दृष्टिविहिन युवा रोजगारीको खोजीमा

साझा बिसौनी संवाददाता
जुम्ला, ७ माघ । 
यहाँका दर्जन बढी दृष्टिविहिन युवा यतिबेला रोजगारीको खोजीमा भौंतारिरहेका छन् । आफूले प्राप्त गरेको योग्यता तथा सीपलाई राज्यले प्रयोगमा ल्याउने अवसर नदिँदा आफूहरू रुमलिनु परेको उनीहरू बताउँछन् । ‘हामीसँग पढाउने, कार्यालयमा आर्थिक तथा प्रशासनिक काम गर्ने दक्षता छ, तर पनि कर्णालीका कुनैपनि सरकारी तथा गैरसरकारी निकायले दृष्टिविहिनलाई अवसर दिएका छैनन्’ कर्णाली नेत्रहिन सङ्घ मुख्य कार्यालय जुम्लाका अध्यक्ष धनप्रसाद न्यौपानेले बताए ।
अध्यक्ष न्यौपानेका अनुसार जुम्लामा स्नातकोत्तरमा अध्ययनरत तीन, स्नातकमा चार र प्रवीणता–पत्र तहमा सात जना दृष्टिविहिन अध्ययनरत छन् । सबै क्षेत्रमा काम गर्ने हैसियत हुँदा पनि अपहेलित भएर बस्न बाध्य पारिएको भन्दै उनले रोष प्रकट गरे । साक्षरका साथै निरक्षर दृष्टिविहिनसँग सिलाइकटाइ, बुनाइ, विभिन्न व्यापार, व्यवसाय गर्न सक्ने आर्यआर्जनको सीप छ, तर त्यही सीप प्रयोग गर्ने स्थान नहुँदा आफूहरू पीडामा खेप्नुपरेको सङ्घका सदस्य परशुराम आचार्यले बताए । उनले लक्षित वर्गमा दर्ज गरे पनि त्यहीअनुसार राज्यका स्थानीय निकायले अवसर दिन कञ्जुस्याईँ गरेको आरोप लगाए ।
त्यस्तै सिंजा नराकोट गाविसमा सञ्चालित दृष्टिविहिन विद्यालयलाई सरकारले सही व्यवस्थापन गर्न नसक्दा त्यहाँ अध्ययनरत विद्यार्थीको अवस्था दयनीय रहेको अध्यक्ष न्यौपानेको भनाइ छ । 
प्रकाशित मितिः   ८ माघ २०७२, शुक्रबार १०:१८