वीरेन्द्रनगरको नयाँ नेतृत्वले गर्नैपर्ने काम

पहिलो चरणमा प्रदेश नम्बर ३, ४ र ६ मा स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । २० वर्षपछि स्थानीय निर्वाचन भएको हो । यो आलेख तयार पार्ने समयसम्म केही ठूला सहर बाहेक सबै स्थानको नतिजा आइसकेको छ । यो पटकको स्थानीय तहको निर्वाचनमा मतदाताहरूले पार्टी भन्दा पनि व्यक्तिलाई आधार मानेर मत खसालेको मतपरिणामबाट बुझ्न सकिन्छ । सुर्खेतको सन्दर्भमा पनि यो कुरा लागू भएको छ । नेपाली कांग्रेसका युवा नेता देवकुमार सुवेदी वीरेन्द्रनगर नगरपालिकाको मेयरमा निर्वाचित भएका छन् भने न्यायिक समितिको संयोजकसमेत रहने गरी व्यवस्था गरिएको उप–मेयर अर्थात् नगर उप–प्रमुखमा एमालेकी युवा नेतृ मोहनमाया ढकाल निर्वाचित भएकी छन् । उनीहरूलाई मतदाताले विश्वास यो अर्थमा गरेका छन् कि समग्र वीरेन्द्रनगरको कायापलट गर्ने क्षमता उनीहरू दुवैजनामा छ । दुवै जनाको अध्ययन तथा जोश जाँगरसहितको उमेरले पनि मतदाताको विश्वास बढाएको देखिन्छ ।

निर्वाचनको पूर्वसन्ध्यामा मसहित केही साथीहरूको टीम भएर वीरेन्द्रनगरका लगभग सबै वडामा पुग्ने प्रयास गरेको थियौं । हाम्रो मुख्य उद्देश्य थियो जनताको अपेक्षा र उम्मेदवारहरूको एजेण्डा बुझ्ने । खासमा वीरेन्द्रनगरको नेतृत्वमा पुगेका व्यक्तिले यहाँका जनताहरूको समस्या के छन्, त्यो बुझ्नु र समस्या समाधानको लागि प्रयास गरुन् भन्ने हाम्रो मुख्य उद्देश्य थियो । त्यसरी जनताबाट लिइएको कुराहरू र सम्रगमा आफै पनि वीरेन्द्रनगरको एक मतदाता भएको हुनाले नगरको मेयर र उप–मेयरमा निर्वाचित जनप्रतिनिधि समक्ष केही कुराहरू म राख्न चाहन्छु । यी सबै कुराहरू यहाँका समस्या हुन जुन हामीले सुनेका छौं र समाधान पनि उल्लेखित छ जुन हामीले पूरा गर्न सक्छौं ।

खानेपानीः दलहरूको मनोमानी र खिचातानी

वीरेन्द्रनगरको सबैभन्दा ठूलो समस्या हो, खानेपानी । वीरेन्द्रनगरको वडा नम्बर १ देखि वडा नम्बर १६ सम्म केही ठाउँमा बाहेक अधिकांश ठाँउमा खानेपानीको समस्या छ । आधारभूत आवश्यकतामध्येको एक खानेपानीमा जिल्लास्थित नेतृत्व सजग भएको छैन । पार्टीका प्रतिनिधिहरू पनि यसमा सचेत छैनन् । वीरेन्द्रनगरका यी क्षेत्रमा पानीको स्रोत नभएको पनि होइन, समाधानका उपाय नै नभएको पनि होइन । तर स्रोत र समाधानका उपायलाई नेताहरूले भाषणमा एक थप श्लोकको रूपमा राख्नु बाहेक केही गरिएको छ । खानेपानीमा समस्या मात्रै पनि होइन, त्योभन्दा अर्काे समस्या हो मनोमानी । खानेपानीका धारा समानुपातिक बाँडफाँडदेखि लिएर खानेपानी व्यवस्थापनका अधिकांश काममा मनोमानी भएको छ । दुई ठूला दलको खिचातानीका कारण खानेपानी संस्था सधैं विवादमा आइ नै रहन्छ । एक पक्षले जितेको खण्डमा अर्काे पक्षले त्यसको अस्तित्व स्वीकार गर्न नसकिरहेको देखिन्छ । यसले गर्दा सीमित स्वार्थ भएका व्यक्तिहरूले खानेपानी जस्तो विषयमा स्वार्थको राजनीति गरिरहने र जनताहरू सधैं खानेपानीको अभावमै गुज्रिनुपर्ने अवस्था छ । मेयर र उपमेयर दुई फरक–फरक पार्टीबाट छन् । उनीहरू दुवैजनाले पार्टीभित्र कन्भिन्स गर्न सक्नुपर्दछ ।

