१२ स्थानको परिणाम आउन बाँकी, ५ वटामा एमाले अघि

पहिलो चरणमा ३४ जिल्लाका २ सय ८३ स्थानीय तहमा भएको निर्वाचनमध्ये अब १२ वटा स्थानीय तहको अन्तिम नतिजा आउन बाँकी छ ।  २ सय ७१ स्थानको भने मत परिणाम सार्वजनिक भइसकेको छ। जसमध्ये नेकपा एमालेले ११४ स्थानमा विजय हाशिल गरेको छ भने नेपाली कांग्रेसले १०४ स्थानमा जितेको छ।

यस्तै माओवादी केन्द्रले ४६ स्थानमा जितेको छ। नेमकिपा, नयाँ शक्ति, राजमोले एक/एक स्थानमा जित्दा स्वतन्त्र उम्मेद्वारले तीन ठाउँबाट विजयी भएका छन्। अब १२ स्थानको अन्तिम नतिजा आउन बाँकी छ।

यो समाचार तयार पार्दासम्म काठमाडौँका तीन स्थानको मत परिणाम आएको छैन । महानगरसहितका कागेश्वरी, बूढानीलकण्ठ नगरमा मतगणना जारी छ । यस्तै भक्तपुरमा मध्यपुर थिमी र चाँगुनारायणको नतिजा आउन बाँकी छ। विवादका कारण चाँगुको गणना शनिबार साँझदेखि रोकिए पनि सुचारु हुन सकेको छैन। ललितपुरमा अब महानगरबाहेकका सबै स्थानको नतिजा प्राप्त भइसकेको छ।

कास्कीको पोखरा लेखनाथ महानगर, चितवनको भरतपुर महानगर र खैरहनी नगरको मत परिणाम आएको छैन। मकवानपुरको हेटौँडा उपमहानगरको मत परिणाम आएको छैन। हेटौँडामा मतगणना जारी छ।

दोलखाको मेलुङ र कालीकोटको नरहरिनाथ गाउँपालिकाको मत परिणाम आएको छैन। दोलखाको मेलुङ र कालीकोटको नरहरिनाथमा आइतबारमात्रै एकरएक मतदान केन्द्रमा पुनः मतदान भएको हो।

प्रकाशित मितिः   ८ जेष्ठ २०७४, सोमबार १२:०३