एमालेसँग हार्ने डरले स्थानीय तह थपियोः ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले प्रतिपक्षी दललाई पराजित गर्न स्थानीय तहको संख्या थपेको भन्दै आपत्ति जनाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलबीचको बैठकमा अध्यक्ष ओलीले आफूहरुको सहमतिबिनै संख्या बढाइएको भन्दै असहमति जनाएका हुन्।

ओलीले स्थानीय तह संविधानको कुन धारा प्रयोग गरेर बढाएको भनेर प्रश्न समेत गरेका थिए।

बैठकमा प्रधानमन्त्री प्रचण्डले भने मधेसी दललाई समेत सहभागी गराएर जेठ ३१ को चुनाव सम्पन्न गराउने सहमतिका लागि स्थानीय तह थपेको बताएका थिए।

एमालेले करका दायराहरु बृद्धि नहुने गरी बजेट ल्याए आफूहरुको विरोध नरहने धारणा राखेको बताइएको छ।

बैठकमा प्रधानमन्त्री प्रचण्डका साथै एमाले अध्यक्ष केपी शर्मा ओली नेताहरु माधव नेपाल सुरेन्द्र पाण्डे, विष्णु पौडेल सहभागी थिए। कांग्रेसबाट सभापति शेरबहादुर देउवा, नेताहरु सशांक कोइराला, रामचन्द्र पौडेललगायतको सहभागिता रहेको थियो। यस्तै नेपाल लोकतान्त्रिक पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री विजयकुमार गच्छदार पनि बैठकमा सहभागी थिए।

प्रकाशित मितिः   ९ जेष्ठ २०७४, मंगलवार १४:०८