जेन–जी आन्दोलनः कर्णालीमा ठूलो भौतिक क्षति

सुर्खेत: भ्रष्टाचारविरुद्ध युवाहरूले गरेको आन्दोलनका क्रममा कर्णाली प्रदेशमा ठूलो भौतिक क्षति भएको छ । प्रदेशका थुप्रै सरकारी संरचना ध्वस्त भएका छन् । राजनीतिक दलहरूका पार्टी कार्यालयदेखि व्यक्तिगत सम्पत्तिमा पनि उत्तिकै क्षति पुगेको छ ।
आन्दोलनमा उत्रिएका युवाहरूले कर्णाली प्रदेशसभालाई समेत कब्जामा लिएर पूर्ण रूपमा ध्वस्त पारेका छन् । आगजनी र तोडफोडका कारण प्रदेशसभाभित्रका भौतिक संरचनाका साथै महत्त्वपूर्ण कागजात पूर्ण रूपमा नष्ट भएपछि अब कसरी कार्यसम्पादन अघि बढाउने भन्ने अन्योल देखिएको छ ।
प्रदेशसभा परिसरमा तोडफोड र आगजनी नभएका कुनै संरचना बाँकी देखिँदैनन् । प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले तोडफोड र आगजनीका कारण एक अर्बभन्दा बढीको क्षति भएको बताएका छन् । प्रदेशसभालाई पहिलेकै अवस्थामा ल्याउन अर्बौं खर्च लाग्नेछ भने कागजी प्रमाण मेटिएका छन् । उनका अनुसार प्रदेशसभाबाट कुनै पनि सरकारी कागजातहरू सुरक्षित छैनन् । प्रहरीले सुरक्षा दिन नसक्दा भौतिक संरचनासँगै सम्पूर्ण सरकारी कागजातहरू जलेर नष्ट भएका हुन् ।
नागरिक सेवा प्रवाहमा प्रत्यक्ष जोडिने दुई दर्जनभन्दा बढी सरकारी निकायमा आगजनी तथा तोडफोड गरी अर्बौंको क्षति पु¥याएपछि अहिले सेवा नै ठप्प बनेको छ । अब कसरी सेवा सञ्चालन गर्ने भन्ने विषय उठ्न थालेको छ । आन्दोलनकारीले प्रदेश लेखा नियन्त्रकको कार्यालयमा पनि पूर्ण रूपमा क्षति पु¥याएका छन् । पार्किङमा राखिएका सवारीसाधनसँगै कार्यालयभित्र पसेर गरिएको तोडफोड र आगजनीका कारण लेखासम्बन्धी सम्पूर्ण कागजात नष्ट भएका छन् । कागजातसँगै कम्प्यूटर, प्रिन्टरलगायतका भौतिक संरचना पूर्ण रूपमा नष्ट भएका हुन् । लेखा नियन्त्रक कार्यालयमा क्षति पुगेसँगै प्रदेशका सम्पूर्ण आर्थिक गतिविधिहरू नै ठप्प भएका छन् । यसलाई नियमित गराउन निकै चुनौती झेल्नुपर्ने कर्मचारीहरू बताउँछन् । कार्यालयमा करोडांैको क्षति पुगेको छ भने सम्पूर्ण कागजात नष्ट भएका छन् ।
आन्दोलनकारीले नागरिकसँग प्रत्यक्ष जोडिने नापी कार्यालय सुर्खेतमा समेत पूर्ण रूपमा क्षति पु¥याएका छन् । आगजनीका कारण कार्यालयका जग्गा नापजाँचसम्बन्धी सम्पूर्ण कागजातहरू जलेर नष्ट भएको कार्यालय प्रमुख दिनेश भण्डारीले बताएका छन् । उनका अनुसार नापी विभागमा रेकर्ड नभेटिए नापीसम्बन्धी कार्यहरू शून्यबाट सुरु गर्नुपर्नेछ । कार्यालयको तोडफोड र आगजनीबाट क्षति भएको भवन मात्र छ । अभिलेख तथा कागजात पूर्णरूपमा नष्ट भएसँगै काम कसरी गर्ने भन्ने विषय अन्योलमा परेको छ । कर्मचारीले कार्यालयमा प्रवेश गरेर सेवा दिन सक्ने अवस्था छैन । जिल्ला प्रशासनमा पत्र लेखेर मुचुल्का उठाउने काम भइरहेको कार्यालय प्रमुख भण्डारीले बताए । सेवाग्राहीले भरिभराउ हुने नापी कार्यलय सुर्खेत यतिबेला सुनसान बनेको छ । सरसफाइ गरेर अबको केही दिनमा सेवा सञ्चालन गरिने उनले बताए ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा समेत ठूलो क्षति पुगेको छ । आन्दोलनकारीले करोडौँको भौतिक संरचनामा क्षति पुर्याएका छन् । मुख्यमन्त्रीको सरकारी निवासमा पनि क्षति पुर्याइएको छ ।
यसबाहेक वीरेन्द्रनगर नगरपालिकासहित विभिन्न वडा कार्यालयहरूसमेत क्षतिग्रस्त छन् । आन्दोलनकारीले वीरेन्द्रनगर नगरपालिका वडा नं. १ देखि १२ वडा कार्यालयहरूमा पूर्णरूपमा क्षति पु¥याएका छन् । उनीहरूले एकपछि अर्को गर्दै सरकारी संरचना ध्वस्त बनाएपनि अहिले सेवा नै ठप्प बनेको छ भने कर्मचारीहरूले कसरी काम सुरु गर्ने मेलोमेसो नै पाएका छैनन् । वीरेन्द्रनगरस्थित सभाहल, नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाको पार्टी कार्यालयमा समेत तोडफोड र आगजनीबाट ठूलो मात्रामा क्षति भएको छ ।
आन्दोलनकारीले केही निजी भवनमा समेत सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ । मुख्यमन्त्री यामलाल कँडेल, नेपाली कांग्रेसका उपासभापति पूर्णबहादुर खड्का, उनका भाइ डाक्टर डम्बर खड्का, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल, उप–प्रमुुख नीलकण्ठ खनालको निजी घरमा समेत तोडफोड र आगजनीका साथै धनमाल लुटपाट भएको छ ।



साझा बिसौनी ।