युनिभर्सिटी (कथा)

दिनेश गौतम
नाम ः आशिष भट्टराई । घर ः झापा । 
पढ्ने ः कमर्श ? नो, नो म्यानेजमेन्ट । रुचि ः हाँस्ने, जोक्स सुन्ने, सुनाउने । उद्देश्य ः जोकर अर्थात् जोक्सम्यान बन्ने । 
….
नाम ः नेहारिका शर्मा । घर ः पोखरा । पढ्ने ः 
साइन्स । रुचि ः कविता लेख्ने । उद्देश्य ः कवि बन्ने । 
….
नाम ः प्रोफेसर दिक्षित । घर ः यहीं काठमाडौं । पढ्ने ः पीएचडी सकिएको । रुचि ः पढाउने । उद्देश्य ः समाप्त । 
….
कार्यक्रम ः खुला परिचयात्मक कार्यक्रम । आयोजक ः स्ववियु । उद्देश्य ः केटीको नाम थाहा पाउने (म गलत पनि हुन सक्छु ।)
परिचय श्रृंखला सकियो । नबुझ्नेहरूलाई के भन्नु, बुझ्नेहरूले बुझ्न । युनिभर्सिटीमा जोक्स सुनाउन म्यानेजमेन्ट पढ्न आएको केटो र कवि बन्नकै लागि साइन्स पढ्न आएकी केटी, ह्वाट अ केमेस्ट्री । साइन्स रिलेटेड केमेस्ट्री होइन्, कस्तो मिलेको भन्न खोजेको । 
‘नमस्कार । मेरो नाम आशिष भट्टराई हो । मेरो घर झापा हो । म यस विश्वविद्यालयमा व्यवस्थापन विषय अध्ययन गर्छु’ भन्न जानेन मिस्टर भट्टराईले । नजानेको पनि होइन होला, सायद भन्न चाहेन । १३ वर्ष (एसएलसीमा एक वर्ष व्याक अङ्ग्रेजी, जनसंख्या र सामाजिक लागेर) मा फस्र्ट डिभिजनदेखि थर्ड डिभिजनसम्म १२ क्लास पास गरेको उसले अङ्ग्रेजी देखाउनै पर्ने थियो सायद ।
भन्दियो, ‘हाइ । आइ एम आशिष भट्टराई फर्म झापा, स्टडिङ्ग कमर्श नो, नो म्यानेजमेन्ट । माइ हब्बी इज जोकिङ्ग ।’
सबैले जोक सम्झे । गलल्ल हाँसे ।
ग्रामर अलि मिलेन कि ? भै गो, म्यानेजमेन्टमा यतिको ग्रामरलाई महान नै मान्नुपर्छ । 
केटीहरूको परिचय क्रम चल्दै थियो । चौथो बेञ्चको पाँचौं सीटमा बसेकी चेप्टो चश्मा (उसको आँखा कमजोर नहुन पनि सक्थ्यो) लगाएकी केटी उठी । 
भनि, ‘मेरो नाम नेहारिका शर्मा हो । म काठमाडौंदेखि पश्चिममा पर्ने अत्यन्त सुन्दर सहर पोखराबाट यहाँ विज्ञान विषय अध्ययनको लागि आएकी हुँ । म कविताप्रति अत्यन्त रुचि राख्दछु । म कवि बन्न चाहन्छु ।’ (उसले साइन्स पढेर ठीकै गरी ? जो कवि बन्न चाहन्छे ।)
एक, दुई, तीन गर्दै परिचय कार्यक्रम सकियो । स्ववियुको चिया बिस्कुट पनि सकियो । केटाहरूको नजर बांगियो । केटीहरूको चश्मा बांगियो । प्रोफेसर दिक्षितको टाउको बांगियो । सबै गेटबाट बाहिर निस्किए । आज अरु केही पढाइ नै भएन, जो स्ववियुको कार्यक्रम थियो । 
प्रदिप्त (थर थाहा छैन) म्यानेजमेन्ट पढ्ने एउटा महामहिम चिया पसलमा थचक्क बस्यो । ऊ चुरोट ‘म्यानेजमेन्ट’ गर्न खोज्दै थियो । भन्यो, ‘मिस्टर भट्टराई उफ् जोकर, तिमी किन मेरी बाँस्सैमा खेल्न गएनौ ? म्यानेजमेन्ट पढ्न आयौ ? यो डेबिट क्रेडिटमा तिम्रो जिन्दगी सधैं क्रडिट (उधारो)मा बित्नेछ  ।’ 
मिस्टर भट्टराई पनि थुचुक्क बस्यो । चिया मगायो । भन्यो, ‘के म जोकर हुँ ?’