काँक्रेविहारः पर्यटन भन्ने, पर्यटक शून्य
काँक्रेविहार मध्यपश्चिम मात्र नभएर समग्र देशको चर्चित पर्यटीयस्थल हुनसक्ने सम्भावना भएको क्षेत्र हो । काँक्रेविहार बौद्धधर्मालम्बी र हिन्दु धर्मालम्बीहरू सबैको साझा धार्मिक स्थलको रूपमा परिचित छ हामी सबैमाझ । काँक्रेविहार एउटा ऐतिहासिक क्षेत्र पनि हो । यहाँको भग्नाववेश (जुन पुनर्निर्माणको क्रममा रहेको छ) ले नेपालको इतिहासको कुनै–कुनै कालखण्डको कुनै–कुनै तथ्य वा घटनालाई देखाउन सक्दछ, त्यसकारण यो ऐतिहासिक क्षेत्र हो । काँक्रेविहार संरक्षण क्षेत्र पनि हो । वीरेन्द्रनगरदेखि दक्षिण र साविकको लाटीकोइली गाविसमा रहेको काँक्रेविहार उपत्यकाभित्रको एउटा महŒवपूर्ण भू–भागलाई प्रतिनिधित्व गर्दछ जुन विशाल जंगलको रूपमा रहेको छ । प्रश्न यही छ, यति धेरै सम्भावना र अर्थ रहेको काँक्रेविहारको पर्यटन वा चर्चा जति मात्रामा हुनपर्ने थियो, त्यो किन भएन ? वा अलिकति पनि किन भएन ?चर्चा बढी नै भएर पनि यसको उपयोगिता किन देखिएन ? काँक्रेविहारलाई के पुगेन ? वा के बढी भयो ? यसतर्फ मेयर र उप–मेयरको ध्यान जान आवश्यक छ । एउटा जंगललाई देखाएर खुलामञ्चमा पिङ खेलाएर मात्र पर्यटन सबल हुँदैन, हुन सक्दैन । काँक्रेविहारलाई ध्यान केन्द्रको रूपमा विकास गर्न सकिन्छ । अथवा चहल–पहल बढाउनलाई मध्यपश्चिम विश्व–विद्यालयको कुनै अङ्ग त्यही नजिकै स्थापना गर्न सकिन्छ । काँक्रेविहारमा रहेको मुख्य समस्या खानेपानी र सुरक्षा जस्ता समस्यालाई ध्यान दिनु आवश्यक छ । मेयर र उप–मेयरमा निर्वाचित हुनभएका व्यक्तिहरूको ध्यान त्यसतर्फ पक्कै जानेछ ।

सुर्खेतमा पनि पर्यटनको लागि भनेर विभिन्न अभियानहरू चलाइएका छन् । विभिन्न पर्यटकीयस्थलहरूको व्यापक रूपमा प्रचार–प्रसार गरिएको छ । पर्यटनकै नाममा मेला महोत्सव गरिएको छ । पर्यटकीय स्थलका फोटो प्रदर्शनीदेखि लिएर भिडियो डकुमेन्ट्रीसम्म बनाइएका छन् । पर्यटक आर्कषित गर्नका लागि सम्भव भएसम्म सबै किसिमका माध्यमहरू अपनाइएको छ । विडम्बना भन्नुपर्छ, धेरै मान्छेहरूको समूह हुँदा र कुनै विशेष अवसरमा बाहेक सुरक्षा स्थितिकै कारण देखाएर काँक्रेविहारमा मान्छेहरू जान अप्ठ्यारो मान्छन् । काँक्रेविहार मात्र नभएर ट्रेकिङ्गको लागि भनेर केही समय अगाडि चर्चामा ल्याइएको धारापानी गढी पैदल बाटोमा पनि सुरक्षा व्यवस्था छैन । निकै लामो तथा उकालो बाटो भएकाले त्यस माध्यम भएर कोही मान्छे गढीमा पुग्ने आँट गर्दैनन् । पर्याप्त सुरक्षा व्यवस्था र ठाउँ–ठाउँमा पानी, खानेकुरा आदिको व्यवस्था मात्रै भए पनि गर्नसक्ने हो भने त्यो पैदलमार्ग प्रयोगमा आउन सक्थ्यो । महोत्सव गर्नलाइ र टिकट बेच्नलाई मात्र चर्चामा ल्याइने यस्ता स्थानले सम्बन्धित निकायको ध्यान खिच्न नसक्दा कमजोर धरातल भएको सुर्खेतको पर्यटन झनै कमजोर हुँदै जाने हो कि भन्ने आशंका छ । सुरक्षा व्यवस्था कमजोर भएर वा सुरक्षा व्यवस्था नै नभएर मानिसहरू आफूले इच्छाएको पर्यटकीय स्थलमा पुग्न नसक्नु अत्यन्त दुःखद् कुरा हो । यसतर्फ मेयर उपमेयरको ध्यान जाओस् ।

