दृष्टिकोण (कविता)
चाइनिज सामानजस्ता
सस्ता तर लोकप्रिय आश्वासनहरू दिनेहरू
आफूलाई महान र सर्वश्रेष्ठ सम्झिनेहरू
किन यथार्थमा गर्न सक्दैनन् सर्वमान्य कार्य
तर वाक्पटुता देखाउँछन् अरूको निजी मामिलामा
र, ठाडो हस्तक्षेप गर्छन् अरूको सार्वभौमिकतामा ।
अमेरिका !
आफूलाई प्रजातन्त्रको ठेकेदार सम्झन्छ
समानता समावेशिता र स्वतन्त्रताको
वकालत गर्छ
तर खै त नारीको राष्ट्रपतीय उपस्थिति ?
आफूले ग्यास च्याम्बरभित्र
मानवलाई पशु बनाउँदा
अर्काको देशमा बम खसाउँदा मानवाधिकारको
वकालत किन गरिन्न ?
भारत !
जो गोर्खाली बहुलको ‘गोर्खाल्याण्ड’
आन्दोलनलाई दबाउँछ
तर
नेपालीको स्वाभिमान, सार्वभौमिकता
र मर्यादा नाघेर गर्छ
हक अधिकार र समानता तथा समावेशिताका चर्का कुरा
छिमेकी छिमेकी नभइ जब हद नाघ्छ
जब
हाम्रा ‘हनुमान’हरू पनि ‘राम’कै आदेश पर्खन्छन्
तब
लाग्छ दोष त हामीमा पो रहेछ
हामी बेकार ऐनाको सिसा पुछ्ने रहेछौं
धुलो त आफ्नै अनुहारमा पो हुँदो रहेछ ।
मानिस !
जो सिन्को भाँच्न सक्तैनस उसैले पो
अरूको बदख्वाइँ गर्छ
धाकभन्दा धक्कु ठूलो, हिँड्ने बेला खुट्टा लुलो भन्ने
उखान झैं
‘बिजार बोका, छोडुवा राँगो’ अनि ‘उन्मत्त साँढे’ झै
मानवीय निषेध प्रवृत्ति र अहन जब
उम्लन्छ दुध झै, पोखिन्छ पनि ।
पद र प्रतिष्ठाका लागि ‘गणेश’हरू
‘कुमारहरू’ लाई किन दबाउँछन् होला ?
अनि कुर्सी र सत्ताका लागि
देशको स्वाभिमान, मर्यादा र व्यक्तिगत नैतिकतालाई
किन इन्द्र धनुष बनाइन्छ होला
देवतालाई भाकल गरी स्वार्थपूर्ति गर्न
पशुको बली चढाए झैं ?
– वासुदेव पाण्डेय ‘प्रभाकर’
साझा बिसौनी संवाददाता ।