फलफूल खेती प्रवर्द्धन

फलफूल खेतीमा प्रचुर सम्भावना भएको प्रदेश हो कर्णाली । भौगोलिक र हावापानीको विविधता भएको यहाँ विभिन्न प्रजातिका फलफूलको खेती गर्न सकिन्छ । माथिल्लो कर्णालीका पाँच जिल्लामा स्याउ खेतीको अधिक सम्भावना छ । दैलेख र रूकुमपश्चिमलगायतमा सुन्तला र ओखरको सम्भावना उत्तिकै छ । यसबाहेक पनि विभिन्न फलफूलको खेती कर्णालीमा हुन्छ । व्यावसायिक उत्पादन र बजारीकरणका लागि भने स्याउ, ओखर र सुन्तलाको सम्भावना राम्रो मानिन्छ । ठूलो मात्रामा उत्पादन र बिक्री वितरण गर्न सकेको खण्डमा यसले कृषकका साथसाथै प्रदेशको अर्थतन्त्र उकास्त मद्दत पुग्ने अपेक्षा गर्न सकिन्छ । त्यसका लागि व्यावसायिक रूपमा खेती प्रवद्र्धन आवश्यक देखिएको छ ।

त्यसो त कर्णाली प्रदेश सरकारले यिनै फलफूल खेती प्रवर्द्धन गर्न बगैँचा सुदृढीकरण कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । कर्णाली प्रदेशमा प्रचुर सम्भावना भएको फलफूल खेतीलाई व्यावसायिक रूपमा विस्तार र प्रवद्र्धन गरेर आर्थिक लाभ उठाउने योजना प्रदेश सरकारले बनाएको हो । कार्यक्रम कार्यान्वयनका लागि चालु आर्थिक वर्षमा पर्याप्त बजेट विनियोजन गरिएको छ । फलफूल बगैँचा सुदृढीकरण कार्यक्रमका लागि मात्रै यो वर्ष १४ करोड बजेट विनियोजन गरिएको छ । बगैँचा सुदृढीकरण गर्दै स्याउ, ओखर र सुन्तला खेतीलाई विशेष कार्यक्रमको रूपमा राखिएको छ । स्याउ, ओखर र सुन्तलाको पकेट क्षेत्रमा कार्यक्रम कार्यान्वयन हुनेछ । फलफूलको पकेट क्षेत्रहरूमा बगैँचा सुदृढिकरण कार्यक्रम कार्यान्वयनमा गर्न लागिएको हो । बगैँचा सुदृढीकरणका लागि गोठे मल, कम्पोष्ट मल, निलो तुथो, चुना, करौती, विषादी, यूरियालगायतका सामग्री किसानलाई उपलब्ध गराइनेछ । बगैँचा सुदृढीकरण नहुँदा अहिले भइरहेको फलफूल खेतीबाट कृषकले समेत पर्याप्त आर्थिक लाभ उठाउन सकेका छैनन् । दाना सानो लाग्ने, बुटा छिट्टै सुक्ने, उत्पादन कमी हुने जस्ता समस्या आउने गरेको कृषकहरूको गुनासो छ । त्यसैले बगैँचा सुधारलाई सरकारले प्राथमिकता दिएको देखिन्छ ।

यसअघिदेखि नै माथिल्लो कर्णालीका पाँच जिल्लामा स्याउ–ओखर विकास आयोजना सञ्चालन भइरहेको छ । गत आर्थिक वर्षदेखि दैलेख र रूकुमपश्चिमलाई पनि ओखर उत्पादनका लागि क्षेत्र विस्तार गरेर कार्यक्रम कार्यान्वयन गरिएको छ । पछिल्ला वर्षहरूमा किसानहरू अन्नबालीभन्दा फलफूल खेतीतर्फ आकर्षित भएका छन् । बाँझो जमिनलाई उपयोग, कृषकले उत्पादन गर्ने फलफूल खेतीलाई व्यावसायीकरण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको हो । यो कार्यक्रमबाट कृषकले प्रत्यक्ष लाभ लिइरहेका छन् । आवश्यक प्राविधिकको व्यवस्था गरेर प्रदेश सरकारले कार्यक्रम कार्यान्वयन गरिरहेको छ । प्रदेशमा विगतको तुलनामा हाल फलफूल खेतीको क्षेत्र बढेको छ । फलफूलका लागि विभिन्न सरकारी अनुदानका कार्यक्रम पनि राखिएको छ । यसले पनि किसानहरूको आकर्षण देखिएको छ ।

प्रकाशित मितिः   २३ भाद्र २०८२, सोमबार ०५:०३