वीरेन्द्रनगरको सडकः बिजोगै बिजोग

साविकको मध्यपश्चिमाञ्चल विकास क्षेत्रको क्षेत्रीय सदरमुकाम, सुर्खेतको एक प्रमुख नगरपालिका वीरेन्द्रनगरको मुख्य बजारक्षेत्र अन्तर्गत मंगलगढीदेखि गणेशचौकसम्मको सडक बाहेक अधिंकाश सडक अन्यन्त साँघुरो छ । त्यस मुख्य सडकमा ट्राफिक व्यवस्थापनको उपयुक्त पहल भएको भए पनि त्यसबाहेकका अन्य सडकमा त्यस्तो पहल भएको देखिँदैन । त्यहाँ भएका पहलमा पनि त्यति प्रभावकारी उपस्थिति देखिँदैन । त्यस्ता नगरको भित्री सडक एक त आफैमा अत्यन्त साँघुरा छन्, त्यसैमा त्यहाँ व्यापार गर्ने व्यापारी, त्यस क्षेत्रमा रहेका सरकारी वा निजी संस्थामा काम गर्ने कर्मचारीहरूका सवारी साधनको उपयुक्त व्यवस्थापन नहुँदा सडक अत्यन्त अप्ठ्यारो र असहज स्थितिको सिर्जना गरेको छ । सडकको असुहाउँदो र अनुपयुक्त उपयोगले गर्दा त्यस्ता सडकमा सवारी–साधन चलाउने व्यक्तिहरू र त्यही सडकमा पैदल हिँडिरहेका व्यक्तिहरूको बीचमा असहज सम्बन्ध उत्पन्न गरिदिन्छ । यसले सडकमा दुर्घटनाको समस्यालाई निम्त्याउँछ नै, पैदल यात्रु तथा सवारी साधन भएकाहरूलाई पनि सुरक्षाको समस्या उत्पन्न गरिदिएको छ । ट्राफिक प्रहरीको ध्यान पनि मुख्य सडकमा गएको छ तर त्यहाँभन्दा पनि अझैं मानिसहरूको जमात अधिक हुने बीच–बीचका सडकहरूमा उनीहरूको ध्यान दिएका छैनन् वा दिन सकेका छैनन् र यो पनि हुनसक्छ, ध्यान दिन चाहेका छैनन् ।

बजार क्षेत्रमा भवन निर्माणको निमिक्त प्रयोग गरिने साधनहरू अधिकांश बजार क्षेत्रमा सडकमै राखिएका हुन्छन् । उनीहरूले करिब–करिब आधा बाटो नै अवरुद्ध हुनेगरी सामान राखिरहेका हुन्छ जसले पनि सवारी साधन र पैदल यात्रुबीचको सम्बन्ध असहज बनाउन मुख्य भूमिका खेलेको छ । सडक निकै साँघुरो हुने हुँदा त्यहाँ ठूला–ठूला गाडीहरू चलाउँदा वा रोकिँदा बाटो नै जाम हुने स्थिति छ । बालुवा तथा सरिया जस्ता सामान सडकमा राख्नाले सडक अशोभनिय त देखिन्छ नै यसले सवारी आवागमनमा असहजता ल्याउँछ । यसरी घरेलु सामान राख्नका लागि सडक प्रयोग गरिनाले पनि पैदल यात्रु र सवारी चालक बीचको सम्बन्ध खराब हुन पुगेको छ ।

