‘पुस्तक ज्ञानको भण्डार हो’

चिन्तामणि शर्मा
अध्यक्ष, पर्यटन विकास मञ्च, सुर्खेत
पुस्तक छनौटकै क्रममा छु 
अहिले त कुनै पुस्तक पढ्ने फुर्सद मिलेको छैन । भर्खर सम्पन्न भएको पर्यटन महोत्सवको काममा व्यस्त भइयो अलि लामो समय । तर अब महोत्सव सकिएसँगै यसको कामको भार पनि कम हुँदै गइरहेको छ र पुस्तकहरू हेर्ने योजनामा छु । पुस्तकहरूको छनौट गर्दैछु ।
लगातार १८ घण्टासम्म पनि पढ्थें
बाल्यकालमा पुस्तकप्रति त्यस्तो अति नै लगाव प्रायः जसो हुन्थेन र पढ्न खोजेर पनि पाइने स्थिति थिएन । तर जब एसएलसी उत्तीर्ण पश्चात् प्रविणतापत्र तह अध्ययन सुरु गरें, त्यसबेला मैले आजसम्मको जीवनकै सबैभन्दा धेरै पुस्तकहरू पढें । त्यसबेला मैले १७÷१८ घण्टा लगातार पढ्थें । त्यसलगत्तै पनि राजधानी अध्ययनको लागि गइयो र त्यता पनि पुस्तकहरू अलि बढी नै पढियो । उतै जागिर सुरु गरिसकेपछि पनि अध्ययन क्रम रोकिएन, चलिरह्यो तर अलि कम नै पढियो इन्टरको भन्दा ।
सशस्त्र द्वन्द्वको परिणाम पुस्तकमा लेखिनुपर्छ 
सशस्त्र द्वन्द्वमा युद्धप्रेरित पुस्तकहरू बढी लेखिन्छ । संसारभरी नै यसो हुने गर्दछ । युद्धको समयमा ‘वीर रस’ मा साहित्यहरू बढी लेखिन्छन् । त्यस्ता पुस्तकहरूमा सत्यता त हुन्छ तर अलि–अलि बढाइ चढाइ पनि गरिएको हुन्छ जसले मानिसहरूलाई उत्तेजित बनाउन सकियोस् । केही कुरा बढी नै थपेको भए पनि त्यो त त्यसबेलाको स्थितिको चित्रण गर्न सक्षम हुन्छन् तर त्यसपछिको जुन परिणाम मुलुकले भोगेको छ, त्यस्ता परिणामको सकारात्मक र नकारात्मक दुवै मूल्याङ्कन गरी पुस्तकहरू लेखिनुपर्छ ।
मन परेको पात्रः बुढो माझी
‘द वल्र्ड म्यान एण्ड द सी’ को मुख्य पात्र त्यो बुढो माझी जो सधैं आफ्नो कार्यप्रति प्रतिबद्ध हुन्छ । जसले जीवनमा जतिसुकै अप्ठ्यारा परिस्थिति आउन, जस्तो अवस्थाको सामना गर्न सक्षम हुन्छ, आफूले गर्दै आएको काम र गर्न खोजेको काममा कहिल्यै विश्राम लिनु हँुदैन भन्ने सन्देश दिन खोजेको हुन्छ । जव बुढो माझीले माछा भेट्टाउँछ, उसले आफूसम्म ल्याइपु¥याँउदा त्यो माछा अन्य जीवले सकाइसकेका हुन्छन् तर पनि ऊ आफ्नो कर्ममा विचलित हुँदैन । मानिस भएर जन्मेपछि सङ्घर्ष गर्नुपर्छ र उसले त्यो सङ्घर्ष केही खास प्राप्तिमा गएर रोकिनुहुन्न, त्यो त निरन्तर हुनपर्छ भन्ने सन्देश दिन खोजेको त्यो बुढो माझी मलाई आजसम्म सबैभन्दा बढी मन परेको र प्रभाव पार्न सफल पात्र हो ।
मेरो विचारमा पुस्तक ज्ञान हो 
पुस्तक वास्तवमा अनुभव, अनुभूति, सिकाइ र कल्पनामा लेखिने कुरा हो । पुस्तकको आफ्नै उद्देश्य हुन्छ । समग्रमा पुस्तक ज्ञान हो । पुस्तक केही न केही प्रतिको सार हो, टिप्पणी हो ।
प्रकृति र मानवको अन्तरसम्बन्ध बुझाउने पुस्तक लेखिनुपर्छ 
अब समयअनुसार पुस्तकहरू लेखिने प्रवृति फरक हुँदै जान्छ नै । पहिले पनि लेखिने अधिकांश पुस्तकहरू प्रकृति र मानव बीचको सह–सम्बन्धको बारेमा हुन्थे र आवश्यकता पनि थियो र हो पनि  । अबका दिनहरूमा पनि प्रकृतिको बारेमा मानवलाई बुझाउने र पुस्तकले प्रकृति र मानवबीचको सम्बन्ध सहज बनाउने गरी योगदान गर्नसक्ने पुस्तकहरू लेखिनुपर्छ जस्तो लाग्छ । अब लेखिने पुस्तकहरूले प्रकृति र मानवबीचको अन्तरद्वन्द्वलाई प्रकाशमा ल्याइ यसलाई सहज सम्बन्ध विकासको निमित्त योगदान गर्न सक्नुपर्दछ ।
मन परेका पाँच पुस्तक
मुनामदन (लक्ष्मीप्रसाद देवकोटा )
सेतो बाघ (डायमण्ड शमसेर)
द वल्र्ड म्यान एण्ड द सी (इमेस्ट हेमिङवे)
मदर (मेक्सिम गोर्की)
गौरी (माधव घिमिरे)
मन परेका पाँच लेखक 
लक्ष्मीप्रसाद देवकोटा
माधव घिमिरे
खगेन्द्र संग्रौला
युवराज गौतम
हेमिङ वे
प्रकाशित मितिः   ९ माघ २०७२, शनिबार १०:५७