‘जित्नुभयो, अब आफ्ना प्रतिबद्धता पूरा गर्नुस्’

यही वैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनबाट नागरिकले २० वर्षपछि आफ्ना जनप्रतिनिधि छनौट गरेका छन् । निर्वाचनबाट जनताले छानेका प्रतिनिध भनेका स्थानीय सरकार सञ्चालन गर्ने व्यक्तिहरु हुन् । अबको पाँच वर्षसम्म उनीहरुले जनताका प्रतिनिधिको रुपमा काम गर्न पाउनेछन् । आफूले छानेका प्रतिनिधिहरुसँग नागरिकका अपेक्षा के छन् त ? यही प्रश्न हाम्रा सहकर्मी गीता थापाले वीरेन्द्रनगरमा भेटिएका केही स्थानीयसँग सोधेकि थिइन् । प्रस्तुत छ, उनीहरुको प्रतिक्रिया जस्ताको त्यस्तै :

चुनाव हुनुभन्दा अगाडि पार्टीले जति पनि एजेण्डा बनाएर जनतासँग भोट मागेका थिए ती एजेण्डालाई अब पूरा गर्ने समय आएको छ । जनतासँग एजेण्डा लिएर भोट माग्न गएका नेताहरू अब जितेपछि पनि जनताको एजेण्डालाई पनि समावेश गरेर काम गर्नुपर्छ । जनता के चाहन्छन् त्यो कुरा बुझेर काम गर्दा सहज रूपमा जनताले अभिभावक पाएको गौरभ गर्नेछन् । सुर्खेत जिल्लाको स्मार्ट सीटी बनाउने योजना अब पूरा गर्नुपर्छ । युवाहरूको माग र चाहना अनुसार युवालाई रोजगारीको सिर्जना गर्नुपर्छ । वीरेन्द्रनगरको विकासका लागि जनतासँगको योजनालाई पनि मिसाएर अगाडि बढ्न सक्नुपर्छ ।
गोपाल पौडेल ,वीरेन्द्रनगर–४

सुर्खेत जिल्ला प्रदेश नम्बर ६ को प्रस्तावित राजधानी हो । यसमा पनि वीरेन्द्रनगर नगरपालिकाको नगर प्रमुखको रूपमा निवार्चित हुने जुनसुकै पार्टीको भए पनि काम गर्दा पार्टी नहेरेर जनताको लागि हकहितका लागि काम गर्न सक्नु पर्छ । हामी जनताले जिताएर पठाएको जनप्रतिनिधिले समग्र जिल्ला र जनताको हितका लागि काम गर्न जरुरी छ । २० वर्षसम्म अभिभावकविहीन रहेको जनताहरूले अभिभावक पाएका छन् । यो अत्यन्तै खुशीको कुरा हो । जीत मात्र ठूलो कुरा होइन कि जितेपछि जनताको भावना र चाहना अनुसार नेतृत्वले काम गर्नसक्ने वा नसक्ने भन्ने कुरा ठूलो कुरा हो । त्यसैले जनप्रतिनिधिले जनता र जिल्लाको विकासका लागि काम गर्नुपर्छ । जानकी पौडेल, वीरेन्द्रनगर–१२

जनताहरू २० वर्षसम्म अभिभावकविहीन थिए । अब जनताले अभिभावक पाएका छन् । आमा बाउले जसरी आफ्ना सन्तानलाई एउटै दर्जामा राखेर रेखदेख गरेका हुन्छन् अबको जनप्रतिनिधिले पनि त्यस्तै गरी सबै जनतालाई समान रूपमा हेरेर जनताको भावना र चाहना अनुसार काम गर्न सक्नुपर्छ । यो जनप्रतिनिधिले पहिलो काम प्रदेश नम्बर ६ को सम्भावित राजधानी सुर्खेतको विकासका लागि ठोस् योजना बनाएर अघि बढ्नुपर्छ । योजनामा पार्टीका मात्र योजना नभइ जनताको योजनाहरू पनि समावेश गरी योजनाबद्ध रूपमा अगाडि बढ्नुपर्छ । जनताप्रतिको उत्तरदायीपूर्ण भूमिका निर्वाह गर्न सकोस् अबको नयाँ निर्वाचित नेतृत्वले यही भन्ने चाहन्छु ।
रत्नलाल शर्मा, वीरेन्द्रनगर–५

जुन जोगी आए नि कानै चिरेको भन्ने उखान जस्तो नहोस् अहिलेको जनप्रतिनिधि । जनताले विश्वास गरेर छानेर जिताएरको पठाएको जनप्रतिनिधिले अब जनताले के चाहन्छन् त्यो कुरा बुझ्न जरुरी छ । भोट माग्न घर घरमा हात जोड्न पुगेका नेताहरू अब जितेपछि पनि गाउँ–गाउँमा योजनाहरू लिएर जनताको घर–घरमा पुग्नुपर्छ । गाउँको विकासका लागि जनताले आफ्ना जनप्रतिनिधि छानेर जिताएर पठाएका छन् । कुर्सीको मोह त्यागेर जनताको भावना र चाहना अनुसार काम गर्न अबको नेतृत्वले सक्नुपर्छ । नत्र भने जनताको विश्वास सधैंको लागि गुम्नेछ । त्यसैले निष्पक्ष रूपमा सबै क्षेत्रको विकासका लागि कदम चाल्नुपर्छ ।                                                       भूमिसरा बौडेल, वीरेन्द्रनगर–१४

