महिलामाथि निरन्तर हिंसा

हिंसा न्यूनिकरण गर्न कानुनी सचेतना

 

सुर्खेत: कर्णालीमा बढ्दो हिंसा न्यूनिकरण गर्नका लागि कानुनी सचेतनाको अभाव देखिएको छ । संविधानमा व्यवस्था गरिएको भएपनि नागरिकलाई जानकारी नहुँदा त्यसको असर समाजमा बढ्दो छ । घरेलु हिंसाका कारण दिनप्रतिदिन हत्या–हिंसाका घटना बढ्दै गएका छन् ।

शिक्षित परिवारमा पनि यसको समस्या धेरै नै देखिएको छ । कानुनी अज्ञानताका कारण अहिले पनि महिलाहरू हिंसा सहेर बस्न बाध्य भएका छन् । तीन तहकै सरकारको प्राथमिकतामा पूर्वाधार निर्माण परेको छ । त्यसैले सरकारले सामाजिक समस्याका बारेमा ध्यान नै नदिएको गुनासो आउने गरेको छ । हिंसा न्यूनिकरण गर्नका लागि कानुनी सचेतनामा जोड दिनुपर्ने आवाज संस्थाका कार्यकारी निर्देशक पवित्रा शाहीले बताइन् । अहिले पनि संस्थाले हिंसामा परेका महिला तथा बालबालिकाहरूलाई सहयोग गर्दै आएको छ । घरेलु हिंसाका कारण महिला तथा बालबालिका बढी प्रभावित बनेको शाहीको भनाइ छ । महिलाहरू बढी श्रीमानबाट असुरक्षित रहेको पाइएको उनले जनाइन् । बाबुआमाको सम्बन्ध विच्छेद हुँदा बालबालिका बेसहारा हुने, कुलतमा लाग्ने लगायतका घटना बढिरहेका छन् ।

महिला सशक्तिकरण मञ्च नेपालले करिब ५० प्रतिशत महिला घरेलु हिंसाको सिकार बनेको जनाएको छ । समुदायमा कानुनी अज्ञानताका कारण बहुविवाह, बालविवाह, घरेलुहिंसालगायतका घटना भइरहेको महिला सशक्तिकरण मञ्च नेपालका कार्यकारी निर्देशक लक्ष्मी जिसीले बताइन् । तीन तहकै सरकारको प्राथमिकतामा सामाजिक विषय पर्न नसकेका कारण गाउँघरमा हिंसामा बढोत्तरी भइरहेको उनको भनाइ छ । हिंसा न्यूनिकरणका लागि सरकारले विशेष योजना निर्माण गर्नुपर्नेमा उनको जोड रहेको छ । समुदायस्तरमा कानुनी चेतना नहुँदा हिंसा बढेको भएपनि सरकारले त्यसप्रति चासो नदिएको पाइएको छ ।

कर्णाली प्रदेश सरकारले हिंसा न्यूनिकरण गर्न कानुनी सचेतनाका कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने जनाएको छ । मानव अधिकारको सम्मान संरक्षण र प्रवद्र्धन गर्न तीन तहकै सरकार विकास साझेदार र गैरसरकारी संस्थासँग समन्वय र सहकार्य गरेर कार्यक्रम कार्यान्वयन गर्ने जनाएको छ । सामाजिक मूल्य मान्यताका नाममा पनि हिंसा बढिरहेको सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले बताएका छन् । हिंसाको प्रमुख कारण सामाजिक मूल्य मान्यता, कानुनी अज्ञानता र अशिक्षा रहेको पाइएको उनको भनाइ छ । सरकारले विशेष योजना निर्माण गरेर स्थानीय सरकारसँगको सहकार्यमा समुदायस्तरमा कानुनी सचेतनाका कार्यक्रममा जोड दिइएको उनको भनाइ छ ।

महिलाहरू घरभित्रका अर्थात् पुरुषले गरेका साधारण कुटपिट, अत्याचार र गालीगलौजलाई दैनिक रूपमा लिने गरेको र प्रतिकार गर्दा मृत्युको सिकार भइरहेका छन् । साउन २१ गते सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१३ करेखोलामा बस्दै आएका दानसिंह ठाडाले श्रीमतीको हत्या गरे । ४२ वर्षीय ठाडाले चिर्पटले हानेर ४१ वर्षीय रविना थापाको हत्या गरेका हुन् । यस्तै गत असार १७ गते रूकुमपश्चिमको चौरजहारी नगरपालिका–३ टाटागाउँका ३२ वर्षीय चन्द्रबहादुर बुढाथोकीले पनि आफ्नी ३० वर्षीया श्रीमती देविकाको हत्या गरेका थिए । घरेलु विवादकै कारण देविका बुढाथोकीको श्रीमानबाट हत्या भएको हो । खुकुरी प्रहार गरी श्रीमतिको हत्या गरेका चन्द्रलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यसअघि गत वैशाखमा सुर्खेतकै छिञ्चुमा श्रीमानबाटै प्रेमा ओलीको हत्या भयो । भेरीगंगा नगरपालिका–१२ को डम्पिङ साइट नजिक खोल्सामा डुबेको अवस्थामा ओलीको शव भेटिएको थियो । प्रेमाको हत्या उनका श्रीमान जक्सन खत्रीले गरेका हुन् । श्रीमानले पठाएको सामान लिन भन्दै गुर्भाकोटबाट छिञ्चु पुगेकी प्रेमाको शव फेला परेको थियो । कर्णालीका तीनजना महिलाले आफ्नै श्रीमानबाट ज्यान गुमाए । पारिवारिक विवाद वा झैझगडा घरेलु हिंसा हुँदै हत्याजस्ता जघन्य अपराधसम्म पुग्ने गरेका प्रतिनिधि घटना हुन्, यी ।

विगतदेखि नै कर्णाली प्रदेशमा महिलामाथि हुने हिंसाका घटना उल्लेख्य छन् । हिंसाका घटना बढ्दै जाँदा हत्यासमेत हुने गरेका छन्, जसको सिकार महिलाहरू भइरहेका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार पछिल्ला तीन वर्षमा २४ जना महिलाले आफ्नै श्रीमानको हातबाट ज्यान गुमाएका छन् । विगत चार वर्षको तथ्यांक विश्लेषण गर्दा लैङ्गिक तथा घरेलु हिंसाका घटनाको ग्राफ निरन्तर बढेको पाइएको छ । हिंसाको प्रतिकार गर्दा महिलाको ज्यान नै जाने गरेको छ ।

प्रकाशित मितिः   २४ आश्विन २०८२, शुक्रबार १२:११