आयोजनामा प्रगति
कर्णाली प्रदेशका सबै नागरिक विद्युतको पहुँचमा छैनन् । प्रदेशभित्रै विद्युत उत्पादन नगन्य छ । राष्ट्रिय प्रसारण लाइनको विस्तार सबै क्षेत्रमा हुन सकेको छैन । सञ्चालनमा रहेको लाइन पनि कम क्षमताको छ । जसका कारण विद्युत अपर्याप्त छ । अनियमित लोडसेडिङले सास्ती दिइरहन्छ । वर्षौंअघि विस्तार गरिएको ३३ केभी प्रसारण लाइन स्तरोन्नति हुन नसक्दा समस्या निम्तिएको छ । यही समस्या समाधानका लागि कोहलपुर–सुर्खेत एक सय ३२ केभी विद्युत प्रसारण लाइन विस्तारको काम अघि बढाइएको पनि वर्षौं भइसक्यो । तर अहिलेसम्म त्यसलाई पूर्णता पाउन सकेको छैन । निर्माणमा ढिलाइ हुँदा लाइन विस्तारको काम सकिएको छैन । यद्यपि, पछिल्लो केही समययता भने कामले तीव्रता पाएको देखिन्छ । तीन तहकै सरकारको प्राथमिकतामा परेका कारण पछिल्लो समय विद्युत विस्तारको कामले तीव्रता पाएको हो ।
अहिले विद्युत विस्तारको काम अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ । आयोजनाको भौतिक प्रगति ९५ प्रतिशत पुगेको छ । अहिले बाँकेको बाँनियाभारमा फाउन्डेसन निर्माणको काम धमाधम भइहेको छ । आयोजनाले ९५ प्रतिशत भौतिक प्रगति हासिल गरेको छ भने ९५ प्रतिशत नै वित्तीय प्रगति हासिल गरेको जनाइएको छ । आयोजनाअन्तर्गत एक सय ६२ वटा फाउन्डेसन निर्माण गरिनेछ । अहिलेसम्म एक सय ५९ वटा फाउन्डेसन निर्माण भएका छन् । ५२ किलोमिटर तार तानिनेछ । अहिलेसम्म ४६ किलोमिटर तार तान्ने काम भइसकेको छ । लाइन विस्तार कार्यको सुरुवात २०७७ असारदेखि गरिएको थियो । भारतीय निर्माण कम्पनी आरएस इन्फ्राप्रोजेक्ट प्रा.लि.ले ७० करोड रूपैयाँमा आयोजनाको ठेक्का पाएको थियो । जनशक्ति र उपकरण पर्याप्त भएपनि आयोजना निर्माण क्षेत्रमा विवाद हुँदा काम भने गतिमा अगाडि बढ्न सकेको थिएन । अहिले तीन तहकै सरकारले चासो दिएका कारण कामले तीव्रता पाएको हो । बाँकेमा देखिएको विवाद पनि सरकारी तबरबाटै समाधान भएको छ ।
विवाद समाधानसँगै आयोजना निर्माणको कामले तीव्रता पाएको हो । आउँदो मंसिर अन्तिम सातासम्म आयोजना निर्माणको काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ । अब तीन वटा फाउन्डेसन निर्माण, सात किलोमिटर तार तान्ने काम मात्र बाँकी रहेको छ । यसअघि सुब्बाकुनामा सवस्टेशन निर्माणको काम सकिएको छ । विद्युत विस्तारको काम सकिएको खण्डमा उक्त सवस्टेशनमा चार्ज गरिनेछ । प्रदेश राजधानी सुर्खेत हुँदै सबै जिल्लामा विद्युत आपूर्ति गर्न सहजताका लागि यो स्टेशनको निर्माण गरिएको हो । कोहलपुरदेखि सुर्खेतसम्मको एक सय ३२ केभी प्रसारण लाइनका लागि सुब्बाकुनामा सनस्टेशन बनाइएको हो । यसले अहिले कर्णालीमा भइरहेको विद्युत समस्या समाधान हुने अपेक्षा गरिएको छ ।
प्रकाशित मितिः १३ कार्तिक २०८२, बिहीबार १०:४२
सम्पादकीय ।