एबीसी र साथी सेमिफाइनलमा

वीरेन्द्रनगरमा जारी जिल्लास्तरीय एन्फा लिगको सेमिफाइनलमा एबीसी युथ क्लव र साथी खोर्के युवा क्लव (स्काई)ले आफ्नो स्थान सुरक्षित गरेका छन । क्वाटरफाइनल चरणअन्तर्गत आइतवार भएको पहिलो खेलमा एबीसीले बुद्धपथलाई शून्यकाविरुद्ध २ गोलले पन्छाउँदै अगाडि बढ्दा स्काइले शिरमोरसंग कठिन संघर्ष गर्नुपर्यो ।

पहिलो खेलको पहिलो हाफसम्म थुप्रै सम्भावित गोलहरु पोष्ट र क्रसबार लागेर फर्किएपछि भाग्यमानी सावित भएको बुद्धपथका लागि दोश्रो हाफमा भने भाग्यको साथ मिलेन । दोश्रो हाफ शुरु भएको १० मिनेटमै भूपेन्द्र शाही र २१ औं मिनेटमा महेन्द्र शाहीले दोश्रो गोल गर्दै एबीसीलाई दोश्रो चरण पुर्याए ।

यस्तै दिउँसो भएको दोश्रो क्वार्टरफाइनलमा स्काइले शिरमोरमाथि ४ काविरुद्ध ५ गोलको संघर्षपूर्ण नतिजा निकाल्दै अगाडि बढ्यो । प्रतियोगिताकै सर्वाधिक एकै खेलमा ९ गोल भएको खेलको पहिलो हाफमै दुई दुई गोल गरेका दुबै टोलीले दोश्रो हाफमा कूल ५ गोल गरे । शिरमोरका लागि आकर्षक खेल पस्किएका संगम शाहीले व्यक्तिगत ह्याटिक पूरा गर्दा स्काइका अरुण गाहाले पनि ह्याटिक गरे ।

शाहीले खेलको ३५, ३० र ६८ औं मिनेटमा ह्याटिक गर्दा गाहाले १५,१७ र ४१ मिनेटमा ह्याटिक पूरा गरेका हुन । स्काइका लागि पंकज शाहीले ४१ र ५१ औं मिनेटमा गरी दुई गोल गरे । प्रतियोगिता अन्तर्गत भोलि (सोमबार) हुने दुई वटा क्वार्टरफाइनलमध्ये विहान शिद्धपाइला र सिर्जनशील तथा दिउँसोको खेलमा वीरेन्द्रनगर र काँक्रेविहार आमनेसामने हुने भएका छ ।

प्रकाशित मितिः   ७ जेष्ठ २०७४, आईतवार १९:५९