स्याउमा जोडिएको समृद्धि

मुलुकको कूल ग्राहस्थ उत्पादन(जीडीपी)मा कर्णाली प्रदेशको योगदान कमजोर छ । कर्णालीमा आर्थिक क्रियाकलाप नै कम हुन्छन् । ठूला उद्योग र कलकारखाना छैनन् । उत्पादन क्षमताको भरपुर उपयोग हुन पनि सकेको छैन । रोजगारीका अवसर कम छन् । श्रमशक्ति विदेशिनुपर्ने बाध्यता छ । उत्पादनको क्षेत्रमा सबैभन्दा बढी योगदान पु¥याइरहेको कृषि उपेक्षित छ । प्रचुर सम्भावनाको सदुपयोग गर्न नसक्दा आर्थिक रूपमा कमजोर र परनिर्भर हुनु कर्णालीको विडम्बना हो । यही विडम्बनापूर्ण अवस्थाकैबीच पछिल्लो समय कर्णालीमा उत्पादन हुने स्याउले आशाको सञ्चार गराएको छ । माथिल्लो कर्णालीका जिल्लाहरूमा स्याउ खेति व्यावसायिक बन्दैछ । कृषकहरू स्याउ खेतिमा आकर्षित हुन थालेका छन् । उत्पादन बढ्दै जाँदा यहाँको स्याउले राम्रो बजार पनि पाइरहेको छ ।

धेरै स्याउ उत्पादन हुने जिल्लाहरूमध्ये जुम्ला पनि एक हो । मार्सी धान उत्पादनले परिचित जुम्ला पछिल्ला वर्षहरूमा स्याउले समेत चिनिन थालेको छ । स्याउ जुम्लाको परिचय बनिसकेको छ । नेपाली बजारमा जुम्लाको स्याउले छुट्टै पहिचान बनाएको छ । यहाँको स्याउ विषादीरहित अर्गानिक हुने भएकोले सबैको रोजाइ बनिरहेको बुझ्न सकिन्छ । स्याउको माग नेपालका ठूला शहर काठमाडौं, पोखरा, सुर्खेत, नेपालगञ्ज, विराटनगरमा समेत हुने गरेको छ । बजार बढ्दै गएपछि स्याउ खेती गर्ने कृषक पनि बढेका छन् । स्याउ रोपेका हरेक घरले सिजनमा लाखौं आम्दानी गर्ने गरेका छन् । त्यसैले जुम्लामा स्याउ मात्रै होइन, कर्णालीको भविष्य पनि फलिरहेको भन्ने गरिएको छ । जुम्ला कर्णाली राजमार्गमा जोडिएपछि अभूतपूर्व रूपमा स्याउ खेती फस्टाएको छ । कृषि विकास कार्यालय जुम्लाका अनुसार जिल्लाभर चार हजार चार सय हेक्टर क्षेत्रफलमा स्याउ खेती भइरहेको छ । जसमध्ये दुई हजार हेक्टरको स्याउ उत्पादनशील छ । गत वर्ष जुम्लाबाट १८ हजार आठ सय मेट्रिक टन उत्पादन भएको थियो, त्यसबाट जिल्लामा ६१ करोड रूपैंया भित्रिएको थियो । यसले के देखाउँछ भने जुम्लाको स्थानीय अर्थतन्त्रमा स्याउको हिस्सा र योगदान पनि ठूलो छ ।

त्यसो त जुम्लाको स्याउले स्थानीय अर्थतन्त्र र कृषकहरूको जीवनस्तर मात्रै उकासेको छैन, कर्णाली प्रदेशकै आर्थिक समृद्धिको सम्भावना पनि देखाएको छ । स्याउ खेतिलाई प्रोत्साहन गर्दै यसको बजारीकरणलाई अझ व्यवस्थित गर्न सकेको खण्डमा कर्णाली प्रदेशको कमजोर अर्थतन्त्रलाई बलियो बनाउन र मुलुककै ग्राहस्थ उत्पादनमा यहाँको स्याउको योगदान पनि ठूलो रहनेछ । प्रदेशलाई नै समृद्ध बनाउन सक्ने सम्भावना बोकेको स्याउ खेतिको योजनाबद्ध प्रवद्र्धन गर्नु प्रदेश सरकारको पनि दायित्व हो ।

प्रकाशित मितिः   ६ भाद्र २०८२, शुक्रबार ०९:४०