पार्षद्को भेला वैशाख ६ गते

साझा बिसौनी संवाददाता
सुर्खेत, २७ चैत्र ।
नेपाल पत्रकार महासंघ सुर्खेत शाखाको २४ औं स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रमहरू गरिने भएको छ । महासंघ सुर्खेत शाखाका अध्यक्ष गणेशकञ्चन भारतीको अध्यक्षतामा शनिवार सम्पन्न बैठकले विविध कार्यक्रम गरी स्थापना दिवस मनाउने निर्णय गरेको हो ।
बैठकले वैशाख १६ गते महासंघको स्थापना दिवसको अवसर पारेर वैशाख १५ गते जिल्लामा रहेका छापा सञ्चारमाध्यम र विद्युतीय सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गर्ने, १६ गते बिहान प्रभातफेरी गर्नुका साथै जिल्लाको पर्यटकीय स्थल बुलबुलेमा सरोकारवालाहरूसँग बुलबुलेको विकासका विषयमा अन्तरक्रिया गर्ने लगायतका निर्णय गरेको छ । 
त्यसैगरी नयाँ सदस्यता प्राप्तीका लागि शाखामा प्राप्त भएका आवेदनमाथि आवश्यक छानविन गरी १५ दिनभित्र कार्यसमिति बैठकमा पेश गर्ने गरी सात सदस्यीय कार्यदल गठन गर्नुका साथै शाखाका केन्द्रीय पार्षद् (सभासद्) हरूको भेला आउँदो वैशाख ६ गते वीरेन्द्रनगरमा सम्पन्न गर्ने निर्णय भएको जनाइएको छ । यस्तै शाखाको कार्यालय भवन मर्मत तथा सुधार र स्तरवृद्धिका लागि अध्यक्ष गणेशकञ्चन भारतीको संयोजकत्वमा एक कार्यदल समेत गठन गर्ने निर्णय भएको छ । 
प्रकाशित मितिः   २८ चैत्र २०७२, आईतवार ११:०५