कर्णालीको विजयी सुरुवात

सुर्खेत: साविक विजेता कर्णाली यश्विजले एभरेष्ट भलिबल लिगको दोस्रो संस्करणमा पनि विजयी सुरुवात गरेको छ । पोखराको कभर्ड हलमा शुक्रवार भएको उद्घाटन खेलमा कर्णालीले पोखरा निन्जाजलाई ३–० को सोझो सेटमा पराजित गर्‍यो ।

पहिलो सेट प्रतिस्पर्धात्मक बनेको थियो । कर्णालीलाई पनि सेट हुन केही समय लाग्यो । जहाँ २५–२१ ले पहिलो सेट जित्दै १–० को अग्रता बनायो । दोस्रो सेटमा खेलमा फर्कने दबाबमा रहेको पोखरा खरलमा जम्न सकेन । उसका दुई विदेशी खेलाडीको प्रदर्शन पनि उत्साहजनक रहन सकेन । खेलमा पछि परिरहँदा मार्की खेलाडी प्रगति नाथ घाइते हुँदा पोखरा थप दबाबमा आयो । यो सेट सहजै कर्णालीले २५–२० ले जित्दै कर्णालीले अग्रता २–० को बनायो ।

तेस्रो सेटमा पोखरा झनै निरिह बन्यो । प्रगति कोर्टमा फर्किन् । तर पनि पोखरा खेलमा फर्कन सकेन । सहजै कर्णालीले २५–१४ ले तेस्रो सेट आफ्नो पक्षमा पार्‍यो । यो सँगै सोझो सेटको जितमा कर्णालीले ३ अंकसहित सानदार सुरुवात गरेको छ ।

शुक्रवार नै भएको दोस्रो खेलमा साविक उपविजेता ललितपुर क्विन्सले मधेश युनाइटेडलाई ३–० कै सोझो सेटमा पराजित गरेको छ । यो पटक ६ टोली उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । त्यसअघि युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले लिगको उद्घाटन गरेका थिए ।

 

 

प्रकाशित मितिः   २१ भाद्र २०८२, शनिबार ०५:००