प्रहरीको गोली लागेर तीन जनाको मृत्यु

साझा बिसौनी संवाददाता
विराटनगर, ७ माघ । 
मोरङको रङ्गेली र डाइनियामा प्रहरीको गोली लागेर तीन जनाको मृत्यु भएकोे छ । बिहीवार मोरङको रङ्गेलीमा नेकपा एमाले निकट युवा सङ्घ नेपालले आयोजना गरेको तराई–संवाद र जनजागरण कार्यक्रमको विरोधमा प्रदर्शनमा उत्रिएका आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच तनाव बढेपछि प्रहरीले गोली चलाएको थियो ।
प्रहरीको गोली लागेर रङ्गेलीका ६२ वर्षीय धु्रवदी चौधरी, बरडङ्गा–२ का ४५ वर्षीय महादेव ऋुषिदेव र डाइनियाँ–९ का २५ वर्षीय शिवु माझीको मृत्यु भएको प्रहरीले जनाएको छ । चौधरी र महादेवको रंगेलीमा तथा माझीको डाइनियाँमा प्रहरीको गोली लागेर मृत्यु भएको हो । चोपडा घर भएकी चौधरी रंगेली बजारमा पाहुना आएकी थिइन् । काली मन्दिर नजिक प्रहरीले चलाएको गोली लागेर उनको घटनास्थलमै मृत्यु भएको हो । यस्तै घटनामा घाइते भएका महादेव ऋषिदेवको उपचारको क्रममा रङ्गेली अस्पतालमा मृत्यु भएको छ ।
मोर्चाका कार्यकर्ता एमालेको कार्यक्रम विथोल्न मञ्चतर्फ आउन खोजेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन लाठी र अश्रुग्यास प्रहार गरेको थियो । स्थिति तनावग्रस्त हुन थालेपछि प्रहरीले स्थिति आफ्नो नियन्त्रणमा लिन गोली चलाउन बाध्य भएको प्रहरीले बताएको छ ।
प्रकाशित मितिः   ८ माघ २०७२, शुक्रबार १०:२०