नेदरल्याण्डका व्यवसायी सुर्खेतमा लगानी गर्न इच्छुक

सुर्खेत, २८ चैत्र ।

सुर्खेतमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्ताहरू इच्छुक देखिएका छन् । सुर्खेत उद्योग वाणिज्य संघले आउँदो वर्षलाई सुर्खेत लगानी वर्षका रूपमा मनाउने तयारी गरिरहँदा अन्तर्राष्ट्रिय लगानीकर्ताहरूले यस्तो इच्छा देखाएका हुन् । जिल्लाको कृषि र पर्यटन क्षेत्रमा लगानी गर्नका लागि विदेशी लगानीकर्ताहरूले अहिले जिल्लामा त्यसको सम्भाव्यता अध्ययन समेत गरिरहेका छन् । 
सुर्खेतमा लगानी गर्न सकिने क्षेत्र र सम्भावनाहरूको खोजी गर्न नेदरल्याण्डका व्यवसायीहरूको एक टोली सुर्खेत आएको छ । सो टोलीले जिल्लामा लगानी गर्न सकिने क्षेत्रहरूको समेत पहिचान र अध्ययन थालेको छ । सुर्खेत उद्योग वाणिज्य संघको निमन्त्रणामा सुर्खेत आएको नेदरल्याण्डको टोलीले जिल्लामा लगानीका लागि उपयुक्त वातावरण भएको जनाएको छ । साथै नेदरल्याण्डका व्यवसायीहरूले जिल्लामा आवश्यक लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । जिल्लामा कृषि उत्पादन र पर्यटनको सम्भावना धेरै रहेको भन्दै टोलीले कृषिमा लगानी गर्ने उद्घोष समेत गरेको छ ।
आउँदो वर्ष २०७३ लाई सुर्खेत लगानी वर्षका रूपमा मनाउन लागेको सुर्खेत उद्योग वाणिज्य संघले अन्तर्राष्ट्रिय लगानीकर्ताहरूलाई समेत जिल्लामा भिœयाउन थालेको छ । सोही अभियान अन्तर्गत नै नेदरल्याण्डका व्यवसायीहरूले सुर्खेतमै आएर सम्भावनाको खोजी गर्न थालेका छन् । उनीहरूले यस क्षेत्रमा कृषि क्षेत्रमा लगानी गर्न आफूहरू तयार रहेको भन्दै किसानको आयस्तर वृद्धि र सामाजिक रूपान्तरणका लागि लगानी गर्ने प्रतिबद्धता जनाए । टोलीको नेतृत्व गरिरहेका नेदरल्याण्डका व्यवसायी रोनले सुर्खेतमा कृषिको सम्भावना रहेको बताए । उनले भने, ‘यस क्षेत्रको आर्थिक विकासका लागि कृषिमा लगानी आवश्यक छ, हामीले कृषिमा धेरै सम्भावना देख्यौं । अब हामी कृषिको विकासमा लगानी गर्न तयार छौं, जति सक्छौं लगानी गर्नेछौं ।’ किसानको आर्थिकस्तर वृद्धि र सामाजिक हित हुने भएकाले कृषिमा लगानी गर्न आफूहरू इच्छुक भएको उनको भनाइ छ । यस्तै उनले यहाँको प्रविधिको विकासमा समेत आफूहरूले लगानी गर्ने उनले जानकारी दिए ।
नेदरल्याण्डकै एक निजी बैंकका म्यानेजर मिकले सुर्खेत र यस क्षेत्रका अन्य स्थानमा लगानीको ठूलो सम्भावना रहेको बताए । साथै उनले पर्यटन र जलविद्युतमा लगानीको राम्रो सम्भावना रहेको भन्दै आफूहरू त्यसमा लगानी गर्न तयार रहेको बताए । यस्तै अर्का व्यवसायी टेजले भने, ‘यहाँ विद्युतको सम्भावना धेरै रहेछ, तर उत्पादन नहुँदा ऊर्जाको समस्या 
देख्यौं । त्यसकारण म यहाँ सौर्य ऊर्जामा लगानी गर्न इच्छुक छु, त्यसका लागि तपाईंहरूले साथ दिनुप¥यो ।’ लगानी गर्नका लागि कुनै समस्या नभएको भन्दै व्यवसायीहरूले जिल्लामा लगानी भित्रिने वातावरण बनाउन सुर्खेतका व्यवसायीहरूलाई आग्रह समेत गरेका छन् । राज्यले मात्र लगानी गरेर तीव्र विकास हुन नसक्ने र जनताको आयस्तर बढ्न नसक्ने भन्दै नेदरल्याण्डका व्यवसायीहरूले निजी क्षेत्रको लगानी आवश्यक रहेकोमा जोड दिए । साथै उनीहरूले यहाँको जडिबुटी, पर्यटन, प्रविधिको विकास र जलविद्युतमा लगानी भिœयाउनका लागि आफूहरू तयार रहेको बताएका छन् । सुर्खेत लगानीका लागि उपयुक्त स्थान भएको बताउँदै उनीहरूले अब छिट्टै लगानी गर्न आफूहरू आतुर रहेको जनाए ।
सुर्खेत आएको नेदरल्याण्डको टोलीलाई स्वागत गर्दै सुर्खेत उद्योग वाणिज्य संघले जिल्लामा लगानी गर्न आग्रह गरेको थियो । संघका अध्यक्ष प्रकाश अधिकारीले यस क्षेत्रको आर्थिक विकास लागि अन्तर्राष्ट्रिय लगानी आवश्यक रहेको भन्दै लगानी गर्न नेदरल्याण्डको टोलीलाई आग्रह गरे । उनले यहाँका कृषि, जडिबुटी, पर्यटन, जलविद्युत र खनिजमा लगानी गर्न आग्रह गर्दै आफूहरू लगानीको वातावरण बनाउन तयार रहेको 
बताए । विदेशी लगानीकर्ताहरूलाई आकर्षित गर्नका लागि आफूहरूले आउँदो वर्षलाई सुर्खेत लगानी वर्षको रूपमा मनाउन लागेको समेत उनले जानकारी दिए । लगानी वर्षमा स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय लगानीकर्ताहरू समेत सुर्खेतमा 
लगानी गर्न इच्छुक रहेको जानकारी उनले दिए । शनिवार वीरेन्द्रनगरमा भएको भेटघाट कार्यक्रममा 
सुर्खेतका व्यवसायी र नेदरल्याण्डको टोलीले जिल्लामा लगानी गर्न 
सकिने क्षेत्रहरूको बारेमा छलफल गरेका थिए । 

प्रकाशित मितिः   २८ चैत्र २०७२, आईतवार ११:०९