लोकसेवा परीक्षामा नक्कली परीक्षार्थी

सुर्खेत: लोकसेवा आयोगको परीक्षा दिइरहेका दुई जना नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ । बिहीवार वीरेन्द्रनगर–७ स्थित लोकसेवा आयोग सुर्खेत कार्यालयमा सञ्चालित सञ्चार÷इन्जिनियर प्राविधिक प्रहरी जवान परीक्षामा नक्कली परीक्षार्थीहरू पक्राउ परेका हुन् ।

नागरिकता र प्रवेश पत्रमा फोटो बदलेर सट्टामा परीक्षा दिन आएका नक्कली परीक्षार्थीमध्ये दुई जनालाई प्रहरीले तत्काल नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ पर्नेहरूमा जाजरकोट छेडागाड न.पा. १२ बस्ने धर्मराज चनराको सट्टामा परीक्षा दिन आएका कुशे गा.पा. ७ सामाकोट बस्ने २५ वर्षीय श्याम शंकर सिंह र दैलेख भगवतीमाई गा.पा. ५ बस्ने सुशील शाहीको सट्टामा परीक्षा दिन आएका सोही गाउँपालिका वडा नं. ७ बस्ने २० वर्षीय भरत तिरुवा रहेका छन् ।

पक्राउ परेका व्यक्तिहरूमाथि लिखत तथा किर्ते कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । प्रहरी टोलीले नियन्त्रणमा लिएर प्रारम्भिक अनुसन्धान अगाडि बढाइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक मोहनजंग बुढ्थापाले जानकारी दिए ।

प्रकाशित मितिः   ६ भाद्र २०८२, शुक्रबार ०९:३९