कर्णालीको बेसार युरोपसम्म निर्यात
सुर्खेत: कर्णालीमा उत्पादित वस्तु विदेशमा पनि निर्यात हुने गरेको छ । विशेष गरेर अदुवा र बेसारले अहिले विदेशी बजार तताएको छ । आर्थिक वर्ष २०८१/०८२ मा कर्णालीबाट तीन सय ६५ मेट्रिक टन सुकाइएको अदुवा र बेसार युरोपेली मुलुकमा निर्यात भयो । बर्सेनि ठूलो मात्रामा अदुवा र बेसार विदेश जाने गरेको हो । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार उच्च गुणस्तरीय अदुवा र बेसारलाई सुकाएर अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रमाणीकरण गरी जर्मनी निर्यात गर्न थालिएको छ । तीन जिल्लाबाट उत्पादित अदुवा बेसार जर्मनी निर्यात गर्ने गरिएको हो ।
सल्यान, रूकुमपश्चिम र सुर्खेतको पूर्वी क्षेत्रमा उत्पादित अदुवा, बेसार सुर्खेतको छिञ्चुमा रहेको ‘द अर्गानिक भ्याली’ ले संकलन गरेर जर्मनीलगायत देशमा निर्यात हुँदै आएको मन्त्रालयका महाशाखा प्रमुख बखत खड्काले बताए । उनका अनुसार धेरै मात्रामा अदुवा र बेसार विदेश पठाउने गरिएको हो । खड्काका अनुसार कम्पनीले मकैको पीठो, दाल, सिमी, घिउ र सिस्नुको धुलोजस्ता अन्य अर्गानिक उत्पादन पनि प्रमाणीकरण गरी विदेश निर्यात गरिरहेको छ ।
पछिल्लो समय कर्णालीबाट अर्गानिक अदुवा र बेसार तेस्रो मुलुक (जर्मनी) निर्यात हुने गरेको खड्काको भनाइ छ । ‘सुर्खेतको छिन्चुमा रहेको द अर्गानिक भ्याली नामक कम्पनीले अदुवा र बेसार संकलन गर्दछ,’ खड्काले भने, ‘संकलन गरिएको अदुवा र बेसारलाई कम्पनीले प्रमाणीकरण र प्रशोधन गरी जर्मनीलगायतका देशहरूमा निर्यात गर्दछ ।’ उनका अनुसार तीन जिल्लाका दुई हजारभन्दा बढी कृषक प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् । उक्त कम्पनीले अदुवा र बेसारबाहेक मकैको पिठो, दाल, सिमी, घिउ र सिस्नुको धुलोजस्ता अन्य अर्गानिक उत्पादन पनि प्रमाणीकरण गरी विदेश निर्यात गर्ने गर्दछ । अर्गानिक प्रमाणीकरणमा आवद्ध भएपछि कृषि उपजले उचित मूल्य पाउन थालेको छ, जसले किसानको आयआर्जन बढाउनुका साथै जीवनस्तर उकास्न महŒवपूर्ण भूमिका खेलेको मन्त्रालयको भनाइ छ ।
अदुवा र बेसार खेती निकै सहज हुनेगरेको कृषकहरूको भनाइ छ । तर अझै पनि बजार नपाएको गुनासो पनि आउने गरेको छ । नियमित गोडमेल गर्न नपर्ने र लगानी पनि कम लाग्ने भएकाले खेती गर्न सहज हुनेगरेको पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाका कृषक हरि थापाले बताए । उनको अनुसार अहिले पनि सहज बजारको पहुँच भने हुनसकेको छैन । जसले गर्दा अदुवा बेसार बारीमै सडेर जाने गरेको छ । यता अदुवा र बेसार विदेशमा निर्यात भइरहे पनि भौगोलिक विकटता र कृषकको पहुँच नहुँदा किसान भने सहज रूपमा बजारसम्म पुग्न सकेका छैनन् । जसले गर्दा वास्तविक कृषकले लाभ लिन सकेका छैनन् । प्रदेश सरकारले पकेट क्षेत्र निर्माण गरेर उत्पादन र बिक्री वितरणलाई सहज बनाउनुपर्ने देखिन्छ । कर्णाली प्रदेश सरकारले बाँझो जमिनलाई उपयोग गरेर अदुवा र बेसार खेती विस्तार गर्ने योजना निर्माण गरेको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटेर योजना निर्माण गरेको हो ।
आर्थिक रूपमा किसानलाई सवल बनाउन मन्त्रालयले विभिन्न अनुदान कार्यक्रम सञ्चालन गरेको छ । गत वर्ष ६ वटा बैंकमार्फत पाँच सय ३५ जना कृषि व्यवसायीलाई ब्याज अनुदान उपलब्ध गराएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शाहका अनुसार प्राकृतिक प्रकोपबाट प्रभावित किसानलाई पनि राहत वितरण गरिएको छ । असिना र हावाहुरीबाट करिब तीन सय हेक्टर बालीमा भएको क्षतिको क्षतिपूर्ति स्वरूप १६ हजार ६ सय २४ जना कृषकलाई ८९ लाख रूपैयाँ राहत प्रदान गरिएको छ ।
खाद्य सुरक्षा तथा कृषि प्रसार कार्यक्रम अन्तर्गत उन्नत जातका बिउ वितरण गरिएको छ, जसमा २१ क्विन्टल धान, २२ क्विन्टल मकै, १५० क्विन्टल गहुँ र ६ क्विन्टल तरकारीको उन्नत बिउ समावेश छ । यसका साथै, उक्त वर्ष २१ दशमलव २९ मेट्रिक टन मूलस्तरको तरकारीको बिउ प्रमाणीकरण गरिएको छ, जसले बिउमा आत्मनिर्भरता बढाउन मद्दत पुग्नेछ । नेपाली वस्तुले विदेशमा चर्चापाएसँगै सरकारले बाँझो जग्गा उपयोगको नीतिलाई थप प्रभावकारी बनाउने भएको छ । सरकारले सुरुका आर्थिक वर्षबाट नै विभिन्न अनुदानका कार्यक्रम कार्यान्वयन गरिरहेको छ ।
प्रकाशित मितिः १८ भाद्र २०८२, बुधबार ११:००

रजनी याेगी ।