२३ वर्षपछि अन्तर्राष्ट्रिय उपाधि

साझा बिसौनी संवाददाता
काठमाडौं, ८ माघ । 
सबै खाले अविश्वास, शंका र निराशाबीच नेपाली राष्ट्रिय फुटबल टिमले शुक्रवार बंगलादेशमा भइरहेको बंगबन्धु गोल्डकप जितेको छ । नेपाली फुटबलका लागि ऐतिहासिक सावित दिन ढाकाको बंगबन्धु रंगशालामा बहराइनको यू–२३ माथि ३–० को जीत हात परेको हो ।
नेपालका लागि बिमल घर्तीमगरले चौथो मिनेटमा गोल गरे । खेलको ८७ औं मिनेटमा विशाल राईले दोस्रो गोल थपे । अञ्जन केसीको उत्कृष्ट पासमा विशालले गोल गरेका हुन् । खेलको इन्ज्युरी समयमा बिमलको क्रसमा नवयुग श्रेष्ठले हेडबाट गोल गरे र नेपालको जीत निश्चित पारे । नेपालले आफ्नो फुटबल इतिहासमा उपाधि जितेको यो तेस्रो पल्ट हो ।
यो २३ वर्षयता नेपालले जितेको पहिलो उपाधि हो । नेपालले दक्षिण एसियाली देशबाहेक अरु टिम पनि सम्मिलित प्रतियोगिता जितेको यो पहिलो पल्ट हो । नेपाल सन् १९९९ को दक्षिण एसियाली खेलकुदको फुटबल फाइनलपछि कुनै पनि औपचारिक प्रतियोगिताको उपाधि भिडन्तमा प्रवेश गरेको यो पहिलो पल्ट हो । नेपालले उपाधिसँगै ५० हजार डलरको पुरस्कार राशी पनि जित्न सफल रह्यो । यसअघि नै राष्ट्रिय खेलकुद परिषद्ले पनि विजेता नेपाली टिमका प्रत्येक सदस्यलाई दुई लाख रूपैयाँ प्रदान गर्ने घोषणा गरिसकेको छ । बहराइनले भने उप–विजेताका रूपमा २५ हजार डलरमा चित्त बुझायो ।
पूरा प्रतियोगितामा नेपाल अपराजित पनि रह्यो । लिग चरणमा नेपालले फेल्डा र बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो भने श्रीलंकालाई १–० ले हराएको थियो । यस्तै सेमिफाइनलमा नेपालले माल्दिभ्सको चुनौतीलाई अविश्वसनीय रूपमा ४–१ ले पन्छाएको थियो । तीव्र गतिमा खेलिएको फाइनलमा बहराइन शारीरिक रूपमा अत्याधिक आक्रामक देखिएको थियो र नेपाली खेलाडी चोटबाट गुज्रिन पनि बाध्य रहे । खेलको अन्त्यमा बहराइन नौ खेलाडीमा र नेपाल १० खेलाडीमा सीमित रहेको थियो । नेपालका लागि गोलरक्षक विकेश कुथुले फेरि एकपल्ट उत्कृष्ट बचाउहरू गरे । नेपाली डिफेन्सको प्रदर्शन पनि सुदृढ रह्यो ।
प्रकाशित मितिः   ९ माघ २०७२, शनिबार ११:१०