मिस्टर प्रदिप्त ः ‘मैले होइन चाँहि भन्दिन है’ 
मिस्टर भट्टराई ः ‘के तिम्रा दाँतहरू कम्प्लेट (फेरि अङ्ग्रेजी) छन् ?’ 
मिस्टर प्रदिप्त ः ‘किन पेप्सुडेन्टको एड कमेडी थिममा बनाउन लाग्यौं कि ?’ 
मिस्टर भट्टराइ ः ‘होइन मिस्टर प्रदिप्त, तपाईंका कति वटा दाँत झराल्दा भैंसीको मासु चपाउन मिल्दैन भनेर हिसाब गर्न खोजेको, वेवकुफ कहीं को ।’  
त्यो दिन त्यतिकै गयो । 
……
प्रदिप्त र मिस्टर भट्टराईको एउटै विषय 
(म्यानेजमेन्ट), एउटै क्लास (फस्र्ट इएर, सेक्सन डी), एउटै बेन्च (लास्ट वेन्च) थियो ।
‘त्यो चश्मा लाउने केटी चाहिँ हो के ।’ 
परिचय कार्यक्रमको भोलिपल्ट विश्वविद्यालयको गेट नजिकै पुग्दा प्रदिप्तले भनेको थियो  । 
मिस्टर भट्टराई ः ‘के हो ?’ 
मिस्टर प्रदिप्त ः ‘साहित्यकार भनेको यार । क्या सन्की छौ भट्टराई । त्यसको नामै लिन हुन्न त यार, झनक्क हुन्छांै । चश्मा फुत्काएर कविता सुनाउन लगाउने विचार छ कि क्या हो ?’ 
मिस्टर भट्टराई ः ‘सी इज गुड गर्ल । त्यस्ता विज्ञान (बीएस्सी) पढेर कवि बन्ने महान् युवाहरूको अभाव छ यो देशमा ।’ 
मिस्टर प्रदिप्त ः ‘हो महोदय । अझ यो देशले युनिभर्सिटीमा म्यानेजमेन्ट पढेर जोकर बन्नेबाट धेरै नै अपेक्षा गरेको छ ।’ 
प्रदिप्तले पेप्सुडेन्ट (नहुन पनि सक्छ)ले माझेको दाँत देखाउछ, हाँस्छ । भट्टराईले ओखती साबुन 
(नहुन पनि सक्छ) ले धोएको निधार खुम्चाउँछ, रिसाँउछ । 
एकछिन रोकिएपछि मिस्टर भट्टराई भन्छ,
‘भैगो वर्ता कुरा नगर । दिक्षित बुढो छिरिसकेछ । पछाडिको ढोकाबाट हिँड । अगाडिबाट त लास्ट इन्सल्ट गरे जस्तो हुन्छ ।’
दुवै क्लास भित्र छिरे । त्यसको करिब पन्ध्र मिनेपछि  (उनीहरूले त्यो पिरेडसम्म पनि पूरा पढेनन्) क्यान्टिनमा ः
प्रदिप्तले ढोकातिर देखाउँदै भन्यो, 
‘ओइ जोकर सरिसरि मिस्टर भट्टराई, हेर कवि फ्रम साइन्स । भविष्यमा दरो साइन्टिस्ट कवि हुने भइ यार, कविता त यस्तो हुन्छ होला,
हाइड्रोजन र अक्सिजन मिलेर,
एच टू व अर्थात् पानी बनेझँै,
तिमी र म मिलेर,
के बन्छ ? 
एक प्रेम ? 
एक इक्वेशन ?
अथवा एक बच्चा ?’
