सरकारी कार्यालयमा दिनहुँ छापा, टेर्दैनन् हाकिम, कर्मचारी थरथरी
साझा बिसौनी संवाददाता
सुर्खेत, ७ माघ ।
कर्मचारीहरूले सेवाग्राहीको काममा ढिलासुस्ती गर्ने गरेको व्यापक गुनासो बढेपछि राष्ट्रिय सतर्कता केन्द्रले सुर्खेतका सरकारी कार्यालयहरूमा दिनहुँ छापा मार्न थालेको छ । सतर्कताको टोलीले दिनहुँ छापा मार्न थालेपछि जिल्लामा रहेका क्षेत्रीय तथा जिल्लास्तरीय सरकारी कार्यालयका कर्मचारीहरू थरथरी भएका छन् । टोलीले मंगलवारदेखि लगातार कार्यालयहरूमा छापा मार्न थालेपछि कर्मचारीहरूमा हलचल नै मच्चिएको छ ।
सतर्कताको टोलीले हरेक दिन छापा मार्न थालेपछि नक्कली काज मिलाएर जिल्ला बाहिर गएका, बिदा नै स्वीकृत नगरी आफूखुशी गएका र लामो समयदेखि कार्यालयमा हाजिर नभएका कर्मचारीहरू धमाधम कार्यालयमा हाजिर हुन थालेका छन् । यस्तै यसअघि कार्यालयमा हाजिर लगाएर दिनभर व्यक्तिगत काममा निस्कने कर्मचारीहरू समेत दिनभर कार्यालयमा बस्न थालेका छन् । अनुगमन टोलीले समयमा नै कार्यालयमा उपस्थित नहुने कर्मचारीहरूको हाजिरमा रातो लगाउन थालेपछि कर्मचारीहरू तोकिएको समयमा नै हाजिर हुन थालेका हुन् । यस्तै सरकारी पोशाक र परिचयपत्रमा मात्र कार्यालयमा आउन सतर्कताले चेतावनी दिएपछि कतिपय कर्मचारीहरूले रातारात सरकारी पोशाक सिलाउन थालेका छन् ।
सतर्कता केन्द्रका उप–सचिव शेरबहादुर ढुङ्गानाको नेतृत्वमा आएको टोलीले बिहीवार मात्र जिल्लामा रहेका एक दर्जन भन्दा बढी सरकारी कार्यालयमा छापा मारेको छ । सो क्रममा जिल्लामा रहेका अधिकांश क्षेत्रीय कार्यालयका प्रमुखहरू भेटिएनन् । सह–सचिव र उप–सचिव तहका कर्मचारीहरूले नेतृत्व गर्ने अधिकांश क्षेत्रीय कार्यालयहरू नासु र खरिदारको भरमा रहेको पाइएको छ । कार्यालयमा प्रमुख नभएको र सतर्कताको टोलीले दिनहुँ आएर अनुगमन गर्न थालेपछि कर्मचारीहरूमा भागाभाग सुरु भएको छ । टोलीले कार्यालयमा उपस्थित हुने समय, सरकारी पोशाक र परिचयपत्रमा कडाई गर्न थालेपछि कर्मचारी थरथरी भएका हुन् । हिजोआज टोलीलाई देख्ने बित्तिकै कतिपय कर्मचारीहरू डराउने र लुक्ने गरेका छन् । यस्तै सरकारी पोशाक विना नै कार्यालयमा आएका कतिपय कर्मचारीहरू टोलीलाई देखेपछि भाग्ने गरेका छन्् । अर्कोतर्फ टोलीले दिनहुँ कार्यालयमा छापा मार्न सुरु गरेपछि महिनौदेखि कार्यालयमा नआएका हाकिमहरूलाई कार्यालयमा रहेका अन्य कर्मचारीहरूले फोन गरेर समेत बोलाउन थालेका छन् । यस्तै दिनभरी घाम तापेर चौरमा बस्दै आएका कर्मचारीहरू सतर्कताको डरले कार्यालयभित्र आफ्नो कार्यकक्षमा नै बस्न थालेका छन् ।
सतर्कताको टोलीले सुर्खेतमा तीन दिनदेखि लगातार छापा मारेर कार्यालयमा हाजिर हुन चेतावनी दिएको भए पनि अधिकांश कार्यालयका प्रमुखहरूले त्यसलाई अटेर गरेका छन् । मंगलवार र बुधवार छापा मारेर कार्यालयमा हाजिर हुन टोलीले चेतावनी दिएको भए पनि जिल्लामा रहेका प्रायः क्षेत्रीय कार्यालयका हाकिमहरू कार्यालयमा हाजिर भएका छैनन् । उनीहरूलाई विभागीय कारबाहीका लागि सिफारिस गर्ने तयारी केन्द्रले गरेको छ । यस्तै अनुगमनको क्रममा सरकारी कार्यालयमा व्यापक बेथिति देखिएको टोलीले जानकारी दिएको छ । जिल्ला मालपोत कार्यालयका कर्मचारीहरूले अनुगमनमा गएका सतर्कता केन्द्रका उप–सचिव शेरबहादुर ढुङ्गानासँग नै घुस मागेका थिए । यस्तै क्षेत्रीय वन निर्देशनालयका उप–सचिव अनिरुद्र ठाकुर लामो समयदेखि गयल भएको र निमित्तले पनि अर्कोलाई निमित्त तोकेर गएको पाइएको, अधिकांश कार्यालयमा हाजिर खाली छोडेको, नक्कली काज बनाएर कर्मचारीहरू लामो समयदेखि जिल्ला बाहिर गएको र हाकिमहरू नै नहुँदा सेवाग्राहीहरू मर्कामा परेको सतर्कताले जानकारी दिएको छ । यस्तै अनुगमनका क्रममा क्षेत्रीय सडक निर्देशनालयका प्रमुख मुक्ति गौतमले कार्यालयमा भन्दा काजमा नै बढी समय बिताएको भेटिएको छ ।
गौतम गएको वैशाख यता जम्मा ५२ दिन मात्र कार्यालयमा हाजिर भएको र एक सय ९२ दिन काजमा बसेको पाइएको छ । यस्तै उनले सार्वजनिक बिदाको दिनमा समेत हाजिर गरेको भेटिएको छ ।
सतर्कताका उपसचिव ढुङ्गगानाले दैनिक भत्ताको लोभका कर्मचारीहरू अनावश्यक रूपमा काजमा बस्ने समस्या बढी भएको बताए । जनतालाई सेवा प्रवाह गर्ने कार्यालयका कर्मचारीहरूले व्यापक लापरबाही गरेको पाइएको भन्दै उनले अब उनीहरूलाई कारबाहीका लागि मन्त्रालय र विभागमा सिफारिस गरिने जानकारी दिए । ढुङ्गानाले भने, ‘कर्मचारीले धेरै लापरबाही गरेका छन्, यसले सरकारी सेवा प्रवाहमा समस्या देखियो । हामीले त्यस्ता कर्मचारीको सबै विवरण सङ्कलन गरेका छौं, उनीहरूले कानुनअनुसारको सजाय भोग्नेछन् ।’ सतर्कता केन्द्रले अनुगमन तीव्र बनाएपछि यहाँ कार्यरत सरकारी कर्मचारीहरूमा नयाँ तरङ्ग पैदा भएको छ ।
साझा बिसौनी संवाददाता ।