फलफूल खेतीलाई प्रवर्द्धनः बगैँचा सुदृढीकरण कार्यक्रम कार्यान्वयनमा

सुर्खेत: फलफूल खेती प्रवद्र्धन गर्न बगैँचा सुदृढीकरण कार्यक्रम कार्यान्वयन गरिने भएको छ । कर्णाली प्रदेशमा प्रचुर सम्भावना भएको फलफूल खेतीलाई व्यावसायिक रूपमा विस्तार र प्रवद्र्धन गरेर आर्थिक लाभ उठाउने योजना प्रदेश सरकारले बनाएको हो ।
कार्यक्रम कार्यान्वयनका लागि चालु आर्थिक वर्षमा पर्याप्त बजेट विनियोजन गरिएको छ । फलफूल बगैँचा सुदृढीकरण कार्यक्रमका लागि मात्रै यो वर्ष १४ करोड बजेट विनियोजन गरिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका निमित्त सचिव परशुराम रावतले जानकारी दिए । यो कार्यक्रमअन्तर्गत स्याउ, ओखर र सुन्तलालाई विशेष प्राथमिकतामा राखिएको छ ।
बगैँचा सुदृढीकरण गर्दै स्याउ, ओखर र सुन्तला खेतीलाई विशेष कार्यक्रमको रूपमा राखिएको मन्त्रालयले जनाएको छ । स्याउ, ओखर र सुन्तलाको पकेट क्षेत्रमा कार्यक्रम कार्यान्वयन हुनेछ । फलफूलको पकेट क्षेत्रहरूमा बगैँचा सुदृढिकरण कार्यक्रम कार्यान्वयनमा गर्न लागिएको सचिव रावतले जानकारी दिएका छन् । बगैँचा सुदृढीकरणका लागि गोठे मल, कम्पोष्ट मल, निलो तुथो, चुना, करौती, विषादी, यूरियालगायतका सामग्री किसानलाई उपलब्ध गराइनेछ ।
बगैँचा सुदृढीकरण नहुँदा अहिले भइरहेको फलफूल खेतीबाट कृषकले समेत पर्याप्त आर्थिक लाभ उठाउन सकेका छैनन् । दाना सानो लाग्ने, बुटा छिट्टै सुक्ने, उत्पादन कमी हुने जस्ता समस्या आउने गरेको कृषकहरूको गुनासो छ । त्यसैले बगैँचा सुधारलाई सरधारले प्राथमिकता दिएको देखिन्छ ।
यस्तै, कर्णाली प्रदेश सरकारले स्याउ विकास बोर्डसमेत स्थापना गर्न लागेको छ । प्रदेशका हिमाली भेगको अर्थतन्त्रको ठूलो हिस्सा ओगट्ने स्याउको व्यावसायिक विकास, प्रर्वद्धन र बजारीकरण गर्ने उद्देश्यले बोर्ड गठन गर्ने नीति लिएको हो । यो वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटेर सरकारले स्याउ विकास बोर्ड गठन गर्न लागेको छ । अहिले विभिन्न विज्ञ समूहसँग विकास बोर्ड गठनका विषयमा छलफल भइरहेको जनाइएको छ । आर्थिक आम्दानीको पहिलो स्रोतको रूपमा कर्णालीका स्याउलाई लिने गरिएको छ । विज्ञसहितको सुझावका आधारमा विकास बोर्ड गठन गर्न लागिएको प्रदेश सरकारले जनाएको छ ।
यसअघिदेखि नै माथिल्लो कर्णालीका पाँच जिल्लामा स्याउ–ओखर विकास आयोजना सञ्चालन भइरहेको छ । गत आर्थिक वर्षदेखि दैलेख र रूकुमपश्चिमलाई पनि ओखर उत्पादनका लागि क्षेत्र विस्तार गरेर कार्यक्रम कार्यान्वयन गरिएको छ । पछिल्ला वर्षहरूमा किसानहरू अन्नबालीभन्दा फलफूल खेतीतर्फ आकर्षित भएका छन् । बाँझो जमिनलाई उपयोग, कृषकले उत्पादन गर्ने फलफूल खेतीलाई व्यावसायीकरण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको हो । यो कार्यक्रमबाट कृषकले प्रत्यक्ष लाभ लिइरहेका छन् । आवश्यक प्राविधिकको व्यवस्था गरेर प्रदेश सरकारले कार्यक्रम कार्यान्वयन गरिरहेको छ ।
साविक कर्णालीका कालीकोट, जुम्ला, डोल्पा, हुम्ला, मुगु तथा दैलेख र रूकुमपश्चिममा सो कार्यक्रम कार्यान्वयन भइरहेको छ । प्रदेश सरकारले विशेष योजनाका रूपमा फलफूल खेती व्यवसाय प्रवद्र्धनका कार्यक्रम ल्याएको हो । अघिल्ला वर्षहरूमा अनुमानका आधारमा कार्यक्रम कार्यान्वयन गर्दा लक्ष्य अनुरूपको प्रतिफल आउन सकेको थिएन ।
कर्णालीमा फलफूल खेतीको प्रचुर सम्भावना रहेको मानिन्छ । तर व्यावसायिक फलफूल खेती भने न्यून छ । त्यसैले प्रदेश सरकारले स्याउ, ओखर, सुन्तलालगायतका फलफूललाई व्यावसायिकरण गर्न खोजिरहेको जनाएको छ । कर्णालीका हिमाली जिल्लाहरूमा स्याउ तथा पहाडी भेगमा सुन्तला खेती रुचाएको पाइएको छ । प्रदेशमा विगतको तुलनामा हाल फलफूल खेतीको क्षेत्र बढेको छ । फलफूलका लागि विभिन्न सरकारी अनुदानका कार्यक्रम पनि राखिएको छ । यसले पनि किसानहरूको आकर्षण देखिएको छ । क्षेत्र विस्तार गरेर फलफूल खेती प्रवद्र्धन कार्यक्रम कार्यान्वयन गर्न लागिएको हो । अनुदानका कार्यक्रममा जोडेर व्यवसाय प्रभावकारी हुने भएपछि विशेष योजनाका रूपमा कार्यक्रम कार्यान्वयन गर्न लागिएको हो ।
प्रकाशित मितिः २२ भाद्र २०८२, आईतवार १२:३३
रजनी याेगी ।