राज्यले दिनुपर्ने अतिरित्त सुविधासमेत नपाएको गुनासो गरिन् ।

अपाङ्ग मानव अधिकार एवम् विकास केन्द्र कर्णाली प्रदेशका सचिव झक्क पोखरेलले अपाङ्गता भएका व्यक्तिलाई अधिकार स्थापित गर्न लागिपरेको सुनाए । महिला अपाङ्गता भएकाहरूले ठूलो हिंसा सहेर बस्नुपरिरहेको भन्दै उनले सचेतना नहुँदा राज्यकै सेवाबाट वञ्चित हुने गरेको जनाए । अपाङ्ग विकास केन्द्रले स्थानीय तहहरूसँग मिलेर विभिन्न कार्यक्रम गरिरहेको जनाएका छन् ।

कार्यक्रमका सहभागीहरूले अपाङ्गता भएका व्यक्तिका लागि राज्यले निर्माण गरेका कानुन तथा कार्यक्रमको प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए । नेतृत्वदायी भूमिकामा अपाङ्गता भएका व्यक्तिलाई समावेश गर्नुपर्ने, सवारी साधनमा अनिवार्य छुट हुनुपर्ने, अपाङ्गमैत्री पूर्वाधार निर्माण गर्नुपर्ने, सरकारले निर्माण गरेका कानुनको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने उनीहरूको भनाइ थियो ।

प्रकाशित मितिः   ८ मंसिर २०८२, सोमबार ०५:०६