वीरेन्द्रनगरमा तीस वर्षपछि कांग्रेसको ‘कमब्याक’

नेपाली उखान छ, ‘१२ वर्षमा त खोलो पनि फर्किन्छ ।’ तर नेपाली कांग्रेसलाई वीरेन्द्रनगरमा आफ्नो गुमेको साख फर्काउन ल्याउन ३० वर्ष कुर्नुप¥यो । वैशाख ३१ मा भएको स्थानीयतहको निर्वाचनमार्फत् वीरेन्द्रनगरमा कांग्रेसले गुमेको साख फिर्ता ल्याएको हो । नेकपा एमालेको गढमा बाजी मार्दै कांग्रेसले वीरेन्द्रनगरमा तीस वर्षपछि ‘कमब्याक’ गरेको छ ।

लगातार तीन पटक वीरेन्द्रनगरमा विजय हासिल गरेर ‘ह्याट्रिक’ गर्ने दाउमा रहेको एमालेलाई जिल्याउँदै नेपाली कांग्रेसका देवकुमार सुवेदीले वीरेन्द्रनगरको प्रमुख (मेयर) मा जीत हासिल गरे । वि.सं. २०४४ सालमा भएको पञ्चायतको स्थानीयतहको निर्वाचनपछि वीरेन्द्रनगरमा नेपाली कांग्रेसले पहिलो पटक यसपटकको स्थानीयतहको निर्वाचनमा विजय हात पारेको हो । २०४४ मा नेपाली कांग्रेसका पूर्णबहादुर खड्काले नगरपालिकामा जीत हात पारेका थिए । त्यतिबेला उनले पञ्चहरूविरुद्ध एक हजार दुई सय ११ मत प्राप्त गरेर नगरप्रमुख पदमा विजय प्राप्त गरे । पञ्चविरुद्ध वीरेन्द्रनगरमा जीत हासिल गरेको कांग्रेसले त्यसयता वीरेन्द्रनगरमा आफ्नो पकड जमाउन सकेन । त्यस पछाडि भने वीरेन्द्रनगरमा एमालेले बाजी मार्दै आएको थियो । एमालेको गढलाई चिर्दै यसपटक भने कांग्रेसले बाजी मारेको छ । २०५४ मा मेयर भइसकेका
एमालेका उम्मेदवार बालाराम शर्मालाई पाँच सय ६ मतको अन्तरले पराजित गर्दै कांग्रेसका देवकुमार सुवेदीले वीरेन्द्रनगरको नेतृत्व हात पारेका छन् ।

प्रदेश नम्बर ६ को सबैभन्दा ठूलो वीरेन्द्रनगर नगरपालिमा जीत हात पारेपछि यतिबेला कांग्रेसका नेता तथा कार्यकर्तामा खुशीयाली छाएको छ । प्रदेश नम्बर ६ को सम्भावित राजधानीको रूपमा समेत हेरिएको वीरेन्द्रनगर नगरपालिमा सबैले अत्याधिक चासोका साथ लिएका थिए । प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) ले पनि वीरेन्द्रनगरलाई आफ्नो प्रतिष्ठाको लडाईंको रूपमा लिएका थिए । अन्ततः ६ वटा वडासहित नगरप्रमुखमा कांग्रेसले बाजी मारेको छ ।

एमालेलाई धक्का
बीस वर्षपछि भएको यसपटकको स्थानीय निर्वाचनले वीरेन्द्रनगरमा सबैभन्दा ठूलो धक्का एमालेले व्यहोरेको छ । यसअघिको निर्वाचनमा लगातार दुई पटक विजय हासिल गरेको र आफ्नो पार्टीको पकड क्षेत्रको रूपमा रहेको वीरेन्द्रनगरको प्रमुखमा पराजित भएपछि एमालेलाई धक्का लागेको हो । वीरेन्द्रनगरको उप–प्रमुखसहित बहुमत ९ वटा वडामा जीत हात पारे पनि प्रमुख गुमेपछि एमाले नेता तथा कार्यकर्तामा निराशा छाएको छ ।

