मुगुमा हवाई उडान बन्द

साझा बिसौनी संवाददाता
मुगु, ७ माघ । 
गएको मगंलवार साझँबाट मुगुलगायत कर्णालीका विभिन्न जिल्लाहरूमा हिमपात भएपछि कर्णाली राजमार्ग अन्तर्गतको नाग्मा गमगढी सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि मुगु आउने मालवाहक तथा यात्रुवाहक यातायातका साधन केही बीच बाटोमै अलपत्र छन् भने केही सुर्खेत फर्किएका छन् । सडक अवरुद्ध भएपछि स्थानीय व्यापारीहरूलाई समस्या भएको छ ।
जुम्ला सदरमुका र गमगढी प्रवेशद्वार नाग्मासम्म पुगेका केही यातायातका साधन मुगु जान नसक्ने भएपछि सुर्खेत फर्किएको स्थानीय व्यापारी काशीलाल कठायतले बताए । नाग्मा र गमगढीको बीचमा पर्ने घुच्ची लेकमा ४ फिट भन्दा बढी हिउँ जमेको छ । यसैबीच, हिमपातका कारण मुगुमा हवाइ उडान समेत हुन सकेको छैन । विमानस्थलमा हिउँ जमेका कारण केही दिनपछि मात्र हवाई उडान सुरु गर्न सकिने रारा नागरिक उड्यन् कार्यालय मुगुले जनाएको छ ।
प्रकाशित मितिः   ८ माघ २०७२, शुक्रबार १०:२७