छिटो निकास देऊ
दुई दिने आन्दोलन र त्यसपछि निम्तिएको संकटबाट मुलुकले पाउनुपर्ने निकास पाइसकेको छैन । पछिल्लो युवा पुस्ताले गरेको आन्दोलनको बलमा सरकार ढल्यो । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए । उनीसहित मन्त्रिहरू र राजनीतिक दलका शीर्ष नेताहरू नेपाली सेनाको सुरक्षाभित्र छन् । यतिबेला मुलुक सरकारविहीन मात्रै भएको छैन, नेतृत्वविहीनको अवस्थामा पुगेको छ । अब कसरी अगाडि बढ्ने भन्ने अन्योलता देखिएको छ । अन्योलता चिर्ने प्रयास त भइरहेका छन् तर उपयुक्त बाटो पहिल्याउन कठिनाइ भएको अवस्था छ ।
सामान्य अवस्थामा मुलुक राजनीति दलभित्रबाट जननिर्वाचित प्रतिनिधिहरूको नेतृत्वमा चल्छ । तर अहिले राजनीतिक दलहरूको नेतृत्व असफलसिद्ध भएको छ । आन्दोलनले मुलुकलाई नयाँ मोडमा पु¥याएको छ । राजनीतिक दलहरू सक्रिय रहने अवस्था छैन । नेताहरू लुकेर बस्नुपर्ने अवस्थामा छन् । सडक नेपाली सेनासहितको सुरक्षा निगरानीमा छ । मुलुकको नेतृत्व कसले गर्ने र कसरी अघि बढ्ने भनेर यतिखेर नेपाली सेनाले राष्ट्रपति रामचन्द्र पौडेलसँगको समन्वयमा पहल गरिरहेको अवस्था छ । नेपाली सेनाले आन्दोलनमा सहभागी सबै पक्षसँग छलफल गर्न सहजीकरण गर्ने बताउँदै आएको छ । यो विषम परिस्थितिमा राष्ट्रपतिमाथि ठूलो जिम्मेवारी आइपुगेको छ । एकातिर संविधान र अहिलेको व्यवस्थालाई जोगाउनुपर्ने छ भने सँगसँगै युवाहरूको आन्दोलन र त्यसको मर्मलाई पनि समटेर मुलुकलाई सही मार्गमा हिडाउनुपर्नेछ ।
आन्दोलनमा उत्रिएका युवाहरूको भावना समेट्ने गरी तत्काललाई अन्तरिक सरकार बनाउने प्रयास भइरहेको देखिन्छ । तर दुई दिनदेखिको प्रयासले निचोड निकालिसकेको छैन । अन्तरिम सरकारको नेतृत्व कसले गर्ने भन्नेमा एकमत हुन सकेको छैन । युवाहरू विभाजित भएका छन् । यद्यपि, अधिकतर संख्याले सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनाएर चुनावमा जानुपर्नेमा सहमति देखाएका छन् । अहिलेको संवेदनशील समयमा बन्ने सरकारको अभिभावक कानुन र विधिको रक्षा गर्नसक्ने इमानदार छवि भएको व्यक्ति हुनुपर्ने भएकाले गहन विमर्शपछि कार्कीको नाम प्रस्ताव गरिएको उनीहरूको भनाइ छ । कार्कीले पनि जेनजी पुस्ताले आफूलाई अत्यधिक रुचाएकाले सरकारको नेतृत्व लिन तयार रहेको बताएकी छिन् ।
तत्कालै कुनै निचोडमा नपुग्दा विभिन्न व्यक्ति र समूहहरूले सक्रियता देखाएका छन् । संविधान, लोकतन्त्र र अहिलेको व्यवस्थालाई नै चुनौती दिनेहरूबाट देशलाई जोगाउनुपर्ने देखिएको छ । यस्तो समयमा आन्दोलन गरेर मुलुकको राजनीतिलाई ठूलो धक्का दिएका युवाहरूले पनि सुझबुझपूर्ण निर्णय गर्नुपर्ने भएको छ । जतिसक्दो छिनो अन्तरिम नागरिक सरकार बनाएर देशलाई निकास दिनु अपरिहार्य छ । यसका लागि राष्ट्रपति रामचन्द्र पौडेलले सबैपक्षसँग समन्वय र संवादनमार्फत संविधानको जोगाउँदै मुलुकलाई पनि संकटबाट पार लगाउन ढिलाई गर्नु हुँदैन ।
प्रकाशित मितिः २७ भाद्र २०८२, शुक्रबार ०५:०३
सम्पादकीय ।