वन्यजन्तु संरक्षण

बढ्दो बस्ती विकास । वनजंगलको चरम विनाश र आहाराको कमी हुँदा पछिल्लो समय वन्यजन्तु समस्यामा पर्दै गएका छन् । आहाराको खोजीमा वन्यजन्तु बस्तीहरूमा छिर्न थालेका छन् । पछिल्लो समय निर्माण भइरहेका भौतिक संरचनाका कारण वन्यजन्तुको बासस्थान नै गुम्ने अवस्था बन्दै गइरहेको छ । यसरी आफ्नो बासस्थान र आहारा नै जोखिममा परेपछि वनजंगलमा बस्दै आएका जनावरहरू बस्ती छिरेर क्षति निम्त्याउन थालेका छन् । मानिसहरूले लगाएका बालीनाली खानेदेखि मानिसलाई नै आक्रमण भइरहेका छन् । यसले मानव र वन्यजन्तुबीचको द्वन्द्व बढ्दै गएको छ । यही द्वन्द्व न्यूनीकरण गर्न कर्णाली प्रदेश सरकारले करिडोर कनेक्टिभिटी संरक्षण कार्यक्रम कार्यान्वयन गर्न लागेको छ ।

चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेटेर उक्त कार्यक्रम ल्याएको हो । मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका लागि वन क्षेत्रमा वन्यजन्तुको आहारा बढावा दिने उद्देश्यले कार्यक्रम कार्यान्वयन गर्न लागिएको प्रदेश सरकारले जनाएको छ । यो कार्यक्रम गत आर्थिक वर्ष २०८१÷०८२ बाट सुरु गरिएको हो । कार्यक्रम प्रभावकारी मानिएपछि चालु वर्षमा पनि निरन्तरता दिइएको छ । त्यसैले वन्यजन्तुको आहारा बढावा दिने प्रजातिका बिरुवाहरूको वृक्षरोपण गरेर करिडोर कनेक्टिभिटी संरक्षण गर्न लागिएको छ । भेरी करिडोर र कर्णाली करिडोर लक्षित कार्यक्रम गरिने उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जनाएको छ । निर्माण गरिएका पूर्वाधारका कारण वनजंगल तथा वन्यजन्तुको आहारा मासिँदै गएको छ । पछिल्लो पटक सम्भाव्यता अध्ययन नै नगरेर सडक निर्माण गरिँदा त्यसको सोझो असर वन्यजन्तुमा परिरहेको छ । त्यसैले घाइते, टुहुरा भएका वन्यजन्तुहरूको सुरक्षा, हेरचाह तथा उद्धार गरी प्राकृतिक बासस्थानमा फर्काउन वन्यजन्तु उद्धार केन्द्र स्थापना गर्ने योजना सरकारको छ । संरक्षित क्षेत्र आसपासका बासिन्दा अन्य वन्यजन्तुभन्दा पनि बँदेलबाट बढी पीडित हुन थालेपछि मानव–वन्यजन्तु द्वन्द्वको घटना न्यूनीकरण गर्ने र स्थानीयवासीलाई संरक्षणप्रति थप अभिप्रेरित गर्ने उद्देश्यले प्रदेश सरकारले उक्त कार्यक्रमको योजना ल्याएको हो ।

योजनाअनुसार वन्यजन्तुको बासस्थानमा सुधार र मानव बस्ती वरिपरि तारबार लगाउने, वन्यजन्तु उद्धार केन्द्र, प्राणी उद्यानको स्थापना, समस्याग्रस्त वन्यजन्तुको व्यवस्थापनमा संलग्न कर्मचारीको दक्षता र क्षमता विकास गर्न, स्थानीय समुदायमा सचेतना कार्यक्रम सञ्चालन र वैकल्पिक आयआर्जनका कार्यक्रम सञ्चालन गर्नेगरी कार्यक्रम ल्याइएको प्रदेश सरकारले जनाएको छ । वन्यजन्तु संरक्षणको काममा सहयोग गर्ने समुदाय तिनै वन्यजन्तुबाट बढी पीडित हुन थालेपछि मानव–वन्यजन्तु द्वन्द्वका घटना हुनै नदिने उपायको खोजी अनिवार्य बनेको छ । त्यसैले पनि निकुञ्ज तथा वन क्षेत्र वरपरका समुदायमा सचेतनाका कार्यक्रम सञ्चालन गर्ने गरी करिडोर कनेक्टिभिटी कार्यक्रम उपयोगसिद्ध हुन सक्दछ ।

प्रकाशित मितिः   २२ भाद्र २०८२, आईतवार १७:२६