वि.सं. २०४९ र ०५४ मा भएका स्थानीय निर्वाचनमा दुवै पटक प्रमुख र उप–प्रमुखसहित बहुमत वडा एमालेले जितेको थियो । २०४९ मा जिल्लाको ५९ प्रतिशतभन्दा बढी कांग्रेसले जित्दा पनि वीरेन्द्रनगर भने एमालेले जितेको थियो । नगर प्रमुखमा यामलाल कँडेल र उप–प्रमुखमा शिवप्रसाद उपाध्याय निर्वाचित भएका थिए । त्यस्तै २०५४ मा पनि वीरेन्द्रनगरमा एमालेले नै जीत हात पा¥यो । जसमा बालाराम शर्माले प्रमुख र शिवप्रसाद उपाध्यायले उप–प्रमुख जितेका थिए । आफ्नो साख गुम्न नदिने रणनीतिका साथ अनुभवी र सबैका साझा नेताको पहिचान बनाएका उनै शर्मालाई यसपटक उम्मेदवार बनाएको एमालेले पराजय व्यहोरेको छ । उप–प्रमुखसहित नौ वटा वडा जित्दा पनि नगरप्रमुख एमालेले गुमाउन पुगेको छ ।

प्रतिस्पर्धामा सधैं कांग्रेस–एमाले
राष्ट्रिय राजनीतिमा जस्तै सुर्खेतमा पनि हरेक निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेबीच प्रतिस्पर्धा हुने गरेको छ । २०४९ र २०५४ को स्थानीय निकायको निर्वाचन होस् या २०४८ र २०५६ को आम निर्वाचन तथा २०५१ को मद्यावधि निर्वाचन, सधैं कांग्रेस र एमालेबीच नै मुख्य प्रतिस्पर्धा हुने गरेका छन् । त्यस्तै दुई पटक भएको संविधानसभा निर्वाचनदेखि यस पटकको स्थानीयतह निर्वाचनमा पनि सुर्खेतमा कांग्रेस र एमाले नै मुख्य प्रतिस्पर्धी रहे ।

२०४८ को आम निर्वाचनमा दुई वटा निर्वाचन क्षेत्र रहेको सुर्खेतमा दुवै क्षेत्रमा कांग्रेसले जीत हात पार्दा दोस्रोमा एमाले थियो । २०५१ को मद्यावधि निर्वाचन हुँदा सुर्खेतमा तीन वटा निर्वाचन क्षेत्र बनाइए । तीन मध्ये दुई वटामा कांग्रेसले जित्यो भने एउटामा एमालेले । कांग्रेसले जितेका दुवै क्षेत्रमा दोस्रो स्थानमा एमाले थियो भने मतअन्तर पनि न्यून थियो । २०५६ को आम निर्वाचनमा तीन वटै निर्वाचन क्षेत्रमा कांग्रेसले बाजी मार्दा दोस्रोमा एमाले नै थियो ।

त्यतिमात्र होइन २०४९ को स्थानीय निर्वाचनमा जिल्लाको ५९ दशमलब ४ प्रतिशत नतिजा कांग्रेसको पोल्टामा जाँदा दोस्रोमा रहेको एमालेले ३२ दशमलब २७ प्रतिशत नतिजा हासिल ग¥यो । यस्तै २०५४ को स्थानीय निर्वाचनमा ६१ दशमलब २६ प्रतिशत नजितासहित एमाले पहिलो हुँदा ३२ दशमलब ३१ प्रतिशत नतिजासहित कांग्रेस दोस्रो बन्यो । संविधानसभाका दुवै निर्वाचनमा पनि कांग्रेस र एमाले नै मुख्य प्रतिस्पर्धी बने भने यसपटकको स्थानीततह निर्वाचनमा पनि कांग्रेस र एमालेलाई अन्य दलले चुनौती दिन सकेनन् ।

प्रकाशित मितिः   ८ जेष्ठ २०७४, सोमबार ११:०६