आइपिएलको उपाधिका लागि आज मुम्बई र पूणे भिड्दै

दशौं आइपिएलको उपाधि भिडन्त मुम्बई इन्डियन्स र राइजिङ पूणे सुपरजाइन्ट्सबीच आज राजीव गान्धी रंगशालामा हुँदैछ।

मुम्बई आइपिएलमा चौथो पल्ट फाइनलमा पुगेको हो भने पूणे आइपिएलमा समावेश भएको दोस्रो वर्षमा फाइनल प्रवेश गरेको हो। घरेलु मैदानमा अनुभवी खेलाडीले भरिपूर्ण मुम्बई जहाँ तेस्रो उपाधिका लागि भिड्ने छ भने पूणे पहिलोपल्ट आइपिएल उपाधि आफ्नो नाममा लेखाउने अभियानमा छ।

पूणे मनोवैज्ञानिक रुपमा निकै बलियो टोली मानिन्छ। यसपालि फाइनल प्रवेशका लागि अस्ट्रेलियन कप्तान स्टिभन स्मिथको नेतृत्वमा रहेको पूणेले ३ पल्ट मुम्बईलाई पराजित गरेको थियो। पूणेले लिग चरणको दुवै खेल र फाइनल प्रवेशका लागि भएको क्वालिफायरमा मुम्बईलाई पराजित गरेको थियो। गत वर्ष यी दुईबीच भएको खेलमा दुवैले आफ्नो घरेलु मैदानमा भएको खेलमा १–१ जित सम्भव पारेका थिए।

मुम्बईले सन् २०१३ र २०१५ मा चेन्नई सुपरकिङ्सलाई पराजित गर्ने क्रममा उपाधि जितेको थियो। २०१० मा पनि यो टिम फाइनल पुगेको थियो तर त्यतिबेला पराजय हात लाग्यो। २०१३ मा मुम्बईले चेन्नईलाई २३ र २०१५ मा ४१ रनले पराजित गरेको थियो।

यसपालि मुम्बईले उत्कृष्ट प्रदर्शन गरेको छ। उसले १४ मध्ये १० खेल जितेर अंक तालिकामा आफूलाई शीर्ष स्थानमा राखेको थियो। पहिलो क्वालिफायरमामा पूणेसँग पराजित भएपछि मुम्बई स्तब्ध बन्न पुगेको थियो। तर, दोस्रो क्वालिफायरमा कोलकाता नाइटराइडर्सलाई ६ विकेटले पराजित गर्दै मुम्बईले उत्कृष्ट पुनरागमन गर्यो।

चेन्नई सुपरकिङ्स र राजस्थान रोयल्सलाई २ वर्ष प्रतिबन्ध लागेपछि गत वर्ष पूणेले आइपिएलमा समावेश हुने मौका पाएको थियो। महेन्द्रसिंह धोनीको कप्तानीमा पहिलो वर्ष आइपिएलमा उत्रिएको पूणेले मुम्बईलाई ९ विकेटले पराजित गर्दै विस्फोटक सुरुवात गरेको थियो। तर, लगातार ४ खेल हारेपछि पूणेको अवस्था खस्कियो। गत सिजन पूणेले १४ मध्ये ५ खेल मात्र जित्यो। त्यसैले पूणेका मालिकले यो सत्र धोनीको स्थानमा अस्ट्रेलियन कप्तान स्मिथको नेतृत्वलाई चयन गरेका थिए। यो सिजनको पहिलो म्याचमा स्मिथको बिस्फोटक ब्याटिङमा पूणेले मूम्बईलाई ७ विकेटले हराएपछि पूणेका एक मालिक हर्ष गोयन्काले धोनीको साटो स्मिथलाई कप्तान बनाउने निर्णय सही सावित भएको ट्वीट गरेका थिए। उनले लेखेका थिए(स्मिथेले ज‌ंगलको राजा को हो भनेर देखाए। धोनीलाई पुरै छाँयामा पारिदिए। उनलाई कप्तान बनाउने कदम एकदमै सही हो।
सो म्याचमा स्मिथले ५४ बलमा ८४ हानेर अविजित रहेका थिए भने १६ अौं ओभरमा आएका धोनी १२ बलमा केवल १२ बनाउन सकेका थिए। गोयन्काको सो ट्वीटपछि धोनीका फ्यानले गोयन्काको कडा आलोचना गरेका थिए। गोयन्काले अर्को खेलमा पूणे पन्जाबसँग पराजित भएपछि फेरि ट्विट गरेर ६ जना पुणेका ब्याट्यम्यानको स्ट्राइक रेट दाँजेका थिए त्यसमा धोनीले सबैभन्दा सुस्त गतिमा रन बनाएको देखिन्थ्यो।
यो मामला धोनीकी पत्नी साक्षीले पनि प्रतिक्रिया जनाएकी थिइन्। उनले इस्टाग्राममा लेखेकी थिइन्( चरा जब ज्यूँदो हुन्छ त्यतिबेला कमिला खान्छ तर जब चरा मर्छ कमिलाले त्यो चरालाई खान थाल्छन्। समय र परिस्थिति कुनैपनि बेला बदलिन सक्छ। कसैको पनि खिल्ली उडाउनु वा चोट पुर्याउनु हुँदैन। धेरै विरोध भएपछि र धोनीले राम्रो खेल्न थालेपछि गोयन्काले ती दुबै ट्वीट डिलिट गरेका छन्। मुम्बईविरूद्ध पाँच छक्का हानेर पूणेलाई फाइनलमा पुर्याएपछि गोयन्काले धोनीको तारिफ पनि गरेका थिए। यो विवादले धोनी र स्मिथको सम्बन्धमा भने कुनै असर पुर्याएको छैन। मैदानमा धोनी र स्मिथमध्ये को कप्तान हुन् भन्ने छुट्याउनै गाह्रो हुने गरी धोनीले फिल्ड र बलर पनि बेलाबेलामा परिवर्तन गर्छन्।

स्मिथको नेतृत्वमा पूणेले राम्रो सुरुवात गरेपनि बीचमा लड्खडाएको थियो। पूणेले यसपालि १४ मध्ये ९ खेल जितेर १८ अंकका साथ आफूलाई अंक तालिकामा दोस्रो स्थानमा राखेको थियो। पूर्वकप्तान धोनीको उत्कृष्ट इनिङका कारण पूणेले पहिलो क्वालिफायरमा मुम्बईलाई पराजित गरेको थियो।

प्रकाशित मितिः   ७ जेष्ठ २०७४, आईतवार १८:२९