ग्यास उत्पादनको सम्भावना
दैलेखमा भेटिएको बहुउपयोगी प्राकृतिक ग्यासको व्यावसायिक उत्पादन गर्न सकिने भएको छ । प्राविधिक अध्ययनबाट व्यावसायिक उत्पादन गर्न सकिने निष्कर्ष निकालिएको हो । यसअघि चिनियाँ विज्ञ टोलीले लामो अन्वेषणमार्फत् जलजले क्षेत्रमा प्राकृतिक ग्यासको ठूलो भण्डारण रहेको पत्ता लगाएको थियो । ड्रिलिङ गरेर पेट्रोलियम पदार्थ खोजीका लागि गरिएको अन्वेषणमा ११२ अर्ब घनमिटर अर्थात् सात करोड ९२ लाख १२ हजार तीन सय २७ मेट्रिक टन बराबरको प्राकृतिक मिथेन ग्यास रहेको चिनियाँ विज्ञ टोलीले देखाएको थियो । त्यसपछि सरकारले ग्यासको व्यावसायिक उत्पादन र आवश्यक परियोजना सञ्चालनको सम्भावनाबारे अध्ययन गर्न नेपाली विज्ञ टोली गठन गरेको थियो । उक्त प्राविधिक अध्ययन समितिले दैलेखमा भेटिएको बहुउपोगी ग्यासको व्यावसायिक रूपमा उत्पादन गर्न सकिने प्रतिवेदन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई बुझाएको छ ।
समितिले बुझाएको प्रतिवेदनअनुसार दैलेखमा भेटिएको प्राकृतिक ग्यासबाट विद्युत उत्पादन पनि गर्न सकिने देखिएको छ । त्यसैगरी युरिया मल उत्पादन कारखाना सञ्चालन गर्न सकिनेदेखि खाना पकाउने ग्यास र यातायात सञ्चालन क्षेत्रमा प्रयोग गर्न सकिने निष्कर्ष निकालिएको छ । प्राकृतिक ग्यासबाट युरिया मल उत्पादन गर्न आर्थिक र प्राविधिक हिसाबले उपयुक्त हुने र देशमा हालसम्म कुनै रासायनिक मल कारखाना नभएको हुँदा रासायनिक मल कारखाना निर्माण गर्नुपर्ने सुझाव दिएको छ । करिब दुई हजार दुई सय मेट्रिक टन उत्पादन क्षमता भएको ग्यासमा आधारित युरिया मल कारखाना सञ्चालन गर्न वार्षिक चार १० देखि ४५२ मिलियन घनमिटर ग्यास र दैनिक एक हजार ६९ देखि एक हजार एक सय २२ मेट्रिक टन नाइट्रोजन ग्यास आवश्यक पर्ने प्रतिवेदनले देखाएको छ । नेपालको कृषि क्षेत्रको लागि आवश्यक सात लाख मेट्रिक टन युरिया मलको माग पूरा गर्न प्रतिदिन करिब दुई हजार दुई सय मेट्रिक टन उत्पादन क्षमताको मल कारखाना स्थापना गर्नुपर्ने सुझाव दिइएको छ । तर प्रतिदिन तीन हजार पा“च सय मेट्रिक टन क्षमताको उत्पादन गर्न सक्ने कारखाना निर्माण गर्न सकिए आर्थिक हिसाबले छिटो प्रतिफल प्राप्त गर्न सकिने देखिन्छ । यसका साथै कारखानाका लागि आवश्यक बिजुली उपलब्ध गर्न सोही क्षेत्रमै ग्यासमै आधारित पावर प्लान्टको निर्माण गर्न आवश्यक रहेको पनि देखिएको छ ।
व्यावसायिक उत्पादनको सम्भावना देखिए पनि ग्यास पाइप लाइनको पूर्वाधार, मल कारखानाको निर्माण र सञ्चालनको लागि ठूलो मात्रामा आर्थिक लगानी आवश्यक पर्ने हुनाले लगानी नै मुख्य चुनौती देखिन्छ । पाइपलाइन निर्माणको लागि भौगोलिक जटिलता पनि अर्को चुनौती रहेको छ । नेपालमा उत्खनन्, उत्पादन तथा अन्य सम्बन्धित प्रयोग क्षेत्रमा अनुभवी प्राविधिक दक्ष जनशक्तिको अभाव छ ।
प्रकाशित मितिः २३ कार्तिक २०८२, आईतवार १०:४८
सम्पादकीय ।