अघि बढ्यो मेडिकल कलेज निर्माण प्रक्रिया
सुर्खेत: सुर्खेत मेडिकल कलेजको निर्माण प्रक्रिया अघि बढेको छ । यो वर्ष विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण गर्न लागिएको छ । आर्थिक वर्ष २०७४/०७५ मा सरकारले मेडिकल कलेजको स्थापना गर्ने घोषणा गरेको थियो । तर लामो समयसम्म काम हुन सकेन । अब भने निर्माण प्रक्रिया अघि बढेको छ ।
मेडिकल कलेज स्थापनाका लागि वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) र गुरुयोजना तयार पारिएको छ । सरकारले २०७९ असार २९ गते गुरुयोजना स्वीकृत गर्यो । यसैगरी २०८० मंसिर ७ गते वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) स्वीकृत भएको थियो । गत आर्थिक वर्षमा डीपीआर निर्माणको प्रक्रिया अघि बढाइएको भएपनि काम हुन सकेन् । सरकारले प्रर्याप्त बजेट विनियोजन नगर्दा डीपीआर निर्माणको काम अघि बढेको थिएन । गत आर्थिक वर्षमा सरकारले एक लाख मात्र बजेट विनियोजन गरेको थियो । (इआइए) र गुरुयोजना स्वीकृत भएको छ भने यो वर्ष विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण गर्न लागिएको छ । डीपीआर निर्माणको प्रक्रिया अघि बढेको सुर्खेत मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाका इन्जिनियर शंकर तिमल्सिनाले बताए । उनका अनुसार प्रस्तावित मेडिकल कलेज सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको वडा नं. ११ र १३ को सामुदायिक वनमा निर्माण हुनेछ ।
६ सय शैय्याको अस्पताल र वार्षिक एक सय जना विद्यार्थी क्षमता रहने मेडिकल कलेज निर्माण गर्न लागिएको हो । मेडिकल कलेजको कूल लागत एक अर्ब ७० करोड रूपैयाँ हुने अनुमान गरिएको छ ।
वडा नं. ११ को अम्बीकादेवि सामुदायिक वन र वडा नं १३ को सीतापुर सामुदायिक वनमा मेडिकल कलेजको स्थापना गर्न लागिएको हो । यो वर्ष मेडिकल कलेज स्थापानाका लागि एक करोड बजेट विनियोजन गरेको छ । त्यसैअनुसार डीपीआर निर्माणको काम गर्न लागिएको इन्जिनियर तिमल्सिनाले बताए । डीपीआर निर्माणमा मात्र तीन करोड लाग्छ । अहिले थप बजेट माग गरेर डीपीआर निर्माणको प्रक्रिया थालिएको उनले बताए । प्रदेश सरकारसँग पनि सहयोगका लागि विभिन्न चरणमा छलफल भइरहेको उनको भनाइ छ ।
सुर्खेतमा मेडिकल कलेज बनाउनका २०७६ जेठ २० गते वीरेन्द्रनगरमा कार्यालय स्थापना गरिएको थियो । मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाको कार्यालय स्थापना गरिएको हो । सरकारले बर्सेनि बजेट विनियोजन गर्ने गरेको भएपनि काम अघि बढ्न सकेको थिएन । आर्थिक वर्ष २०७६/०७७ मा दश करोड बजेट विनियोजन भयो । उक्त वर्ष सो रकम प्रदेश अस्पताललाई स्तरोन्नती गर्ने र सुर्खेत मेडिकल कलेजमा निर्माण गर्ने भनिएको थियो । तर मेडिकल स्थापनाका लागि काम नै भएन ।
त्यसपछि आर्थिक वर्ष २०७९/०८० मा दुई करोड ६० लाख बजेट विनियोजन भयो । उक्त वर्षपनि काम हुन सकेन । प्रत्येक आर्थिक वर्षहरूमा बजेट विनियोजन हुने गरेको छ । जुन बजेट कार्यन्वयनमा आउन सकेको छैन । तत्कालिन शिक्षा मन्त्री दिनानाथ शर्मा भएको बेला मेडिकल कलेज स्थापनाका लागि एक कार्यदल बनाएर दुई महिनाभित्र विस्तृत अध्ययन प्रतिवेदन बुझाउन निर्देशन दिएको र जग्गा तथा पूर्वाधार पहिचान गरी भोगाधिकार प्राप्तिका लागि सिफारिस गर्ने, पूर्वाधार तथा सम्भाव्यताको अध्ययन गरी शिक्षा मन्त्रालयलमा विस्तृत अध्ययन प्रतिवेदन पेु गर्ने र स्थानीय स्तरमा समन्वय गरेर पूर्वाधार विकासका लागि तयार गर्न भनेर निर्देशन दिएको मेडिकल कलेज पूर्वाधार विकास समितिले जनाएको छ । तर, प्रत्येक आर्थिक वर्षमा मेडिकल कलेज स्थापना गर्ने बजेट भाषणमा आउने गरेको भएपनि प्रगति भने हुन नसकेको हो । यो वर्ष पनि पर्याप्त बजेट विनियोजन हुन सकेको छैन । थप बजेट माग गरेर भएपनि काम गर्ने योजना बनाइएको आयोजना प्रमुख उत्तम आचार्यले बताए ।
प्रकाशित मितिः २३ कार्तिक २०८२, आईतवार १०:४७


साझा बिसौनी ।