अघि बढ्यो आयोजना

वीरेन्द्रनगर उपत्यकामा खानेपानीको अभाव छ । बढ्दो जनसंख्या र मागअनुसारको पानी आपूर्ति हुन सकिरहेको छैन । गर्मीयाममा त खानेपानीकै हाहाकार हुन्छ । यही समस्या समाधानका लागि दिर्घकालीन विकल्प्का रूपमा भेरी नदीको पानी पम्पिङ गरेर वीरेन्द्रनगर उपत्यकामा ल्याउने परियोजना सञ्चालन हुँदैछ । यो आयोजनाअन्तर्गत पाइप लाइन विस्तारको काम धमाधम भइरहेको छ । वीरेन्द्रनगर उपत्यकाभित्र ३५ किलोमिटर पाइपलाइन विस्तार गर्न लागिएको हो । पाइपलाइन विस्तारसँगै अन्य कामहरूले पनि गति लिने देखिन्छ । यसले आयोजना निर्माणमा आशाको सञ्चार गराएको छ ।

अहिले सात किलोमिटर पाइपलाइन विस्तारको काम सकिएको खानेपानी क्षेत्र पूर्वाधार सहयोग आयोजनाले जनाएको छ । पहिलो प्याकेजको कामअन्तर्गत वीरेन्द्रनगरको वडा नं. ११ को चनौटे क्षेत्रमा पाइपलाइन विस्तारको काम सकिएको छ । बुधवारदेखि वडा नं. १ को धारापानीमा पाइपलाइन विस्तारको काम सुरु गरिएको छ । वडा नं. ७ मा सुरु भइसकेको काम जग्गा विवादका कारण रोकिएको छ भने वडा नं. १० को घुस्रामा पाइपलाइन विस्तारको काम धमाधम भइरहेको छ । चालु आर्थिक वर्षमा सबै स्थानमा पाइपलाइन विस्तार गरिसक्ने गरी काम थालिएको हो । पहिलो चरणमा पाइपलाइन विस्तारसँगसँगै आयोजना प्रभावित क्षेत्रमा रुख कटानको काम पनि अघि बढाइने छ । रुख कटानका लागि डिभिजन वन कार्यालय सुर्खेतसँग समन्वय भइरहेको छ । आयोजना निर्माणका लागि एक हजार चार सय रुख कटान गरिनेछ । वीरेन्द्रनगर नगरपालिका वडा नं. ११ र लेकवेशी नगरपालिका वडा नं. १० को सामुदायिक वन आयोजना क्षेत्रमा पर्दछन् । उक्त स्थानमा रुख कटानका लागि पहल भइरहेको प्रमुख शाहले जनाए । अबको एक हप्तामा रुख कटानको काम अघि बढाउने गरी पहल भइरहेको आयोजनाले जनाएको छ । रुख कटान गरेसँगै आयोजना निर्माणका अन्य काम पनि अघि बढ्नेछन् । आउँदो दसैँभन्दा अघि नै रुख कटानको काम सकेर आयोजना निर्माणका अन्य काम अघि बढाउने तयारी गरिएको छ ।

आयोजनाअन्तर्गत वीरेन्द्रनगर नगरपालिका वडा नं. ११ अमृतडाँडामा तीनवटा पानी प्रशोधन केन्द्र निर्माण गरिनेछ । त्यहाँ ९० लाख लिटरको पानी प्रशोधन केन्द्र निर्माण गरिने भएको हो । भेरीको पानी सिधै अमृत डाँडामा खसालिनेछ । तिहारसम्ममा इन्टेक निर्माणको गरिनेछ । यद्यपि, केही काम अघि बढेपनि आयोजना निर्माणको कामले अपेक्षित गति लिन भने सकेको छैन । निर्माण प्रक्रिया थालिएदेखि हालसम्म १२ प्रतिशत भौतिक प्रगति हासिल भएको छ । पाइपलाइन विस्तारको काम भइरहेको छ भने रुख कटानको काम केही दिनमा सुरु गरिनेछ । बाँकी कामलाई पनि धमाधम अघि बढाएर निर्धारित समयमै आयोजना सम्पन्न गर्नेतर्फ ध्यान दिन जरुरी देखिन्छ ।

प्रकाशित मितिः   २० भाद्र २०८२, शुक्रबार १०:००