मिस्टर प्रदिप्त यति भनेर आफैं हाँस्यो । उसलाई आफैंले भनेको कुरा अत्यन्तै चित्त बुझेको हुनुपर्छ । 
  क्यान्टिनको अगाडिको ढोकाबाट छिरेका तीन केटी एक (हात्ती जस्तै मोटी), दुई (जिराफ जस्तै अग्ली) र तीन त्यहि कवि फम साइन्स अर्थात् नेहारिका उनीहरूको नजिकै आइपुगे । उनीहरूको टेबलमा (तर अर्काेबेन्चमा) आएर बसे । कारण प्रष्ट छ, अरु सबै प्याक थियो । स्थान त त्यही त हो नि, युनिभर्सिटीको क्यान्टिन ।
केटाहरू केटीसँग बोल्न अप्ठ्यारो मान्ने भनेको पहिलोपल्ट मात्रै हो । त्यसपछि त कुरै नगरम ।
‘मलाई यी चश्मा लाउने केटीहरू देख्यो कि साइन्स पढ्छन् जस्तो लाग्छ ।’
नेहारिका तर्फ नफर्किएर (फर्कन नचाहेर होइन, फर्कन नसकेर) आशिष भट्टराईले भन्यो । 
‘मलाई पनि आवश्यकताभन्दा बढी प्रशंसा वा चेपारे पारेर कुरा ग¥यो कि, ती म्यानेजमेन्ट पढ्छन् जस्तो लाग्छ ।’ 
नेहारिकाले यो भन्दै गर्दा मिस्टर भट्टराई एक्लै थियो । मिस्टर प्रदिप्त त्यो टेबुलमा नआउँदै नेहारिका र उसको साथीहरूसँग धेरै कुरा सक्नुपर्ने थियो, जोे अवसर मिलेको थियो । मिस्टर प्रदिप्त (चुरोटको एक नम्बर अम्मली) भित्र सेक्रेट रुममा गएको थियो, कारण त्यही हो, त्यहाँ चुरोट खाने, धुँवा उडाउन एलाउड थिएन ।
‘ए तपाईं र म साथी हुन सक्छौं नि ?’ एउटा अस्वभाविक मानिने प्रश्न गर्न मिस्टर भट्टराईले निकै हिम्मत जुटाउनु परेको थियो । सायद उसको हृदयको गति उच्च दरमा पुगेको हुँदो हो । मिस्टर प्रदिप्त आइसकेको थिएन, त्यसैले पनि धेरै कुरा सकाउन थियो । मिस्टर प्रदिप्त (उसका अनुसार आठ क्लास देखिनै लभ गर्न थालेको) र मिस्टर भट्टराई (आजसम्म गर्लफ्रेन्ड बनाउन नसकेको) को बीचमा सायद यही प्रेमको विषयमा कुरा मिल्दैनथ्यो । 
नेहारिका ः ‘ए म मात्रै ? यी मेरा साथीहरू नि ?’ 
आशिष  ः ‘स्योर । उहाँहरू पनि ।’  अलि मधुरो बोल्यो । सायद जवाफ अरु केही चाहन्थ्यो । 
एकदिन बित्यो, दई दिन बित्यो, केयौं दिन बित्यो, महिना दिन बित्यो । सायद साइन्स भर्सेस म्यानेजमेन्टको सम्बन्ध गजब बन्यो ।  कवि र जोकको केमेस्ट्री (नट रिलेटेड बिथ साइन्स) मिल्यो । अब तपार्इं भट्टराई र नेहारिकालाई प्रेमि प्रेमिकाको रूपमा देख्न पाउनु हुने भयो, जतिबेला पनि सँगै, जहाँ पनि सँगै, जस्तो अवस्थामा पनि सँगै । सायद ‘व्यवस्थापन वैज्ञानिक किसिमको हुनुपर्दछ’ भनेको यही होला । के रहेछ, एफ डब्लू टेलरलाई सोधौंला, उनी सबै जान्छन् । उनीहरूको सम्बन्ध रहिरहेको समयमा के–के भयो वा के–के भएन ? त्यसतर्फ नजाऔं, तपाईं आफै बुझ्नुस् र बुझ्नुस् उनीहरू अफेयरमा रहे निकै लामो समयमा सम्म । ….