वीरेन्द्रनगरको मुख्य बजार क्षेत्रमा हिँड्दै गर्दा हामी पाउन सक्छौं, ट्राफिक प्रहरी र यसको व्यवस्थापन मात्रै वीरेन्द्रनगरको मंगलगढीचौकदेखि वीरेन्द्रचौकसम्मको मुख्य सडकमा मात्रै निहित रहेको देखिन्छ । अर्थात् यसबाहेकका अन्य बजार क्षेत्र मुख्य त बुद्धपथ, गोदाम लाइन, लक्ष्मीहल लाइन, शनीहल लाइन यी क्षेत्रहरूको ट्राफिक व्यवस्थापन पुगेको देखिँदैन । यसका साथ–साथै वीरेन्द्रचौकदेखि माथि गणेशचौकसम्मको मुख्य सडकमा पनि ट्राफिक व्यवस्थापनको कुनै अंश देखिँदैन । यसमा पहल भएको देखिँदैन । हुलाकचौक साँघुरो देखिन्छ । गणेशचौकमा ट्राफिक प्रहरी बस्ने गरिएको देखिए पनि त्यही सडकभरी फलाम र यसको मर्मत भइरहेको हुन्छ । मुख्य यहाँ जारी भवन निर्माणका निमिक्त प्रयोग गरिने सामानले सडक साँघुरो बनाइदिएको छ ।

नयाँ नेतृत्वः नयाँ काम

नगर क्षेत्रको फोहोर उठाउने जिम्मा नगरपालिकाको हो । नगरपालिकाले जति मात्रामा स्थानीय स्रोतबाट आम्दानी आर्जन गर्दछ, त्यसको केही प्रतिशत त त्यस स्रोतको हितको निमिक्त खर्च हुनुपर्ने नै हो । अनि अधिकार सम्पन्न संस्थाले काम गर्न नसकेर त्यो काम अरुमार्फत् गराउन खोजिरहेको छ । फोहोर व्यवस्थापनको अख्तियारी पाएको नगरपालिका नै फोहोर व्यवस्थापनको अन्तिम जिम्मेवारी लिन तयार हुनुपर्दछ । जुनसुकै हालतमा नगरपालिकाले फोहोर व्यवस्थापनको जिम्मेवारी लिनुका साथै यस अभियानमा लागेको संस्था, व्यक्ति तथा निकायहरूलाई प्रबद्र्धन गर्न सक्नुपर्दछ । आफूले गर्न नसकेको काम अरुलाई दिने र दिएको निकायबाट पनि प्रभावकारी रूपमा काम नभइरहेको गुनासो आइरहँदा त्यसतर्फ मौन रहनु नगरपालिका र सरसफाइको जिम्मेवारी लिएका व्यक्तिहरूको ठूलो दोष हो । फोहोरलाई मोहोरमा रूपान्तरण गर्न प्रयास तत्कालै सुरु हुनुपर्दछ । नगरपालिकाले योजना बनाएरै यसतर्फ आफ्ना गतिशील पाइलाहरू चाल्न सक्नुपर्दछ । जिम्मेवारी पाएको निकाय नै आफ्नो कामप्रति जवाफदेही र जिम्मेवार नभए अरु को हुने ? वीरेन्द्रनगरका मेयर र उप–मेयरले यस विषयमा ध्यान दिन आवश्यक छ ।

