‘सडक मानव’मुक्त प्रदेश
कर्णाली प्रदेशलाई ६ वर्षअघि नै सहयोगापेक्षी सडक मानवमुक्त घोषणा गरिएको थियो । बेसाहारा, अभिभावकविहीन भइ सडकमा माग्दै जीविकोपार्जन गरिरहेकाहरूलाई घरपरिवार वा आश्रममा पुनस्र्थापित गरेर सहयोगापेक्षी सडक मानवरहित घोषणा गरिएको हो । यो घोषणाको प्रभावकारी कार्यान्वयनका लागि आश्रमको आवश्यकता पर्दछ । सुर्खेतमा मानव सेवा आश्रम सञ्चालनमा छ । तर यसलाई विस्तार गरेर ठूलो बनाउने प्रयास पनि भइरहेको छ । कर्णाली प्रदेशस्तरीय मानव सेवा आश्रमको भवन निर्माण गर्न लागिएको हो । वीरेन्द्रनगरको वडा नं. ११ को चारकुनेमा सडक मानवको लागि छाना, नाना तथा खानाकोे सुनिश्चितता गर्न भवन निर्माण गर्न लागिएको हो । अहिले भवनको डीपीआर निर्माणको काम भइरहेको छ । चारकुनेमा १४ कठ्ठा जग्गा खरिद गरेर भवन निर्माणको काम थालिएको हो । विभिन्न क्षेत्रबाट उठेको सहयोगबाट नै भवन निर्माण गरिनेछ ।
आश्रमको लागि आवश्यक पूर्वाधार निर्माणका लागि प्रदेश सरकारले बजेट विनियोजन गरेको छ । आश्रमको पूर्वाधार निर्माणका लागि कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षमा एक करोड ५० लाख बजेट विनियोजन गरेको हो । सडक मानवमुक्त प्रदेश कार्यान्वयन गर्न मानव सेवा आश्रमलाई सहयोग गरिएको प्रदेश सरकारले जनाएको छ । गत आर्थिक वर्षमा पनि मानव सेवा आश्रमको पूर्वाधार निर्माणका लागि प्रदेश सरकारले बजेट विनियोजन गरेको थियो । उक्त वर्ष एक करोड बजेट विनियोजन गरिएको थियो । सुर्खेतमा मानव सेवा आश्रमका लागि विभिन्न निकायबाट आर्थिक सहयोग भइरहेको छ । स्थानीय सरकारले समेत पूर्वाधार निर्माणमा सहयोग गर्ने भएको छ । विगतदेखि नै आर्थिक तथा सामाजिक रूपमा सहयोग गर्दै आएको वीरेन्द्रनगर नगरपालिकाले पनि पूर्वाधार निर्माणका लागि डेढ करोड बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा नै समेटेर मानव सेवा आश्रमको पूर्वाधार निर्माणका लागि सहयोग गर्न लागिएको हो । डेढ करोड बराबरको पूर्वाधार निर्माणको काम नगरपालिकाले गरिदिने छ । सुरुवातीका वर्षहरूदेखि नै नगरपालिकाले सहयोग गर्दै आएको छ । आश्रमको पूर्वाधार निर्माणका लागि विभिन्न क्षेत्रबाट सहयोग भइरहेको छ ।
मानव सेवा आश्रमको पूर्वाधार निर्माणका लागि आयोजना गरिएको महायज्ञबाट नौ करोड ७६ लाख रूपैयाँ संकलन भएको थियो । आश्रमले गतवर्ष वीरेन्द्रनगरको खुल्ला मञ्चमा श्रीमद् भागवत् सप्ताह ज्ञान–विज्ञान महायज्ञ आयोजना गरेको थियो । महायज्ञबाट नौ करोड ७६ लाख ९२ हजार आठ ४३ रूपैयाँ दान संकलन भएको हो । जसमा अन्य सरकारी तथा नीजि क्षेत्रको सहयोगसहित आश्रम निर्माण हुनेछ । जसले कर्णालीलाई सहयोगापेक्षी सडक मानवमुक्त बनाउने अपेक्षा गरिएको छ ।
प्रकाशित मितिः ६ आश्विन २०८२, सोमबार ०५:०३
सम्पादकीय ।