व्यापारीका बाह्र बुँदे प्रतिबद्धता

साझा बिसौनी संवाददाता
सुर्खेत, ७ माघ ।
नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठनको बिहीवार स्वागत तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा समितिले आगामी दिनहरूमा नयाँ कामहरू गरेर देखाउने प्रतिबद्धता जनाएको छ । उनीहरूले स्वाधिन अर्थतन्त्रका लागि औद्योगिकरण तथा व्यापार विविधीकरण भन्ने मूल नाराका साथ साना, मझौला तथा ठूला व्यवसायीहरूको सम्बन्धन र संरक्षण गर्दै राष्ट्रिय अर्थतन्त्रका लागि पहल कदमी दिइने, राष्ट्रिय तथा स्थानीयस्तरमा उपलब्ध साधन स्रोतहरूको प्रयोगबाट यस क्षेत्रमा आत्मनिर्भर उत्पादकत्वमा जोड दिने, घर वहाल तथा घर वहाल कर सम्बन्धी परेको समस्याले आम उद्योगी व्यापारी, व्यवसायीहरूमा परेको पिरमर्कालाई घरधनी र वहालबीच छलफल गरी उचित व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 
त्यस्तै समितिले आगामी दिनमा अव्यवस्थित तथा फूटपाथ रूपमा सञ्चालित व्यवसायीहरूलाई व्यवस्थित गर्न पहल गर्ने, बढ्दो बेरोजगारी अन्त्यका लागि सक्षम र तालिम प्राप्त जनशक्ति उत्पादन गरी स्थानीय, उद्योग, व्यापार व्यवसायमा जोडिने, यस क्षेत्रको पर्यटकीय स्थलको पहिचान गरी पूर्वाधार विकासमा सम्बन्धित निकायमा पहल गरी आगामी दिनमा महोत्सवको आयोजना गर्ने लगायतका १२ बुँदे प्रतिबद्धता जनाएका छन् । कार्यक्रममा नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठनका अध्यक्ष सूर्य थापा (विक्रम), वरिष्ठ उपाध्यक्ष कृष्ण सुवेदी, वाणिज्य उपाध्यक्ष खगेन्द्र रिमाल, उद्योग उपाध्यक्ष उदयराम डाँगी लगायतको सहभागिता रहेको थियो । 
प्रकाशित मितिः   ८ माघ २०७२, शुक्रबार १०:३०