सामूहिक बलात्कारपछि युवतीको हत्या

साझा बिसौनी संवाददाता
रूकुम, ७ माघ ।
जिल्लाका खोलागाउँकी एक युवतीको सामूहिक बलात्कारपछि हत्या भएको छ । घर नजिकैको जङ्गलमा दाउरा लिन गएकी खोलागाउँ–५ सर्केनाकी १६ वर्षकी युवतीको हत्या भएको प्रहरीले जनाएको छ ।
मङ्गलवार अपरान्ह दाउरा लिन जङ्गल गएकी युवती राती अबेरसम्म नफर्किएपछि परिवार र छिमेकीले खोजी गर्दै जाँदा जङ्गलमा एउटा रुखमा बाँधेर हत्या गरिएको अवस्थामा फेला पारेका थिए । युवतीको शव परीक्षणका लागि बुधवार जिल्ला अस्पताल जाजरकोट ल्याइएको हो । युवतीको बलात्कारपछि हत्या भएको अस्पतालका डाक्टर दीपक पुनले बताए । ‘शवको प्रकृति हेर्दा हातखुट्टा बाँधेर सामूहिक बलात्कार पछि हत्या गरेको हुन सक्छ’ उनले भने । युवतीलाई केही दिनअघिदेखि नचिनेको नम्बरबाट फोन गरेर केटाहरूले धम्की दिने गरेको स्थानीय बासिन्दा निर्मल शाहले बताए । शाहले फोनमा धम्की दिनेले नै युवतीको हत्या गरेको हुनसक्ने बताए ।
प्रकाशित मितिः   ८ माघ २०७२, शुक्रबार १०:१९