‘अपराध नलुकाऔं’

साझा बिसौनी संवाददाता
सुर्खेत, ८ माघ । 
बालविवाहका कारण महिलाहरूले विभिन्न हिंसाहरू सहनु परेको भन्दै सरोकारवालाहरूले बालविवाह अन्त्य गर्नुपर्ने बताएका छन् । बालविवाह र लैंगिक हिंसा न्यूनीकरण सम्बन्धी सचेतना अभियान अन्तर्गत शुक्रवार सालकोटमा सम्पन्न कार्यक्रमका सहभागीहरूले यस्तो बताएका हुन् । 
उनीहरूले समुदायमा हुने अपराधलाई लुकाएकै कारण पीडितहरूले न्याय पाउन नसकेको बताए । साथै अपराधीलाई कानुनी कारवाही गर्न र पीडितलाई न्याय दिलाउनका लागि घरभित्र र बाहिर हुने सबैखाले हिंसाका घटनालाई सार्वजनिक गर्नुपर्नेमा उनीहरूले जोड दिएका छन् । लैंगिक हिंसा नियन्त्रण जिल्ला सञ्जालको आयोजनामा भएको उक्त कार्यक्रममा स्थानीय बालबालिका र महिलाहरूले पीडकलाई सजाय नभएकै कारण समस्या भएको गुनासो गरेका थिए । 
स्थानीय बासिन्दाले राजनीतिक पहुँच र समुदायको मिलेमतोमा नै घरेलु हिंसा सम्बन्धी घटनालाई बाहिर ल्याउन नसकिएको बताए । साथै उनीहरूले आर्थिक प्रलोभनमा समेत कतिपय अपराधका घटनाहरू गाउँमै मिलाउने गरिएको गुनासो पोखे । सो अवसरमा मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतका प्रमुख डीआईजी केशव अधिकारीले समुदायमा हुने घटनालाई बाहिर ल्याउन आग्रह गरे । साथै उनले महिला तथा बालबालिकामाथि हुने घरेलु हिंसा नियन्त्रणका लागि प्रहरी लागिरहेको भन्दै घटनाको बारेमा सूचना दिन स्थानीय बासिन्दासँग आग्रह गरे । 
गाविस सचिव तिलकराम अधिकारीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा कानुनी सहायता केन्द्रका संयोजक अधिवक्ता कृष्णबहादुर हमालले बालविवाह, बहुविवाह र घरेलु हिंसाका घटनालाई कुनै पनि हालतमा बाहिर ल्याउन आग्रह गरे । अपराधलाई गाउँमै मिलाउने परम्परा तोड्नु पर्ने भन्दै उनले पीडितलाई न्याय दिलाउन पीडकलाई कानुनी कारबाही हुनुपर्ने बताए । कार्यक्रममा अन्तरपार्टी महिला सञ्जालका अध्यक्ष मोहनमाया ढकाल र आवाज संस्थाका अध्यक्ष ईरादा गौतमले घरेलु हिंसा नियन्त्रणका लागि बालविवाहलाई रोक्नुपर्ने बताए । बालविवाह नै महिला हिंसाको मुख्य जड भएको भन्दै उनीहरूले यसको न्यूनीकरणका लागि साझा प्रयास आवश्यक रहेको बताए । कार्यक्रममा महिला बालबालिका कार्यालयका प्रेमप्रकाश आचार्य, राप्रपाका जिल्ला अध्यक्ष कविराम पुरी लगायतले महिला हिंसा न्यूनीकरणका लागि सचेतना आवश्यक रहेकोमा जोड दिए ।
प्रकाशित मितिः   ९ माघ २०७२, शनिबार ११:१२