दुर्घटना रोक्न नयाँ रणनीति, जनचेतना टोली परिचालन
सझा बिसौनी संवाददाता
सुर्खेत, ८ माघ ।
ट्राफिक नियमको पालना गराइ सवारी दुर्घटना न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले नयाँ रणनीति अपनाएको छ । नागरिकमा ट्राफिक ज्ञानको कमीका कारण दुर्घटना बढेको भन्दै कार्यालयले यस्तो रणनीति ल्याएको हो । अधिकांश नागरिकहरूमा ट्राफिक नियम सम्बन्धी जनचेतनाको कमी भएको पाइएपछि ट्राफिक जनचेतना टोली गठन गरी परिचालन गरिएको छ । कार्यालयले शुक्रवारदेखि उक्त टोली परिचालन गरेको हो ।
कार्यालयले तीन सदस्यीय ट्राफिक जनचेतना टोली गठन गरेको छ । उक्त टोलीले सर्वसाधारणदेखि चालकहरूलाई ट्राफिक नियमका बारेमा शिक्षा प्रदान गर्नेछ । जनचेतनाको कमीका कारण ट्राफिक नियम उल्लङ्घन गर्ने गरेको पाइएपछि जनस्तरमा ट्राफिक जनचेतना बढाउनका लागि टोली गठन गरिएको कार्यालयका प्रमुख प्रहरी निरीक्षक हर्कबहादुर रावलले जानकारी दिए । उनका अनुसार उक्त टोलीले कारबाही नगरी शिक्षा प्रदानमा ध्यान दिनेछ । ‘सबैभन्दा पहिला आम नागरिकलाई ट्राफिक नियमका बारेमा जानकारी दिन आवश्यक छ’ रावलले भने, ‘पहिला शिक्षा प्रदान गर्छौं, त्यति गर्दा पनि अटेर गर्नेलाई कानुन बमोजिम कारबाही गर्नेछौं ।’ टोलीले सकेसम्म कारबाही नगर्ने र जनचेतना अभिवृद्धिमा ध्यान दिने उनले बताए । यद्यपि ठूला घटनाहरूमा भने टोलीले नै कारबाही गर्न सक्नेछ ।
‘ट्राफिक भनेपछि नागरिकहरू डराउने गर्छन्’ उनले भने, ‘सबै नागरिकहरूको मनबाट ट्राफिकको भयलाई हटाउन र काम कारबाहीका बारेमा जानकारी दिन समिति गठन गरिएको हो ।’ टोलीले सुर्खेतमा हुने सवारी दुर्घटना नियन्त्रण गर्न र चालक, सहचालकलाई सवारी नियम, दुर्घटना न्यूनीकरणका उपाय, परिस्थितिलाई सहज रूपमा बुझ्नको लागि प्रशिक्षण, पैदल यात्रीहरूलाई बाटो काट्ने तरिकाका बारेमा जानकारी गराउने भएको छ । यसैगरी बजार क्षेत्रको फुटपाथ व्यवस्थापनदेखि सार्वजनिक यातायातमा गस्ती गर्ने लगायतका कार्य टोलीले गर्नेछ । रावलका अनुसार टोलीले कुनै पनि चालक र परिचालकलाई सम्झाइ बुझाइ गर्ने तर कुनै प्रकारको विभागीय कारबाही भने गर्नेछैन ।
यसैबीच पछिल्लो सात महिनामा सुर्खेतमा २३ वटा सवारी दुर्घटना भएको छ । दुर्घटनाबाट नौ जनाको मृत्यु भएको छ भने २१ जना गम्भीर घाइते भएको र नौ जना सामान्य घाइते भएका छन् । यस्तैगरी जिल्ला ट्राफिक कार्यालय सुर्खेतले सात महिनाको अवधिमा सवारी नियम उल्लङ्घन गर्ने विभिन्न सात हजार ८७ सवारी साधनलाई कारबाही गरेको जानकारी दिएको छ । कारबाहीमा परेका सवारी साधनबाट तीनलाख ९२ हजार तीनसय रूपैयाँ राजस्व सङ्कलन गरेको छ । रावलले आफू सुर्खेतमा आएदेखि एक हजार ६ सय ५९ वटा सवारी साधनमाथी कारबाही गरेको जानकारी दिए । पछिल्लो समय सुर्खेतमा सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिकले कडाइ गरेको छ ।
यसैगरी मादक पदार्थ सेवन गरी सवारी चलाउने र लाइसेन्स नभएका चालकहरूका लागि पुसको अन्तिम साताबाट विशेष कक्षा समेत सञ्चालन गरेको रावलले उल्लेख गरे । मापसे गर्ने र लाइसेन्स नभएका ६० जनालाई कारबाही गरी विशेष कक्षामा ट्राफिक नियम सम्बन्धी जानकारी दिएको ट्राफिक कार्यालयले जनाएको छ ।
बस दुर्घटनामा एक दर्जन घाइते
शुक्रवार वीरेन्द्रनगरमा बस दुर्घटना हुँदा एक दर्जनभन्दा बढी घाइते भएका छन् । लादेबाट वीरेन्द्रनगरतर्फ आउँदै गरेको मध्यपश्चिम यातायातको ना ४ ख ७८०० नम्बरको बस शुक्रवार साँझ करिब पौने ६ बजे वीरेन्द्रनगर–७ बुढीपिपलमा दुर्घटना भएको हो । दुर्घटनामा परी १५ जना घाइते भएका हुन् । उक्त बस स्थानीयहरूले हिउँ हेर्नका रिजर्भ गरी लगेका थिए । हिउँ हेरेर फर्कने क्रममा बस दुर्घटनामा परेको हो । २४ जना यात्रु सवार बसका १५ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । उनीहरूको वीरेन्द्रनगरस्थित नर्सिङ्ग होममा उपचार भइरहेको छ । यद्यपि घाइतेहरूको अवस्था सामान्य रहेको जनाइएको
छ । बस सडकबाट १५ मिटर तल खसेको छ । दुर्घटनापछि बसका चालक र सहचालक दुवै फरार रहेका छन् ।
साझा बिसौनी संवाददाता ।