चुनाव केन्द्रित गतिविधि

आगामी फागुन २१ मा प्रतिनिधिसभाको निर्वाचन हुँदैछ । जेन–जी आन्दोलनपछि संसद् विघटन भएपछि बनेको अन्तरिम सरकारले निर्वाचनको मिति घोषणा गरेर तयारी अघि बढाएको छ । नेकपा (एमाले) बाहेक सबैजसो प्रमुख राजनीतिक दलहरू चुनावमा जान तयार भइसकेका छन् । एमालेले भने संसद् विघटन असंवैधानिक भएको बताउँदै संसद् पुनस्र्थापना गर्नुपर्ने बताइरहेको छ । निर्धारित समयमा निर्वाचन गर्न अब करिब चार महिनाको समयावधि मात्रै छ । यो छोटो समयभित्र निर्वाचन गर्न अनेक चुनौती छन् । त्यसैले निर्वाचन हुनेमा धेरैले संशय पनि व्यक्त गरिरहेका छन् । यद्यपि, सरकारले भने निर्धारित मितिमै निर्वाचन गराउने दाबी गर्दै आएको छ ।

प्रतिनिधिसभाको निर्वाचनका लागि राजनीतिक दलहरूले पनि आफ्ना गतिविधि सञ्चालन गर्न थालेका छन् । प्रारम्भिक चरणमा आन्तरिक छलफल सुरु भएका छन् । कर्णाली प्रदेशमा सक्रिय राजनीतिक दलहरूले पार्टीका गतिविधिलाई चुनावमा केन्द्रित गराउने योजना बनाएका छन् । नेपाली कांग्रेसले सुक्ष्म तरिकाले चुनावको तयारीमा लाग्न पार्टीका तल्ला तहहरूमार्फत परिपत्र नै गरिसकेको छ । कांग्रेसले सोहीअनुसारका गतिविधि अघि बढाएको छ । स्थानीय स्तरमै निर्वाचनका कार्यक्रम बनाउन थालिएको जनाइएको छ । यस्तै नेकपा (माओवादी केन्द्र) ले पनि निर्वाचन लक्षित कार्यक्रम थालेको छ । पार्टी मतदाता नामावली दर्ताका लागि नागरिकहरूलाई जानकारी गराउनेसहितका आन्तरिक तयारीमा जुटेको छ । अहिले पार्टी एजेण्डा मिल्ने विभिन्न दलहरूसँग एकीकरणको तयारीमा रहेको छ । नेकपा (एकीकृत समाजवादी) सहित विभिन्न साना दलहरूसँग एकताको हुँदैछ, जसले आगामी निर्वाचनमा सघाउ पुग्ने अपेक्षा माओवादीको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादीलगायत पनि घोषित मितिमा निर्वाचनमा होमिनेबारे आन्तरिक छलफलमा जुटेका छन् । निर्वाचन लक्षित गरी पार्टीहरूले मतदाता नामावली लगायतका कार्यक्रमलाई सघाइरहेका छन् । केही पार्टीहरूले गाउँ–गाउँमा मतदाता शिक्षा कार्यक्रम पनि थालेका छन् । यसरी हेर्दा पार्टीहरू आन्तरिक तयारीमा जुटेका पाइएको छ ।

नेकपा (एमाले) ले भने तोकिएकै समयमा निर्वाचन हुनेमा आशंका व्यक्त गरेको छ । संसद् पुनस्र्थापनाको माग गरिरहेको एमालेले निर्वाचनकै लागि नभने पनि पार्टी गतिविधिलाई जनतासम्म जोड्ने योजना बनाएको छ । जसले आगामी निर्वाचनमा सघाउ पुग्ने अपेक्षा एमालेको देखिन्छ । एमालेमा चुनावमा जाने विषयमा अलमल देखिए पनि अन्य राजनीतिक दलहरूले भने चुनाव केन्द्रित भइसकेका छन् । जेन–जी आन्दोलनको बलमा प्रतिनिधिसभा विघटन भई नयाँ चुनावको मिति घोषणा भाएको निर्वाचनमा जान दलहरूले आन्तरिक छलफल सुरु गरेका हुन् । पार्टीभित्र र बाहिर निर्वाचनका लागि वातावरण बनाउन दबाबसमेत आउन थालेको छ । जसले गर्दा स्थानीयस्तरसम्मै आगामी चुनावको चर्चा सुरु हुन थालेको छ ।

प्रकाशित मितिः   १८ कार्तिक २०८२, मंगलवार ०९:५०