यसबीचमा मिस्टर प्रदिप्त (म्यानेजमेन्टको विद्यार्थी) कृषि कामदारको रूपमा इजरायल पुग्यो । दुःख लाग्छ, प्रोफेसर दिक्षित अब यो संसारमा 
रहेनन् । गत महिना मात्रै हर्टअट्याकबाट उनको निधन भयो । युनिभर्सिटी, जहाँ महिनामा ४ हप्तामध्ये ३ हप्ता ताला लाग्छ । क्यान्टिन, जहाँ चुरोटको धुँवा उडाउन सेक्रेट रुममा जानु पर्दैन, सबै ओपन छ । अब तपाईंलाई लाग्ला, मिस्टर आशिष भट्टराई फर्म झापा र नेहारिका शर्मा फर्म पोखराको बीचमा के भयो ? कहाँ गए ? कहाँ छन् ? विवाह भयो ? भयो भने छोराछोरी कति छन् ? भएन भने किन भएन ? भैगो, प्रश्नहरूलाई यहिँ थाँती राख्नुस् । 
विवाहको लागि मंसिर नै खोज्नु, नभए वैशाख रोज्नु भन्छन् । विवाहको तयारी भयो । दुवैको घरबाट मन्जुरी भो । केटीका बाआमा अलि विन्ठिए, केटो बेरोजगार भयो भनेर । उनकी छोरी पनि त बेरोजगार थिइ । सायद सरकारी जागीरधारी खोजेका हुँदा हुन् । दुवैको व्याचलर इनकम्प्लेट भयो, लभ कम्प्लेट भयो । भट्टराईलाई सेगेन्ड इएरमा दुईवटा व्याक र शर्मालाई थर्ड इएरको एउटा व्याक । 
झापामा विवाहको तयारी चल्यो । दुलहीको घर पोखरा भए पनि विवाह काठमाडौंमा रहेको उसको काकाको घरबाट नै हुने भयो । काठमाडौंमा पनि धुमधामको तयारी चल्यो । १३ गते बिहान १० बजे जन्ती काठमाडौं आइपुग्ने भए । सकेसम्म त्यही साँझ फर्किने भए । केटीको तर्फबाट नेहारिकाका साथीहरू (हात्ती र जिराफ ः माफ गर्नुहोला) झापा जाने भए । मिस्टर प्रदिप्त इजरायलबाट विवाहकै लागि नेपाल आउन सकेन । उसले स्काइपमै हेर्ला विवाह । 
भट्टराई आतुर थियो भिœयाउन उसको घरमा शर्मालाई । शर्मा आतुर थिइ बुहारी बन्नलाई भट्टराई परिवारको । काठमाडौं पश्चिम र काठमाडौं पूर्वको सम्बन्ध बन्दै थियो । करिब साढे तीन वर्षको प्रेम सफल हुँदै थियो, यदि विवाहलाई नै प्रेमको सफलताको रूपमा हेर्ने हो भने । बुझ्नुस् न, म्यानेजमेन्ट र साइन्सको विवाह हुँदै थियो । कवि र जोकर जोडी बन्दै थिए । जताततै हर्ष, जताततै उमंग थियो । उनीहरूले युनिभर्सिटी बिर्सिसकेका थिए, अर्काे वर्षको लागि व्याक पेपरको फर्म भर्न जाँदा सम्झेलान् । युनिभर्सिटीले त झनै उनीहरूलाई सम्झिने कुरै भएन । 
विवाहको तयारी धुमधाम तथा तीव्र गतिमा चलिरहेको तीन दिनको बीचमा के भयो ? अनुमान गर्नुस् । तपाईं सही हुन सक्नुहुन्छ, अब विवाह कहिल्यै हुन नसक्ने गरी सकिएको थियो, नभएरै । विवाह गर्ने एउटा पक्ष कतै हराएको थियो । साइन्स पक्ष साइन्सले पत्ता लगाउन नसक्ने कारणबाटै समाप्त भयो । कवि साँच्चै कवि बन्न पाइन र सुनाउन पाइन भट्टराईलाई हाइड्रोजन र अक्सिजनको कविता । अब केही रहेन, अब केही छैन । 
तीन चारदिनपछि मिस्टर प्रदिप्तले ल्यापटप खोल्यो । फेसबुक खोल्यो । म्यासेजमा रातो देख्यो । युनिभर्सिटीमा सँगै पढ्ने नेहारिका शर्माकी मोटी साथीको म्यासेज थियो, 
‘ह्वाट ह्यापन्ड प्रदिप्त ? अब नेहारिका यो संसारमा रहिन । वैशाख १२ बाट ऊ हामीसँग छैन । सायद कतै टाढा पुगेकी छ । अवस्था बेहाल छ प्रदिप्त यता, तिमी नेपाल फर्कदा तिम्रो, मेरो र सबैको प्यारो आशिष भट्टराईलाई काठमाडौंको कुनै गल्लीमा रुँदै हिडिँरहेको पाउनेछौं । आइ एम सरी फर दिस, ऊ अब हामीलाई चिन्न नसक्ने भइसकेको छ, हिज मेमोरि इज कम्प्लेट्ली लस्ड ।’ म्यासेजको रातो चिन्ह हट्यो । मिस्टर प्रदिप्त ड्याङ्ग ओछ्यानमा ढल्यो । सायद अब ऊ पनि सपना देख्नसक्ने छैन ।
प्रकाशित मितिः   ९ माघ २०७२, शनिबार ११:०१