जनताले चुनेर पठाएका जनप्रतिनिधिले अबका दिनमा समग्र जिल्लाको विकासका लागि यहाँको आर्थिक समृद्धलाई जोड दिन जरुरी छ । यहाँको पर्यटन क्षेत्र, उद्योग कलकारखाना लगायतका क्षेत्रहरूको विकास गरी आर्थिक रूपमा जिल्लालाई समृद्ध बनाउन जरुरी छ । बेरोजगार भएर भौंतारिरहेका युवाहरूको लागि रोजगारीको सिर्जना गर्न सक्नुपर्छ । पार्टीगत रूपमा नभइ योग्यता र क्षमताको आधारमा युवाहरूलाई रोजगारीको सिर्जना गरिनुपर्छ । जसरी जनताले विश्वास मानेर जनप्रतिनिधि छानेर जिताएका छन् त्यसै गरी जनताको विश्वास र चाहनालाई बुझेर जनतासँग समन्वय गरेर काम गर्नसकेमा पक्कै जिल्लाको विकास गर्नका लागि सहज वातावरण बन्नेछ ।
जकमति शाही, वीरेन्द्रनगर–१४

२० वर्षपछि हामीले हाम्रो जनप्रतिनिधि पाएका छौं । जो र जुनसुकै पार्टी भए पनि जनप्रतिनिधि भनेको जनताको प्रतिनिधि भएकाले निष्पक्ष रूपमा जनताको लागि काम गर्न यो नेतृत्वले सकोस् यही भन्न चाहन्छु । सबैभन्दा पहिला अबको जनप्रतिनिधिले जनताको चाहना के छ जनता के चाहन्छन् त्यो कुरा बुझेर काम गर्न जरुरी छ । चुनावमा भोट माग्न घर घरमा पुग्ने र जितेपछि मुखसमेत नदेखाउने काम अबको जनप्रतिनिधिले नगरुन् जसरी चुनावका समयमा जनताको घर–घरमा भोट माग्न गएका थिए अब जितेपछि पनि प्रत्येका घर–घरमा गएर जनता के चाहन्छन् त्यो कुरा बुझेर काम गर्न जरुरी छ ।
                                                                              पद्मा हमाल, वीरेन्द्रनगर–१४

अबको जनप्रतिनिधिले सम्भावित राजधानी सुर्खेत जिल्लाको समग्र विकासका लागि ठोस कदम चाल्नुपर्छ । प्रदेश नम्बर ६ को राजधानीको रूपमा रहेको सुर्खेतलाई कसरी आर्थिक रूपमा समृद्ध बनाउने भन्ने योजनाहरू लिएर अगाडि बढ्न जरुरी छ । यो योजनाहरू बन्दा सहरमुखी नभइ गाउँलाई पनि समेट्नुपर्छ । बाध्यताले विदेशिनु परेको युवाहरूको लागि आफ्नै ठाउँमा रोजगारीको व्यवस्था गरिनुपर्छ । जनताले आफ्ना जनप्रतिनिधि त्यसै चुनेर पठाएका होइनन् कि जनताको पक्षमा वकालत गर्ने जनप्रतिनिधि छानेर पठाएका हुन् । त्यसमा पनि पदमा पुगेका नेताहरूले काम गर्दा पार्टीगत रूपमा गर्न थालियो भने जनताको विश्वास टुट्नेछ ।   दिपेन्द्र हमाल, वीरेन्द्रनगर–१४

वीरेन्द्रनगरको नगर प्रमुख पदमा जानुभएको जनप्रतिनिधिले अबका दिनमा जनताले के चाहन्छन् त्यो कुरामा ध्यान दिन जरुरी छ । जनताले त्यसै आफ्ना जन्रतिनिधि बनाएर पठाएका होइनन् । जनताको समस्या समाधान र जनताको हकहितका लागि काम गर्ने जनप्रतिनिधि चुनेर पठाएका हुन् । अबको प्रतिनिधिले नगरको प्रत्येक वडामा विकासका लागि तेरो र मेरो नभनी हाम्रोको रूपमा काम गरेर देखाउन सक्नुपर्छ । नगर प्रमुखमा जुन पार्टीको भए पनि काम सम्पूर्ण नगरबासीहरूको लागि गर्नुपर्छ । मेरो पार्टी र मेरो मान्छे भन्ने हो भने आमागी दिनमा बारेमा पनि जनताले सोच्ने छन् । भीमा दहाल, वीरेन्द्रनगर–१२

आर्थिक समुन्नतिका लागि पर्यटकीय विकास र यहाँको शैक्षिक गन्तव्य राम्रो बनाउनु पर्छ । त्यस्तै नगरभित्रका यातायात, खानेपानी र पुनर्निमार्णसँग सम्बन्धित सबै समस्याको हल गर्नका लागि सबै स्थानियबासीहरूसँग समन्वय गरेर काम गर्नुपर्छ झण्डै २० वर्षपछि जनताले आफ्ना जनप्रतिनिधि पाएको अवस्थामा अब जनताको हकहितका लागि काम गर्न सक्नुपर्छ । जनताले विश्वास गरेर पठाएको प्रतिनिधिले जनतालाई घात नगरोस् र समग्र जिल्ला र नगरको विकासलाई तीव्र रूपमा अगाडि बढाउनुपर्छ । तब मात्र जनताले चुनेर पठाएको जनप्रतिनिधिप्रति जनताको विश्वास सधैं टिकी रहनेछ ।
सावित्रा दाहाल, वीरेन्द्रनगर–१२

प्रकाशित मितिः   ९ जेष्ठ २०७४, मंगलवार ११:५३