श्रमशोषणमा निजी अस्पतालका नर्स

 

सुर्खेत: निजी अस्पतालहरूमा कार्यरत नर्सहरू श्रमशोषणमा परेको पाइएको छ । नेपाल नर्सिङ संघ सुर्खेतको अगुवाइमा गरिएको अनुगमनका क्रममा नर्सहरू श्रमशोषणमा परेको पाइएको हो ।

संघले शुक्रवार वीरेन्द्रनगरका निजी अस्पतालमा कार्यरत नर्सको अवस्थाका बारेमा स्थलगत अनुगमन गरेको थियो । स्थलगत अनुगमन गरी त्यहाँ कार्यरत नर्सको अवस्थाबारे जानकारी लिइएको संघका संयोजक सकुन्तला सापकोटाले जानकारी दिइन् । उनकाअनुसार अनुगमनका क्रममा निजी अस्पतालले आवश्यकताभन्दा निकै न्यून संख्यामा नर्स राखिएको छ । जसले गर्दा एकैजनाले पनि लगातार नौदेखि ११ घण्टासम्म काम गर्नुपर्ने बाध्यता रहेको छ । त्यसमाथि श्रमअनुसारको पारिश्रमिक पनि न्यून भएको र अस्पताल पिच्छे पारिश्रमिक फरक–फरक दिइएको पाइएको छ ।

श्रम ऐनमा १९ हजार सात सय ५० रूपैयाँ न्यूनतम् पारिश्रमिक तोकिएको भएपनि निजी अस्पतालहरूमा नौ हजारदेखि अधिकतम् १८ हजारसम्म दिने गरिएको संयोजक सापकोटाले बताइन् । उनले भनिन्, ‘निजी अस्पतालहरूमा कम जनशक्तिमा न्यून ज्याला दिएर काम लगाउने गरेको पाइएको छ, अधिकांश नर्सभन्दा अनमी धेरै राखिएको छ, यस श्रमशोषण भएको छ ।’ धेरैजसो अस्पतालमा अनमी मात्रै कार्यरत रहेको र उनीहरूले सट्टा बिदा नपाएको जनाइएको छ ।

श्रमशोषणको विरुद्ध संघले अस्पतालहरूसमक्ष १५ बँुद्धे माग राखेको छ । माग पूरा नभए आन्दोलनमा जाने चेतावनी समेत दिइएको छ । कम जनशक्ति राखेर धेरै काम गराउने र पारिश्रमिक समेत न्यून दिने गरिएको जनाइएको छ ।

यसैबीच न्यूनतम् तलब, भत्ता र सेवा–सुविधा सुनिश्चित गर्न माग राख्दै सुर्खेतस्थित प्रदेश अस्पतालका नर्सहरूले विरोध प्रदर्शन गरिरहेका छन् । सरकारी सरह सेवा सुविधा र पारिश्रमिकको माग गर्दै आन्दोलनमा उत्रिएका निजी अस्पतालका नर्सहरूलाई सरकारी अस्पतालका नर्सहरूले पनि ऐक्यवद्धता जनाउँदै आन्दोलनमा उत्रिएका हुन् ।

नर्सिङ संघले अघि सारेको १५ बुँदे मागलाई पूरा गर्नुपर्ने भन्दै शुक्रवार प्रदेश अस्पतालका नर्सहरूले प्रदर्शन गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २०८२ असोज २४ को पत्र कार्यान्वयन गरी स्वास्थ्यकर्मीहरूको न्यूनतम् पारिश्रमिक सरकारी सरह नघट्ने गरी दिनुपर्ने, अतिरिक्त कार्यवापत भत्ता दिनुपर्ने, ज्यालादारीमा नचलाउने र तलब–भत्ता बैंकिङ प्रणालीमार्फत भुक्तानी गर्नुपर्ने माग अघि सारिएको नर्सिङ संघ सुर्खेतका संयोजक सापकोटाले बताइन् । हालसम्म श्रमिकको रूपमा हेरिएको दक्ष नर्सिङ जनशक्तिलाई स्वास्थ्य ऐनअन्तर्गत व्यवस्थापन गर्नुपर्ने लगायतको माग रहेको उनको भनाइ छ ।

शुक्रवार बिहान १० देखि १२ बजेसम्ममात्रै विरोध प्रदर्शन गरिरहेका नर्सहरूले कार्तिक १८ गतेसम्म पनि सुनुवाइ नभए कडा आन्दोलनमा जान सक्ने बताएका छन् । श्रमको सम्मान नभएसम्म नर्स आन्दोलन जारी रहने सापकोटाको भनाइ छ । नर्सको न्यूनतम् सुविधाको व्यवस्था हुनुपर्ने भन्दै नेपाल नर्सिङ संघको आह्वानमा उनीहरूले आन्दोलनप्रति ऐक्यबद्धता जनाएका हुन् ।

नेपाल नर्सिङ संघले पनि एक विज्ञप्ति जारी गरी २०८२ वैशाख २४ गतेदेखि नर्सको तलब, जोखिम भत्ता, रात्रिकालीन भत्तालगायतका अन्य सेवा सुविधाका सम्बन्धको मागपत्र स्वास्थ्य मन्त्रालयलाई पेस गरिसकेको तर पनि निजी स्वास्थ्य संस्थाले उक्त निर्णय कार्यान्वयन नगरी न्यून सुविधा दिएकाले आन्दोलनमा उत्रिन बाध्य भएको जनाइएको छ । संघले अब चरणबद्ध आन्दोलन गर्ने तयारी गरिरहेको छ ।

२०८२ वैशाखमा नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सकहरूले पनि आन्दोलन गरेका थिए । उपभोक्ता अदालतले दिएका पछिल्ला फैसलाहरूले नेपाल मेडिकल काउन्सिलको क्षेत्राधिकारमाथि हस्तक्षेप गरेको तथा चिकित्सकहरूलाई हतोत्साहित पार्ने र असुरक्षित वातावरण सिर्जना गर्ने कार्य भएको भन्दै नेपाल चिकित्सक संघले आन्दोलन गरेका थिए । स्वास्थ्यका कर्मचारीले उचित पारिश्रमिक पाउनुपर्ने भन्दै बेला–बेला सरकारसँग हारगुहार गर्दै आएका छन् । तर सरकारले यो विषयलाई गम्भीरतापूर्वक लिएको छैन । जसले गर्दा काम गर्ने स्वास्थ्य जनशक्ति विदेशिने गरेका छन् ।

प्रकाशित मितिः   १५ कार्तिक २०८२, शनिबार ०६:३६