श्रमको मूल्य

निजी अस्पतालहरूमा कार्यरत नर्सहरू श्रमशोषणमा परेको पाइएको छ । नेपाल नर्सिङ संघ सुर्खेतको अगुवाइमा वीरेन्द्रनगरस्थित निजी स्पतालहरूको स्थलगत अनुगमन गरिएको थियो । उक्त अनुगमनका क्रममा नर्सहरू श्रमशोषणमा परेको पाइएको हो । अस्पतालमा आवश्यकताभन्दा निकै न्यून संख्यामा नर्स राखिएको छ । जसले गर्दा एकैजनाले पनि लगातार नौदेखि ११ घण्टासम्म काम गर्नुपर्ने बाध्यता रहेको छ । त्यसमाथि श्रम अनुसारको पारिश्रमिक पनि न्यून भएको र अस्पताल पिच्छे पारिश्रमिक फरक–फरक दिइएको पाइएको छ । श्रम ऐनमा १९ हजार सात सय ५० रूपैयाँ न्यूनतम पारिश्रमिक तोकिएको भएपनि निजी अस्पतालहरूमा नौ हजारदेखि अधिकतम १८ हजारसम्म दिने गरिएको छ ।

कम जनशक्तिमा न्यून ज्याला दिएर धेरै काम लगाउने, धेरैजसो अस्पतालमा अनमी मात्रै कार्यरत रहेको र उनीहरूले सट्टा बिदा नपाएको अवस्था भेटिएको छ । श्रमशोषणकोविरुद्ध देशभरका निजी अस्पतालका नर्सहरू आनदोलित भएका छन् । उनीहरूलाई सरकारी अस्पतालका नर्सहरूले पनि साथ दिएका छन् । न्यूनतम तलब, भत्ता र सेवा–सुविधा सुनिश्चित गर्न माग राख्दै सुर्खेतस्थित प्रदेश अस्पतालका नर्सहरूले विरोध प्रदर्शन गरिरहेका छन् । सरकारीसरह सेवा सुविधा र पारिश्रमिकको माग गर्दै आन्दोलनमा उत्रिएका निजी अस्पतालका नर्सहरूलाई सरकारी अस्पतालका नर्सहरूले पनि ऐक्यवद्धता जनाउँदै आन्दोलनमा उत्रिएका हुन् । नर्सिङ संघले अघि सारेको १५ बुँदे मागलाई पूरा गर्नुपर्ने भन्दै निरन्तर विरोधका कार्यक्रम गरिरहेको छ । स्वास्थ्यकर्मीहरूको न्यूनतम् पारिश्रमिक सरकारी सरह नघट्ने गरी दिनुपर्ने, अतिरिक्त कार्यवापत भत्ता दिनुपर्ने, ज्यालादारीमा नचलाउने र तलब–भत्ता बैंकिङ प्रणालीमार्फत भुक्तानी गर्नुपर्ने माग अघि सारिएको छ । हालसम्म श्रमिकको रूपमा हेरिएको दक्ष नर्सिङ जनशक्तिलाई स्वास्थ्य ऐन अन्तर्गत व्यवस्थापन गर्नुपर्ने लगायतको माग राखिएको छ ।

आन्दोलित नर्सहरूले आफ्ना मागको सुनुवाइ नभए कडा आन्दोलनमा जान सक्ने बताएका छन् । २०८२ वैशाख २४ गतेदेखि नर्सको तलब, जोखिम भत्ता, रात्रिकालीन भत्तालगायतका अन्य सेवा सुविधाका सम्बन्धको मागपत्र स्वास्थ्य मन्त्रालयलाई पेस गरिएको थियो । तर निजी स्वास्थ्य संस्थाले उक्त निर्णय कार्यान्वयन नगरी न्यून सुविधा दिएपछि देशव्यापी आन्दोलन सुरु भएको हो । २०८२ वैशाखमा नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सकहरूले पनि आन्दोलन गरेका थिए । स्वास्थ्यका कर्मचारीले उचित पारिश्रमिक पाउनुपर्ने भन्दै बेला–बेला सरकारसँग हारगुहार गर्दै आएका छन् । तर सरकारले यो विषयलाई गम्भीरतापूर्वक लिएको छैन । जसले गर्दा काम गर्ने स्वास्थ्य जनशक्ति विदेशिने गरेका छन् । अर्कोतर्फ लगातारका आन्दोलनका कारण स्वास्थ्य संस्थाहरूको सेवा पनि प्रभावित भएको छ । त्यसैले नर्सहरूको श्रमको उचित सम्मान गर्ने वातावरण निर्माण गर्न सम्बन्धित निजी अस्पतालहरूका साथसाथै सरकारी निकायले पनि ध्यान दिन जरुरी छ ।

प्रकाशित मितिः   १६ कार्तिक २०८२, आईतवार ०५:०३