विपन्नलाई बाख्रा वितरण

सुर्खेत: पश्चिम सुर्खेतको बराहताल गाउँपालिका–५ स्थित दलित समुदायका विपन्न परिवारलाई बाख्रा वितरण गरिएको छ । आयआर्जनमा सहयोग पुर्‍याउने उद्देश्यले ४५ वटा बाख्रा र एउटा खरी जातको बोका वितरण गरिएको हो ।

जैविक विविधता अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (ली–बर्ड) द्वारा सञ्चालित ग्रिन कर्णाली परियोजना अन्तर्गत गरिएको बाख्रा उपहार कार्यक्रममा प्रत्येक घरधुरीलाई करिब २० हजार बराबरका दुईवटा गरी बाख्रा वितरण गरिएको कार्यक्रम अधिकृत प्रतिभा गैरेले जानकारी दिइन् । बराहताल गाउँपालिका अध्यक्ष भीमबहादुर भण्डारी र उपाध्यक्ष लक्ष्मी पुनद्वारा बाख्रा वितरण गरिएको थियो ।

कार्यक्रम अधिकृत गैरेका अनुसार दलित तथा विपन्न परिवारको आयआर्जन क्षमतामा वृद्धि गर्ने उद्देश्यले बाख्रा वितरणसँगै बाख्रा पालन, रोग–किरा व्यवस्थापन तथा खोर सुधारसम्बन्धी तालिम पनि प्रदान गरिएको छ । उक्त तालिम बराहताल गाउँपालिकाको पशु सेवा शाखाको समन्वयमा सम्पन्न गरिएको हो ।

गैरेका अनुसार लक्षित समुदायको बाख्रा जोखिम कम गर्न परियोजनाले बाख्रा बीमा कार्यक्रम पनि सञ्चालन गरेको छ । साथै, गाउँपालिकाको पशु सेवा शाखाको समन्वयमा पशु स्वास्थ्य शिविर सञ्चालन गर्ने तयारी समेत परियोजनाले गरिरहेको गैरेले जनाइन् । ग्रिन कर्णाली परियोजनाले दलित तथा विपन्न समुदायलाई समर्पित बाख्रा उपहार कार्यक्रममार्फत पशुपालन विस्तार र आयआर्जनमा योगदान पु¥याउँदै आएको छ ।

प्रकाशित मितिः   ८ मंसिर २०८२, सोमबार ०५:०४