निर्यातजन्य उत्पादन
कर्णालीमा कृषि उत्पादनको प्रचुर सम्भावना छ । यहाँ उत्पादन हुने वस्तुहरू विदेशमा निर्यात समेत हुने गरेका छन् । पछिल्ला वर्षहरूमा विशेष गरेर कर्णालीको अदुवा र बेसारले विदेशी बजार तताएको छ । यहाँ उत्पादित अदुवा र बेसार युरोपसम्म पुग्ने गरेको हो । आर्थिक वर्ष २०८१÷०८२ मा कर्णालीबाट तीन सय ६५ मेट्रिक टन सुकाइएको अदुवा र बेसार युरोपेली मुलुकमा निर्यात भयो । बर्सेनि ठूलो मात्रामा अदुवा र बेसार विदेश जाने गरेको छ । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार उच्च गुणस्तरीय अदुवा र बेसारलाई सुकाएर अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रमाणीकरण गरी जर्मनी निर्यात गर्न थालिएको छ ।
कर्णालीमा विशेष गरेर तीन जिल्लाबाट उत्पादित अदुवा–बेसार जर्मनी निर्यात गर्ने गरिएको हो । सल्यान, रुकुमपश्चिम र सुर्खेतको पूर्वी क्षेत्रमा उत्पादित अदुवा, बेसार सुर्खेतको छिन्चुमा रहेको ‘द अर्गानिक भ्याली’ले संकलन गरेर जर्मनीलगायत देशमा निर्यात हुँदै आएको छ । संकलन गरिएको अदुवा र बेसारलाई कम्पनीले प्रमाणीकरण र प्रशोधन गरी जर्मनी लगायतका देशहरूमा निर्यात गर्दछ । जसबाट तीन जिल्लाका दुई हजारभन्दा बढी कृषक प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् । उक्त कम्पनीले अदुवा र बेसारबाहेक मकैको पिठो, दाल, सिमी, घिउ र सिस्नुको धुलोजस्ता अन्य अर्गानिक उत्पादन पनि प्रमाणीकरण गरी विदेश निर्यात गर्ने गर्दछ । अर्गानिक प्रमाणीकरणमा आवद्ध भएपछि कृषि उपजले उचित मूल्य पाउन थालेको छ, जसले किसानको आयआर्जन बढाउनुका साथै जीवनस्तर उकास्न महङ्खवपूर्ण भूमिका खेलेको छ ।
अदुवा र बेसार खेतितर्फ कृषकहरूको आकर्षण पनि बढेको छ । यद्यपि साना किसानहरूले भने सहजै बजार पाउन नसकेको गुनासो गरिरहेका छन् । बजारको सहज पहुँच नहुँदा कतिपय कृषकहरूको उत्पादन खेर जाने गरेको छ छ । यसले उनीहरू निराश र हतोत्साही हुने गरेका छन् । त्यसैले निजी क्षेत्रका साथसाथै सरकारले पनि साना कृषकहरू लक्षित योजना र कार्यक्रम बनाएर कार्यान्वयन गर्नुपर्ने देखिन्छ । जसले गर्दा वास्तविक कृषकले लाभ लिन सक्दछन् । प्रदेश सरकारले पकेट क्षेत्र निर्माण गरेर उत्पादन र बिक्रि वितरणलाई सहज बनाउनुपर्ने देखिन्छ । कर्णाली प्रदेश सरकारले बाँझो जमिनलाई उपयोग गरेर अदुवा र बेसार खेति विस्तार गर्ने योजना पनि बनाएको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटेर योजना निर्माण गरेको हो । यसमा सानो लगानीका कृषकहरूलाई समेत समेट्न सकियो भने अदुवा र बेसार उत्पादनमा वृद्धि हुनुका साथै कृषकहरूको आर्थिक अवस्था सुधारमा समेत योगदान पुग्नेछ ।
प्रकाशित मितिः १९ भाद्र २०८२, बिहीबार ०५:०३
सम्पादकीय ।