विध्वंश गर्नेहरूको प्रमाण जुटाउँदै प्रहरी

सुर्खेत: गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा निजी तथा सार्वजनिक सम्पत्तिमा क्षति पु¥याउनेहरूमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ । आन्दोलनका नाममा आगजनी, लुटपाट र चोरी भएका घटनाहरूमा संलग्नहरूमाथि अनुसन्धान गरेर प्रमाण संकलन भइरहेको सुर्खेत प्रहरीले जनाएको छ ।
निजी घरहरूमा क्षति पुर्याउनुका साथै चोरी गर्नेहरूमाथि अनुसन्धान गरेर कारबाहीका लागि प्रहरीमा धमाधम उजुरी परिरहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक सुधीरराज शाहीले हालसम्म सुर्खेतमा भएको आगजनी, लुटपाट र चोरीसम्बन्धी घटनाका फोटो तथा भिडियो प्रमाण संकलन गरिएको बताए । घटनामा संलग्न व्यक्तिहरूको पहिचान कार्य अन्तिम चरणमा पुगेको जनाउँदै उनले केही दिनभित्रै कानुनी कारबाही अगाडि बढाइने जानकारी दिएका छन् ।
आन्दोलनका क्रममा भएको चोरी तथा लुटपाटमा संलग्न दुई जनालाई मुद्दा चलाइएको समेत शाहीले बताए । अहिले मुद्दा दर्ता हुनेक्रम जारी छ । यद्यपि, केन्द्रबाट कारबाहीका लागि अख्तियारी नआएकाले घटनामा संलग्न व्यक्तिहरूलाई कसरी कारबाहीको दायरामा ल्याउने भन्ने विषयमा अन्योलता नै रहेको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले आफ्नो तर्फबाट अनुसन्धानको काम भने तीव्र रूपमा गरिरहेको प्रमुख शाहीले जनाए । उनले भने, ‘जेन–जी आन्दोलनका नाममा लुटपाट धेरै नै भएको छ, विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ, प्रमाणसमेत संकलन भएका छन्, अब कारबाहीको प्रक्रिया अघि बढाउने हो ।’
प्रहरीले आन्दोलनकै क्रममा कारागारबाट भागेका कैदीहरूको समेत निगरानी बढाएको छ । जेन–जी आन्दोलनका क्रममा देशभरीकै कारगारहरूबाट हजाराँै कैदीहरू भागेका छन् । कर्णालीका कारागार र अन्य प्रदेशबाट भागेका कैदीहरूमा निगरानी बढाइएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । कति कैदीहरू पक्राउ गर्न समेत सफल भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधव खनालले बताए ।
गत भदौ २४ गते जेन–जी समूहले गरेको आन्दोलनका क्रममा सुर्खेतमा मात्रै २१ करोड रूपैयाँभन्दा बढीको सरकारी सम्पत्तिको क्षति भएको छ । क्षति मूल्याङ्कन समितिमा प्राप्त भएको विवरणका आधारमा २१ करोड १९ लाख ६९ हजार तीन सय ४५ रूपैयाँ बराबरको सरकारी सम्पत्तिको क्षति भएको जनाइएको छ । यसमा राजनीतिक दलका कार्यालय र निजी घरको क्षतिको विवरण समावेश गरिएको छैन । संघीय सरकारका कार्यालय, प्रदेश सरकारका कार्यालय र स्थानीय तहका कार्यालयमा भएको भौतिक संरचना, उपकरणलगायतका क्षतिको विवरण हो ।
यसैबीच कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आन्दोलनका क्रममा भएका घटनालाई तोडमोड गर्न नहुने बताएका छन् । आन्दोलनका नाममा भएका आगजनी, लुटपाट र चोरीका घटनालाई राजनीतिक आवरण दिएर ढाकछोप गर्न नमिल्ने उनको भनाइ छ । उनले यस्ता आपराधिक गतिविधिमा संलग्न जो कोही भए पनि कानुनबमोजिम कडा कारबाही गरिनेमा जोड दिएका छन् ।
मुख्यमन्त्री कँडेलले बुधवार सुर्खेत आइपुगेको जाँचबुझ आयोगका सदस्य विश्वेश्वरप्रसाद भण्डारीसँगको भेटका क्रममा यस्तो बताएका हुन् । उनले अपराधलाई राजनीति भनेर ढाकछोप गरिए कानुनको शासन कमजोर हुने र अराजकता बढ्ने खतरा औंल्याए । उनले भने, ‘अब नागरिक नै असुरक्षित हुने अवस्था आउन सक्छ । अपराधजन्य कार्यमा संलग्न जो कोही भए पनि कानुनअनुसार कडा कारबाही गर्नुपर्छ ।’ कँडेलले जाँचबुझ आयोग र प्रहरी प्रशासनले सत्यतथ्य र निष्पक्ष अनुसन्धानद्वारा दोषीलाई कारबाहीमा ल्याए मात्रै भविष्यमा यस्ता घटनाको पुनरावृत्ति रोक्न सकिने बताए ।
उनले भाद्र २४ गते दिउँसो १ बजेपछि भएको आगजनी, लुटपाट र चोरीका घटनामा सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिमा पुगेको क्षतिलाई राजनीतिक दृष्टिले नहेर्न आग्रह गरे । विगतका राजनीतिक आन्दोलनहरूमा जनआन्दोलन भए पनि कहिल्यै नागरिकको निजी सम्पत्तिमा आगजनी वा लुटपाटजस्ता घटना नभएको उनले स्मरण गराए । भेटका क्रममा जाँचबुझ आयोगका सदस्य विश्वेश्वरप्रसाद भण्डारीले निजी घर जलाउने कार्यलाई स्पष्ट रूपमा आपराधिक गतिविधिको रूपमा आयोगले अध्ययन गर्ने बताए । उनले व्यक्तिगत घरमा आगजनी, लुटपाट र चोरी गर्ने कुरा राजनीतिक नभएको स्पष्ट पारे ।
प्रकाशित मितिः १३ कार्तिक २०८२, बिहीबार १०:४३
साझा बिसौनी ।