यसरी बन्छ समृद्ध सुर्खेत

सुर्खेतलाई समृद्ध बनाउन सर्वप्रथम वीरेन्द्रनगरको समृद्धि आवश्यक छ । भाौगोलिक अवस्थितिले त्यसक्षेत्रको विकास, त्यस क्षेत्रमा रहेको संस्कृति तथा त्यस क्षेत्रको चर्चा परिचर्चामा पनि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभाव पार्दछ । अझैं भनिन्छ, भूगोलका स्वरूपहरू पहाड र नदीले त सभ्यता र भूगोल निर्माण गर्दछन् । नेपाल जस्ता प्राकृतिक रूपमा अत्यन्त सुन्दर देशहरूमा त झनै भौगोलिक स्थिति नै विकास र समृद्धिको आधार बन्न सक्दछ, दुई अर्थमा । एक समथर भौगोलिक क्षेत्रमा विकास निर्माणका कार्यहरू सम्पन्न गर्न सहज हुन्छ तथा न्यूनतम लागतमा पनि यो कार्य गर्न सकिन्छ । भौगोलिक रूपमा जटिल मानिने क्षेत्रहरू पर्यटकीय दृष्टिकोणले महŒवपूर्ण मानिन्छन् । त्यस्ता क्षेत्रमा पर्यटकको पहुँच पु¥याउनकै लागि भए पनि विकासका पूर्वाधारहरूको पहुँच पुगेको हुन पर्दछ । अन्यथा पर्यटकको आगमन नहुन सक्दछ । सुर्खेत र यसको सदरमुकाम वीरेन्द्रनगरको भविष्य तथा यसमा रहेका सम्भावनाहरूको बारेमा विभिन्न समयमा विभिन्न तह र तप्कामा छलफल चलाएका छन्, चलेका छन् । मुख्य त धेरै मानिसहरू पर्यटकीय क्षेत्रको रूपमा विकास गर्नुपर्नेमा जोड दिन्छन् र राय प्रकट गर्दछन् । केहीले व्यापारिक क्षेत्रको विकासले पनि सुर्खेत समृद्धिको बाटोमा लाग्ने जिकिर गरिरहेका हुन्छन् भने यसको तुलनात्मक रूपमा कमले मात्रै जलस्रोतको उपयुक्त उपयोगले सुर्खेत समृद्धिको नमुना हुनसक्ने मत व्यक्त गर्दछ । पंक्तिकारको विचारमा सुर्खेतको समृद्धिको लागि यी तिनै महŒवपूर्ण छन् र अलि बढी महŒवपूर्ण छ व्यापारिक क्षेत्र ।

व्यापारिक क्षेत्रलाई प्रोत्साहित गर्दै औद्योगिक क्षेत्रको स्थापना गर्ने, विकास गर्ने र नयाँ–नयाँ औद्योगिक उत्पादनहरूको उत्पादन थाल्ने हो भने त्यसले व्यापार क्षेत्रको विकासमा प्रत्यक्ष योगदान गर्न सक्दछ । कर्णाली क्षेत्रको प्रवेशद्वारको रूपमा रहेको सुर्खेत कर्णाली अञ्चलका पाँच जिल्लाको लागि एक मुख्यबजार नै हो भन्दा हुन्छ । त्यस क्षेत्रका बासिन्दाहरूले यहाँबाट सामान खरिद गर्ने मात्र होइन, उनीहरूको क्षेत्रमा उत्पादन भएका सम्पूर्ण कच्चा पदार्थ तथा अन्तिम वस्तुलाई यहाँको बजारमा विकाउने तथा यहाँबाट बाहिर पठाउन पनि सुर्खेत सक्षम हुनपर्दछ, तबमात्र यहाँको व्यापारिक स्थितिको तीव्र र दिगो विकास तथा विस्तारको सम्भव रहन्छ । पर्यटनलाई पनि यस क्षेत्रको विकासको प्रमुख अस्त्रको रूपमा लिइ मुख्यतः दैलेख तथा कर्णाली अञ्चलको सिँजा उपत्यका तथा नेपालको सबैभन्दा ठूलो ताल रारातालको लागि गन्तव्य यात्राको सुरुवाती विन्दुको रूपमा सुर्खेतलाई विकास गर्न सकिन्छ ।

अन्तयमा, यी र यस्ता सम्भावनालाई सकारात्मक योगदान पुग्ने किसिमले नीति तर्जुमा गर्ने, त्यस्ता नीतिलाई कार्यान्वयनमा लैजाने र सुर्खेतको वीरेन्द्रनगरलाई साँच्चिकै नेपालको एक समृद्ध र नमुना सहर बनाउने अभिभारा अब दुई युवा नेताको हातम आइपरेको छ । पाँच वर्षको अवधिलाई सक्दो उपयोग गरी विशेषज्ञको समूह बनाउने, सल्लाहकारहरूको समूह बनाउने र समृद्ध सुर्खेतको नक्सा कोर्ने जिम्मेवारी उनीहरूको काँधमा छ । र यी जिम्मेवारीहरू पूरा गर्न उनीहरू कुनै पनि दृष्टिकोणले कमजोर छैनन् । शिक्षा, चेतना, जोश जाँगर, राजनीतिक सहकार्य, प्रविधि जस्ता हरेक विषयमा अब्बल दुई उम्मेदवारलाई ५० हजार जनताले आफ्नो ठाउँ राम्रो बनाउने जिम्मेवारी सुम्पिएका छन् र अबको पाँच वर्ष वीरेन्द्रनगर उनीहरू दुईजनाको हातमा छ ।

प्रकाशित मितिः   ८ जेष्ठ २०७४, सोमबार ११:०२