सुपथ पसलले लाभ

नेपालमा मनाइने ठूला चाड नजिक आउँदैछन् । दसैँ, तिहार र छठलगायतका पर्वहरूलाई लक्षित गरेर हरेक वर्ष सुपथ मूल्य पसल सञ्चालन गर्ने गरिएको छ । सरकारले यो वर्ष पनि कर्णाली प्रदेशभर यस्ता पसल सञ्चालन गर्दैछ । सहर केन्द्रित हुने गरेका चाडपर्व लक्षित सुपथ पसल यो वर्षदेखि गाउँ केन्द्रित गर्न लागिएको छ । त्यसका लागि कर्णालीका ४२ स्थानमा सुपथ मूल्य पसल विस्तार गर्न लागिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालयले स्थानीय तहसँगको समन्वयमा जनशक्ति र ढुवानीको व्यवस्था गरेर गाउँ केन्द्रित सुपथ पसल सञ्चालन गर्न लागिएको जनाएको छ । यसअघि भने दसैं, तिहार र छठ पर्वको अवसर पारेर जिल्ला सदरमुकामहरूमा मात्रै पसल सञ्चालन गर्ने गरिएको थियो ।

भदौ ३० गतेबाट कर्णालीका १९ स्थानमा चाडपर्व लक्षित सुपथ मूल्य पसल सुरु गरिसकिएको छ । पालिकाहरूसँग समन्वय गरेर अन्य स्थानमा पनि सेवा विस्तार गर्न लागिएको हो । जाजरकोटको सदरमुकामका साथै घोकी डिपो र नायकबाँडा डिपोमा सपुथ मूल्य पसल स्थापना गरिएको छ । यस्तै कालिकोटका पनि तीन स्थानमा सुपथ मूल्य पसलमार्फत नागरिकलाई सर्भसुलभ रूपमा खाद्य सामग्री उपलब्ध गराइनेछ । सदरमुकाम मान्म, पदमघाट र डिपो कार्यालय खल्नाघाटमा पसल सञ्चालन गरिएको छ । जुम्लाको सदरमुकाम, मुगुको सदरमुकाम, डिपो कार्यालय सोरुकोट र डिपो कार्यालय श्रीकोटमा सुपथ मूल्य छन् भने हुम्लाका तीन स्थान सदरमुकाम सिमकोट, डिपो कार्यालय सर्केगाड र श्रीनगरमा राखिएको छ । डोल्पाको सदरमुकाम दुनै, डिपो कार्यालय जुफाल र सर्मी, रुकुमपश्चिम सदरमुकाम मुसीकोट, दैलेखको दैलेख सदरमुकाम र सुर्खेतको सदरमुकाम गरी १९ स्थानमा अहिले सुपथ मूल्य पसल सञ्चालन गरिएको छ ।

यसरी सञ्चालन गरिने पसलहरूबाट उपभोक्ताले सुपथ मूल्यमा दैनिक उपभोग्य वस्तुहरू खरिद गर्न सक्दछन् । चाडपर्वको समयमा नागरिकलाई सहजताका लागि पसल सञ्चालन गर्ने गरिएको हो । सुपथ पसलमा चामल, तेल र चिनी लगायतका खाद्य वस्तुमा छुट दिइएको छ । चामल र चिनीमा प्रतिकेजी पाँच रूपैयाँ र तेलमा प्रतिलिटर सात रूपैयाँ छुट रहेको छ । सुपथ पसलका लागि १२ हजार क्वीटन चामल, एक सय क्वीटन चिनी र २६ हजार पाँच सय लिटर खाने तेल स्टक राखिएको छ । सुपथ पसल कार्तिक १० गतेसम्मसञ्चालन गरिनेछ । सरकारी स्वामित्वका संस्थानहरूले सञ्चालनमा ल्याएका सुपथ मूल्य पसलको कारण बजारमा मूल्य वृद्धि नियन्त्रण हुन सघाउ पुग्ने विश्वास लिइएको छ । चाडपर्वलाई लक्षित गरेर सञ्चालन गरेका सुपथ मूल्य पसलमा उपभोक्ताले लाभ लिएका छन् ।

प्रकाशित मितिः   ३ आश्विन २०८२, शुक्रबार ०५:०३